राष्ट्रपतिसँग अध्यादेश आए रोकिदिन बिपक्षी दलहरुको आग्रह

काठमाण्डौं, ७ कात्तिक।
बिपक्षी दलका नेताहरुले दल विभाजनसम्बन्धी अध्यादेश आए रोकिदिन राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
बुधवार राष्ट्रपति पौडेलसँगको भेटमा बिपक्षी दलका नेताहरुले सरकारले दल बिभाजन सम्बन्धि अध्यादेश ल्याउन लागेको आशंका गर्दै अध्यादेश आए रोकिदिन आग्रह गरेका हुन् । बिपक्षी दलका नेताहरु अध्यादेश रोकिदिन माग गर्दै बुधवार शीतल निवास पुगेका थिए ।
विपक्षी दलका नेताहरुको आग्रहपछि राष्ट्रपति पौडेलले भने दल बिभाजन सम्बन्धि अध्यादेश आए बिपक्षी दलका नेताहरुलाई बोलाएर परामर्श गर्ने आश्वासन दिए ।
प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले २ कात्तिकमा विपक्षी दलहरुको बैठक बोलाएका थिए । त्यहाँ दलहरुले दल विभाजन सहज हुने गरी सरकारले अध्यादेश ल्याउन सक्ने आशंका व्यक्त गरेपछि सभामुख, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट्ने निर्णय गरेका थिए ।
राष्ट्रपति पौडेलसँग भएको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राप्रपाका बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी थिए ।