सोचे जस्तो छैन अमेरिका

द एभरेष्ट पोष्ट
९ कार्तिक २०८१ १८:५२
सोचे जस्तो छैन अमेरिका

नविन ओझा । 

अमेरिका मायावी देश हो । अमेरिका त्यस्तो मुलुक हो, जसले विश्वका जुनसुकै देशका मान्छेलाई आफूतिर तानीरहेको हुन्छ । जहाँ जाने ईच्छा विश्वका जुनसुकै मुलुकका नागरिकले गर्छन । अमेरिका जानकै लागि मान्छेहरु मरिहत्ते गर्छन । नेपालकै पनि लाखौले वर्षेनी डिभी भर्छन । ती मध्ये मुस्किलले केही हजारलाई डिभी पर्छ । डिभी परेकाहरु पनि सबै जान पाउदैनन । अमेरिका आउन पाउनेहरुको भुईमा खुट्टा रहदैन, खुशीले । आउन नपाउनेहरु निराश हुन्छन । दुःखी हुन्छन ।

पर्ला, नपर्ला एकचोटी भरी त हेरौ भनेर साथीहरुसंगै मैले पनि डिभी भरेको थिए । जुलाई २००९ मा डिभी पर्नेमा मेरो नाम निस्कियो । म निकै खुशी भए । झण्डै वर्ष दिन लामो सबै प्रकृया पुरा भएपछि २०१० डिसेम्बर १४ मा अमेरिका जाने निश्चित भयो । एकातिर देशसंगै साथीभाई र घर छोड्नु पर्दा नमिठो पीडा थियो । अर्कोतिर विश्वकै महाशक्ति अमेरिकालाई लिएर धेरै कौतुहलता थिए ।

नेपालका तुलनामा सस्तो र छोटो यात्रा हुने भएकोले मैले अमेरिका जान दिल्लीको बाटो रोजे । तर दिल्ली अन्तर्राष्ट्रिय बिमानस्थलमा नेपालीहरुमाथि हुने दुब्र्यबहार भोग्दा सस्तोका लागि दिल्ली जानु भन्दा महंगो भएपनि आफ्नै मुलुकबाट उड्नुपर्छ भन्ने चेतना ढिलोगरी आयो, ममा ।

नेपालीहरुको भीसामाथि अनावश्यक शंका गर्ने, सक्कली होईन कि भनेर केरकार गर्ने भारतीय अध्यागमनका कर्मचारीको व्यवहार निकै आपत्तीजनक थियो । तर त्यहाँ बोल्नु वा बिबाद गर्नुको कुनै अर्थ थिएन ।

अध्यागमनको सबै चेकजाँच पार गरेपछि राति एक बजे हामी चढेको जहाज अमेरिकाका लागि उड्यो । १७ घण्टा आकाशमा बिताएपछि जहाज अमेरिका अवतरण भयो । त्यहाँ पुग्दा बिहानको ५ बजेको थियो ।

सिनेमा र तस्वीरहरुमा देखेको अमेरिकामा पाईला टेक्न पाउदा म निकै रोमाञ्चित भएको थिए । बिमानस्थलमा आफन्तहरु लिन आएका थिए । उनीहरुसित १५ दिन न्यू जर्सी राज्यमा बसे ।

त्यसपछिका तीन महिना रुमा गिरीले मलाई खाने बस्ने प्रबन्ध मिलाईन । गिरीले मलाई स्पोन्सर गरेकी थिईन । डिभी परेकालाई अमेरिकामा बस्नेहरुले स्पोन्सर गर्नुपर्छ । अनि मात्र अमेरिकी दूतावासले भीसा दिन्छ । स्पोन्सर गर्नेले डिभी परेर अमेरिका पुग्नेहरुलाई त्यतिबेला सम्म खाने बस्ने व्यबस्था गर्ने प्रतिबद्धता गरेका हुन्छन, जतिसम्म उसले जागीर पाउदैन ।

डिभी परेकाहरुलाई अमेरिकाले जागीर दिन्छ भन्ने धेरैमा भ्रम हुन्छ । जुन ममा पनि थियो । जागीर नपाएसम्म खाने बस्ने व्यबस्था अमेरिका सरकारले गर्छ भन्ने अर्को भ्रम पनि छ, डिभी पर्नेहरुमा । तर त्यस्तो केही पनि व्यबस्था राज्यले गर्दैन । जागीर आफैले खोज्नुपर्छ । र खाने वस्ने व्यवस्था पनि आफैले गर्नुपर्छ ।

माईती नेपालको जागीर छाडेर डिभी परेर अमेरिका हानिएको मैले झण्डै दुई महिना जागीरको खोजीमा बिताए । जागीर खोज्दै म न्यूयोर्क पुगे । त्यहाँ एउटा भारतीय मूलका व्यक्तिको डिपार्टमेन्टल स्टोरमा क्यासिएरको काम थाले । अमेरिकामा त्यतिबेला एक घण्टाको न्यूनतम ज्याला साढे सात डलर थियो । मैले पनि त्यति नै डलर पाउथे । दैनिक ८ घण्टा र हप्तामा ५ दिन काम गर्नुपथ्र्यो। अमेरिकामा दुई दिन बिदा हुन्छ ।

म बिदाको समय घुम्ने भन्दा पनि राम्रो जागीरको खोजीमा बिताउथे । अमेरिकामा नेपालीहरु नेपालीबाटै ठगिन्छन । नेपालीहरु म्यानपावर कम्पनी चलाएर दलाली गर्छन । राम्रो जागीर लगाई दिने भन्दै बेरोजगार नेपालीहरुबाट पनि पैसा लिन्छन र सम्बन्धित कम्पनीसंग पनि लिन्छन । एक व्यक्तिलाई रोजगारी दिलाए वापत उनीहरुले कम्पनीसंग दुई सय डलर लिन्छन ।

डिपार्टमेन्टल स्टोरमा काम शुरु गर्दा मलाई त्यसको मालिकले म्यानेजर बनाउने आश्वासन दिएका थिए । त्यहाँ काम गर्दा गर्दै वाईन कम्पनीमा जागीरका लागि अन्तर्वार्ता दिए । म छानिए । मैले डिर्पार्टमेण्टल स्टोर छोडे । वाईन कम्पनीमा काम शुरु गरे । त्यहाँ मैले काम शुरु गर्दा प्रतिघण्टाको १२ डलर थियो । पछि बढेर १४ डलर पुग्यो ।

सबैतिरको अनुभव संगालेपछि गाडी चलाउन थाले । अहिले आफ्नै काममा व्यस्त छु । मासिक आम्दानी पनि आफूले काममा दिने समयले निर्धारण गर्छ ।

अमेरिका आउने नेपालीहरु भाषाका कारण समस्यामा पर्छन । नेपालीहरुलाई शुरुवाती दिनमा अंग्रेजी बुझ्न अप्ठ्यारो हुन्छ । भाषाकै कारण जागीर खान समस्या हुन्छ । अमेरिकामा जानुभन्दा पहिले त्यहाँको भाषा सिकेर आउदा सहज हुन्छ । नत्र भने शुरुका दिनमा सास्ती खेप्नुपर्छ ।

अमेरिका धेरैको सपनाको देश हो । अमेरिका आउन नेपालीहरु मरिहत्ते गर्छन । एसएलसी पास गरेदेखि नै अमेरिका आउने ध्याउन्नमा हुन्छन, युवाहरु । तर अमेरिका सोचे जस्तो छैन । अमेरिकामा पदको होईन कामको सम्मान छ । जस्तो सुकै धनी र सम्पन्न भएपनि अमेरिकामा काम गर्नैपर्छ । मिहिनेत गर्नैपर्छ ।

नेपालमा जस्तो तास खेलेर बस्ने, क्यारेम खेलेर समय बिताउनेहरु अमेरिकामा भेटिदैन । यस्ता अनावश्यक कुरामा समय खर्चिने यहाँ कसैलाई फुर्सद हुदैन । न्यूयोर्क विश्वकै भीड हुने राजधानीहरुमा पर्छ । तर बाटोमा हिडिरहेका कसैले कसैलाई छुदैनन । यदि कसैले कसैलाई अन्जानमा छोयो भनेपनि उस्ले तत्काल माफी माग्छ । हल्ला गरेर कसैले कसैलाई डिस्टर्ब गर्दैनन । न त कसैले कसैको चियोचर्चा गर्छन । सबै आआफ्नै काममा व्यस्त हुन्छ । कतिसम्म संगै काम गर्ने एउटा साथीले अर्काको तलव सोध्दैन । उसलाई अर्काले कति पाउछ भन्ने कुरासंग मतलव हुदैन । तर एकले अर्कालाई सम्मान गर्छन ।

यी र यस्तै कारण पनि अमेरिका विश्वकै महाशक्ति बनेको रहेछ भन्ने मलाई लाग्यो । समयको कुशल व्यबस्थापन गर्न जानेका छन्, अमेरिकनहरुले । समयको व्यबस्थापन र प्रत्येक सेकेण्डको सदुपयोगले अमेरिका अमेरिका बनेको हो । काम कम र गफ बढि गर्ने बानीका कारण नेपालीहरु र नेपालको विकास नभएको हो भन्ने निष्कर्षमा पुगेको थिए, म अमेरिका बसाईको केही समयमै ।

अमेरिकामा सबै भेग, भूगोल, समुदाय र जातका मान्छे छन् । अझ विश्वका सबै देशका मान्छे छन् । अमेरिकामा ५० राज्य छन् । यहाँ कसैले जातीय राज्य मागेर झगडा गरिरहेका छैनन । न त एकल जातीय राज्यका लागि अमेरिकामा आन्दोलन गर्ने नै भेटिन्छन । जसले जति काम गर्छ, त्यति पारिश्रमिक पाउछ । जसले जति पढेको छ, त्यही अनुसारहरुको अवसरहरु पाउछ । सबैलाई अवसरहरु समान छन् । कालो भएका कारण कसैलाई बढि अधिकार छैनन न त गोरो भएकाले म ठूलो भन्ने दम्भ पाल्छ । जनजाती वा आदिवासी भएको भन्दै कसैले अग्राधिकार मागेका छैनन । अमेरिकामा मान्छे कामले ठूलो हुन्छ । मान्छेहरुका लागि सबैभन्दा महत्वपूर्ण समय हुन्छ । त्यही समयलाई पछ्याउदै अमेरिका अघि बढेको छ । समयको गति नबुझ्दा नेपाल पछि परेको छ । समयको गति बुझ्दा अमेरिका कति हो कति अघि बढेको छ ।

न्यूयोर्क विश्वकै महङ्गो शहर हो । खानपिन र बस्नका लागि न्यूयोर्क महङ्गो छ । यद्दपि अन्य राज्यभन्दा न्यूयोर्कमा सुबिधा र अवसर भने बढि छन् । त्यसैले नै होला, न्यूयोर्कमा बसेको मान्छे हतपती अन्य राज्यमा बसाई सराई गरेर जान रुचाउदैन । यद्दपि पछिल्ला केही वर्षयता भने टेक्सस बसाई सराई गरेर जानेको संख्या बढेको छ ।

शहरका तुलनामा गाँउहरुमा बसाई र खानपिन सस्तो छ । यहाँको गाँउ नेपालका शहरभन्दा पनि व्यबस्थित, विकसित र सफा सुग्घर छन् । घरमा पेण्ट गर्नुपरेपनि घरबेटीले आफ्नो मर्जीले पेण्ट गर्न पाउदैन । न त आफ्नो मर्जीले घरहरु तोडफोर्ड गर्न र पसलहरु खोल्न पाउछन । त्यसका लागि स्थानीय प्रशासनसंग अुनमती लिनुपर्छ । कलकारखाना र उद्योग धन्दाका लागि निश्चित क्षेत्र छुट्याएको हुन्छ । त्यहाँ बाहेक अन्यत्र कलकारखाना खोल्न पाईदैन ।

अमेरिका कानूनले चलेको छ । यहाँ बिधिको शासन छ । कानून नमान्ने वा कानून बिपरित काम गर्नेहरु पहुँच वा शक्तिका भरमा नेपालमा जस्तो यहाँ छुट पाउदैनन । कानूनले यहाँ कसैलाई सानो ठूलो भन्दैन । कानूनका नजरमा सबै समान छन् । अमेरिकाको यो महत्वपूर्ण बिशेषता हो । काम नगरी खाने, धम्क्याएर र तर्साएर अरुबाट पैसा असुल्ने नेपालका जस्ता राजनीतिक दलका युवा संगठनहरु यहाँ छैनन । जसले काम गर्दैन । अमेरिकामा त्यसको सम्मान छैन । त्यसैले पनि अमेरिकामा कोही खाली बस्दैनन ।

नेपालबाट अमेरिका जानेहरु र जान खोज्नेहरु सोच्छन—अमेरिकामा डलर रुखमा फलेको हुन्छ । त्यही डलर टिप्न अमेरिका जानुपर्छ । तर अमेरिका जानेहरुले के बिर्सन हुदैन—अमेरिकामा संघर्ष गर्नेहरुले मात्र सफलता हात पार्छन । डलर कमाउछन । सीप, क्षमता र शिक्षा हुनेहरुले मात्र अमेरिकामा राम्रो अवसर पाउछन ।

अमेरिकाको दिनचर्या र जीवनशैलीको प्रभाव नेपालीहरुमा पनि परेको छ । टिनएजरहरु यहाँको जीवनशैलीबाट बढि प्रभावित भएका छन् । पढ्न आएका कतिपय नेपालीहरु युवाहरु बिग्रिएका छन् । कुलतको शिकार भएका छन् । अमेरिकन संस्कृतिको प्रभावमा परेर आफ्नो जिन्दगी बर्बाद गरिरहेका छन् । आफ्ना कलिला छोराछोरीको अमेरिमामा अध्ययन भीसा लागेकोमा खुशी हुने अभिभावकहरुले अध्ययनका क्रममा अमेरिका आएका सन्तानले खेपेको दुःख र खाएको हण्डरको भेउसम्म पनि पाउदैनन । उनीहरुले थाह पाउदासम्म यता सन्तानहरु काम नलाग्ने गरी बिग्रिसकेका छन् । किनकी नेपालमा जति सुकै धन सम्पत्ती भएपनि अमेरिकाको विश्वविद्यालयको खर्च धान्न सक्ने हैसियत सबै अभिभावकको हुदैन । काम गरेर अध्ययन गर्न सक्ने अवस्था सबै विद्यार्थीहरुको हुदैन । आर्थिक अभावमा विद्यार्थीहरु गलत संगतमा पर्ने जोखिम निकै छ । अमेरिकामा कोही कसैलाई बिना स्वार्थ सहयोग गर्दैनन । सहयोग गर्नेहरुबाट छोरी मान्छेहरु प्रताडित र यौन दुब्र्यबहारको शिकार भईरहेका हुन्छन । यो पनि होईन कि, सबैले त्यस्तो गर्छन ।

अध्ययन, अवसर र जागीरको खोजीमा वर्षेनी अमेरिकामा नेपालीहरुको संख्या बढ्दो छ । यहाँ आउने नेपालीहरु बिरलै नेपाल फर्किने गरेका छन् । पछिल्ला केही वर्षयता अमेरिकामा आफ्नो संस्कृति र परम्परा जोगाउन नेपालीहरु अग्रसर भएका छन्। नेपालमा मनाईने सबै चाडपर्वहरु नेपालीहरुले यहाँ मनाउने गरेका छन् । यद्दपि समय अभाव र बिदा नपाईने भएकोले चाडपर्वमा आएर गएको थाहै हुदैन । चाडपर्वहरुमा घरको याद आउछ । घरपरिवार, आफन्त र साथीभाईहरुको सम्झनाले यस्तो समयमा बढि सताउछ । अमेरिकामा बस्ने नेपालीहरुले संयुक्त रुपमा दशै तिहार र चाड पर्व मनाउने गरेका कारण भने दशै तिहार निरस र खल्लो हुन पाउदैनन । सबै नेपालीहरु आफूलाई पायक पर्ने ठाँउमा जम्मा हुन्छन, यस्तो समयमा । नेपालीहरुले नाचगान, खानपिन र रमाईलो गरेर दशैतिहार जस्ता महत्वपूर्ण चाडहरु भव्यताका साथ मनाउछन ।

विश्वका बिभिन्न देशबाट वर्षेनी लाखौ व्यक्ति अमेरिका आउछन । नेपालबाट पनि वर्षेनी हजारौको संख्यामा नेपालीहरु अमेरिका पुग्छन । तर सबैको जिन्दगी सहज छैन । सबैले राम्रो जागीर पाउने कुराको ग्यारेण्टी हुदैन । भाषा नबुझ्दा नेपालीहरुले सबैभन्दा बढि कठिनाई झेल्नु परिरहेको छ । त्यसैले अमेरिका आउनुभन्दा पहिले अंग्रेजी भाषाको राम्रो ज्ञान र त्यसमा दख्खल हुन आवश्यक छ । अन्यथा अमेरिकामा काम मिल्न गाह्रो हुन्छ । जागीर मिले पनि काम गर्न भाषाकै कारण अप्ठ्यारो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस