प्रधानमन्त्रीको चीन भ्रमण मंसिर तेस्रो साता, बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर तयारी

द एभरेष्ट पोष्ट
१२ कार्तिक २०८१ १४:०१
प्रधानमन्त्रीको चीन भ्रमण मंसिर तेस्रो साता, बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा बेल्ट एन्ड रोड (बीआरआई) को फ्रेमवर्क सम्बन्धी सम्झौता हुने सम्भावना बढेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि प्राप्त करिब २६ अर्ब ऋणलाई अनुदानमा रूपान्तरण गर्न चीन सकारात्मक देखिएसँगै बीआरआई फ्रेमवर्कमा सम्झौताको सम्भावना बढेको हो।

प्रधानमन्त्री ओलीले आगामी डिसेम्बर पहिलो हप्ता चीन भ्रमण गर्नेगरी दुवै मुलुकको उच्च राजनीतिक तहमा कुराकानी भइरहेको स्रोतहरूले बताएका छन्। प्रधानमन्त्रीको चीन भ्रमण हुनसक्यो भने त्यसैक्रममा बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर हुनेछ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सम्भवतः नोभेम्बर अन्तिम हप्ता (मंसिर दोस्रो साता) चीन भ्रमणमा जानेछिन्। संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन जाने क्रममा न्युयोर्कमा चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा मन्त्री डा. राणाले अनौपचारिक निमन्त्रणा प्राप्त गरिसकेकी छन्।

मन्त्री राणाले यसै हप्ता भ्रमणको औपचारिक निमन्त्रणा आए आफू चीन भ्रमणमा जाने बताइसकेकी छन्। चीन–भारत सम्बन्धमा थप सुधारको संकेतलगत्तै परराष्ट्रमन्त्री डा. राणाबाट ‘निम्तो पाए चीन भ्रमणमा जाने’ इच्छा प्रकट भएको हो।

रुसको कजान सहरमा गत हप्ता भएको ब्रिक्स राष्ट्रहरूको शिखर सम्मेलनअघि चीन–भारतबीच सीमामा हुने गस्तीलाई सन् २०२० को गलवान भिडन्तभन्दा अघिजस्तै सामान्य अवस्थामा फर्काउने समझदारी भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस