उद्योग वाणिज्य संघ कप भलिबलको उपाधि डोटीको शिखर र कञ्चनपुरको शुक्लाफाँटालाई

बझाङ — सुदूरपश्चिमकै सबैभन्दा ठूलो धनराशि पुरस्कार रहेको उद्योग वाणिज्य संघ कप भलिबलको उपाधि पुरुषतर्फ डोटीको शिखर नगरपालिका र महिलातर्फ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जितेका छन् ।
पुरुषतर्फ शिखर नगरपालिकाले डडेल्धुराको पर्शुराम नगरपालिकाको टिमलाई ३–२ को सेटले हराएको थियो भने महिलातर्फको प्रतिस्पर्धामा शुक्लाफाँटासँग बझाङको बित्थडचिर नगरपालिकाको टिम ३–१ को अन्तरमा पराजित भएको थियो ।
प्रथम हुने टिमले पुरुषतर्फ नगद २ लाख २ हजार ८१ र महिलातर्फ १ लाख २ हजार ८१ रुपैयाँ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थान प्राप्त गर्ने टिमले पुरुषतर्फ १ लाख २ हजार ८१ र महिलातर्फ ५२ हजार ८१ रुपैयाँ नगद तथा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । तेस्रो स्थान प्राप्त गर्ने टिम पुरुषतर्फ बझाङको छविस पाथिभेरा गाउँपालिका ‘ए’ ले ५२ हजार ८१ र महिलातर्फ मष्टा गाउँपालिकाले २२ हजार ८१ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
पुरुषतर्फ १७ र महिलातर्फ १२ टोलीको सहभागिता रहेको उक्त खेल कार्तिक १ गतेबाट सुरु भएर ८ दिनसम्म चलेको थियो । कोजाग्रत पूर्णिमाका दिन बझाङ सदरमुकाम चैनपुरमा लाग्ने शिलदेवी मेलाको अवसर पारेर बझाङ उद्योग वाणिज्य संघले यो प्रतियोगिताको आयोजना गर्दै आएको छ । आयोजनाको यो चौथो संस्करण हो ।
संघले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि नगद र प्रमाणपत्रसहित सम्मान गरेको छ । सम्मानित हुनेमा पुरुषतर्फ सुनिल बोहरा, हरि बोहरा, स्पाइकर राजेन्द्र बोहरा, डिफेन्डर विनोद चन्द, सुनिल सुतारा, राइजिङ प्लेयर दिपिन गिरी, हेमन्त मल्ल र उत्कृष्ट कोच गोकर्ण मल्ल रहेका छन् ।