सहकारी ठगलाई कारबाही हुँदै छ, बचकर्ताको रकम पनि फिर्ता गर्छौं – प्रधानमन्त्री ओली

काठमाडौं, ७ कार्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगलाई राज्यले कुनै पनि हालतमा नछोड्ने चेतावनी दिएका छन् ।
सरकार गठनको १०० दिन पुगेको अवसरमा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट सम्बोधन गर्दै ओलीले सहकारी ठगलाई कारबाही गरेर बचतकर्ताको रकम फिर्ता गराएरै छाड्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सहकारी ठगीमा ५७५ जना थुनामा रहेको र ६०० बढीलाई कारबाही प्रक्रिया अघि बढाएको बताए । उनले भने, सहकारीमा ठगीमा संलग्न जो कसैलाई कारबाही गर्छौं भनेका थियौँ । अहिले सहकारी ठगहरूलाई कारबाही प्रक्रिया अघि बढेको छ ।
त्यस्तै ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने स्पष्ट गरेका छन्। उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिन हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रुपमा गति लिनु पर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका दिशामा काम अगाडि बढाउँदा भ्रष्टहरूको मोर्चा बनेको आरोप लगाए ।
उनले सरकार सरकारले सुशासनको पक्षमा दृढताका साथ काम गरिरहेको समेत दावी गरे ।
ओलीले भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरु सक्रिय रहेको बताए ।
आफू नेतृत्वको सरकारले राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने ओलीको प्रतिबद्धता थियो ।
उनले डामाडोल अर्थतन्त्रलाई आफू प्रधानमन्त्री भएपछि सही दिशामा ल्याएको समेत दावी गरे । हामी सरकारमा आउँदा अर्थतन्त्र डामाडोल थियो । आज त्यसमा सुधारका संकेतहरु देखा परेका छन्, उनले भने, निजी क्षेत्रकै माग बमोजिम अर्थतन्त्र सुदृढीकरणका लागि आर्थिक सुझाव आयोगजस्ता महत्वपूर्ण आयोगहरूको गठनले व्यवसायीहरूमा आत्मविश्वास पलाउँदै गएको छ ।
प्रधानमन्त्री ओलीले एक सय दिनको अवधिमा २०० वटा उद्योगमा करिब ३४ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता आएको समेत जानकारी दिए ।
लामो समयदेखि गिरेको शेयरबजार प्राकृतिक विपत्तिको प्रतिकुलताका बीचमा पनि प्रगतिकै लयमा छ फर्किएको चर्चा गर्दै ओलीले अन्तर्राष्ट्रिय स्वतन्त्र विज्ञ संस्थाबाट नेपालको सार्वभौम साख मूल्याङ्कन (क्रेडिट रेटिङ)को कार्य अन्तिम चरणमा पुगेको बताए ।
सरकारले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारका गतिविधिमाथि कारबाही गर्ने ओलीले दोहोर्याए ।