श्रीलंकाको पोस्टमा नेपालको आधा दर्जन गोल, सेमिफाइनलमा भारतसँग भेट पक्का

साफ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा बिहीबार नेपालले श्रीलंकामाथि सानदार जित हात पारेसँगै सेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा श्रीलंकाविरुद्ध ६–० गोलअन्तरको जित हात पारेपछि नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
समूह ए बाट भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूह बी बाट नेपाल समूह विजेता र भुटान उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् । नेपाल र भुटानको समान ७–७ अंक भए पनि गोलअन्तरमा अगाडि रहँदै नेपाल समूह विजेता बनेको हो । समूह विजेता बन्न श्रीलंकामाथि नेपाललाई कम्तीमा ६ गोलअन्तरको जित आवश्यक थियो । जुन उसले इन्जुरी समयमा गरेको गोलबाट पूरा गरेको हो ।
नेपालले पहिलो हाफमा ४ गोल गरेको थियो भने दुई गोल दोस्रो हाफमा भयो । खेलको सातौँ मिनेटमा सविता रानामगरले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । सविताले सावित्रा भण्डारी साम्बाले उपलब्ध गराएको पासमा गोल गरेकी हुन् ।
त्यसपछि खेलको ११औँ मिनेटमा सावित्रा भण्डारी साम्बाले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । सावित्राले डिबक्स बाहिरबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।
खेलको १३औँ मिनेटमा रेखा पौडेलले गोल गर्दै घरेलु टिम नेपाललाई ३–० को अग्रता दिलाएकी हुन् । त्यसपछि खेलको ३६औँ मिनेटमा रेखाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–० को अग्रता दिलाइन् ।