महाकाली तर्न ट्युबको सहारा

डडेलधुरा, ७ कात्तिक ।
भारतसँग सीमा जोडिएको डडेल्धुराको भित्री मधेशको जोगबुडा क्षेत्रको महाकाली नदीमा पुल नहुँदा स्थानीयवासी जोखिम मोलेर ट्युबमा नदी वारपार गर्दै आएका छन् ।
भित्री मधेश क्षेत्र परशुराम नगरपालिका र भारतलाई जोड्न काली नदीमा पुल नहुँदा जोखिम मोलेर स्थानीयवासी डुङ्गाबाट वारपार गर्दै आएका थिए डुङ्गा बन्द भएपछि ट्युबबाट महाकाली नदी तर्नु परेको स्थानीय बासिन्दाहरु गुनासो गर्छन ।
परशुराम नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का खगेन्द्र सिंहले यस वर्ष डुङ्गा सञ्चालन गर्न ठेक्का लगाउन नसकिएको जानकारी दिए । डुङ्गा सञ्चालन हुन नसक्दा नेपालीको महान् पर्व दसैँका बेला घर फर्किने स्थानीयलाई निकै सास्ती भएको स्थानीय महावीर चुनाराले गुनासो गरे । ट्युबबाट जोखिम मोलेर नदी तर्दा एक जनाको दुई सय रुपियाँ तिर्नु परेको उनको भनाइ छ ।
परशुराम नगरपालिका–५ को परिगाउँस्थित महाकाली नदीको बाँघाट र वडा नम्बर ६ को सिसमझालामा नदी तर्ने दुई वटा घाट छन् ।
दुई वटै घाटमा डुङ्गा सञ्चालन गर्न वडा कार्यालयले बढाबढीमा मोलमोलाइ गरी ठेक्का सम्झौता गर्ने गरेका छन् । डुङ्गासमेत मर्मत गरिन लागेकाले यस वर्ष समयमै ठेक्का लगाउन नसकिएको वडा अध्यक्षको भनाइ छ ।