१६ वर्षीया बालिकासँग चिनियाँ नागरिकको विवाह, ८ जना पक्राउ

द एभरेष्ट पोष्ट
९ कार्तिक २०८१ ३:३०
१६ वर्षीया बालिकासँग चिनियाँ नागरिकको विवाह, ८ जना पक्राउ

गत असोज ३० गते बुधबार अपरान्ह सुनसरी प्रहरीमा कसैले फोनमार्फत् एउटा सूचना दियो।

‘चतरास्थित औलिया बाबाको मन्दिरमा एक जना बालिकाको चिनियाँ नागरिकसित बिहे भइरहेको छ’, सूचनादाताले यसो भनेपछि सुनसरी प्रहरीको टोली मन्दिरतिर दौडियो।

प्रहरी टोली त्यहाँ पुग्दा विवाहको सबै विधि पूरा भइसकेको थियो।

अभिभावकको सहमतिमै धनकुटाकी १६ वर्षीया नेपाली बालिकाको सिउँदोमा चिनियाँ नागरिकले सिन्दुर हालिसकेका थिए।

चीनको हुबेल निवासी ३३ वर्षीय लि टेङ नामका चिनियाँ नागरिकसित ती बालिकाको विवाह भएको थियो। मन्दिरमा प्रहरी पुग्दा बेहुला–बेहुली विवाहको औपचारिक पोशाकमै थिए।

प्रहरीले त्यहाँबाट बेहुलासहितका ८ जनालाई नियन्त्रणमा लियो। जसमध्ये तीन जना चिनियाँ नागरिक छन्।

चिनियाँ नागरिकले नेपाली बालिकासित विवाह गरिरहेको खबर पाएपछि आफूले सुरूमै ‘मानव तस्करी’ पो हो कि भन्ने अनुमान गरेको सुनसरी प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले बताए।

‘तर अहिलेसम्मको अनुसन्धानले यो घटना ह्युमन ट्राफिकिङ होइन भन्नेमा हामी प्रष्ट भयौं’, एसपी तिम्सिनाले भने ‘तर उमेर नपुगेकी बालिकालाई विवाह गराएका कारण बालविवाहको कसुरमा उनीहरूलाई पक्राउ गरेर कारबाही र अनुसन्धान अघि बढाइएको छ।’

तिम्सिनाका अनुसार विवाह भएकी बालिकाको गाउँकै एक जना महिलाले यसअघि नै चिनियाँ नागरिकसित विवाह गरेको र सोही परिवारको कुराकानीको आधारमा ती बालिकाको चिनियाँ नागरिकसँग विवाह भएको पाइएको हो।

‘उनका ती गाउँले भिनाजु (चिनियाँ नागरिक) परिवार र छोराछोरीसहित विवाहमा उपस्थित रहेछन्, विवाहचाहिँ गरिखाने हिसाबमै गरेको देखिन्छ’, तिम्सिनाले भने ‘तर उमेर नपुगेकी बालिकासित बिहे गरेका कारण संलग्नहरुलाई नियन्त्रणमा लिएको हो।’

उनले नेपालीसँग चिनियाँहरूले विवाह गर्नुको कारण पनि खोजिरहेको बताएका छन्।

प्रहरीले बालिकाका बाबुसहित बेहुला, उदयपुर बेलका ९ का वर्षीय दीपक दर्जी, बद्रीबिक्रम राई, स्याङ्जा पुतलीबजारका शितल गुरुङ, काभ्रेपलान्चोक रोशीकी रोशनीमाया तामाङ, चिनियाँ नागरिक डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरेर जिल्ला प्रहरीको हिरासतमा राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस