दिल्लीबाट आएको भिस्ताराको जहाजमा बमको हल्ला, विमानस्थलमा खैलाबैला

द एभरेष्ट पोष्ट
७ कार्तिक २०८१ ३:३१
दिल्लीबाट आएको भिस्ताराको जहाजमा बमको हल्ला, विमानस्थलमा खैलाबैला

काठमाडौँ — भारतीय वायुसेवा कम्पनी भिस्ताराको जहाजमा बम भएको ‘सूचना’ ले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र झन्डै चार घण्टा तनावग्रस्त बन्यो । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार १ सय ४७ यात्रु दिल्लीबाट ल्याएर अवतरण भएको भिस्ताराको जहाज दिउँसो साढे ४ बजे यात्रु ओराल्ने तरखरमा थियो ।

त्यही बेला भिस्ताराको सुरक्षा हेर्ने कर्मचारीलाई अज्ञात समूहले जहाजमा बम राखिएको ‘सूचना’ दिएको थियो । लगत्तै भिस्ताराको काठमाडौं कार्यालयले त्यसको जानकारी विमानस्थललाई दियो ।

त्यसपछि विमानस्थल कार्यालयले ‘आफ्नो इमर्जेन्सी प्लान’ अनुसार सुरक्षा समितिको बैठकमार्फत सेना र प्रहरी परिचालन गरेको थियो । करिब ४ घण्टाको जाँचपछि नेपाली सेनाको विशेष टोलीले सुरक्षा खतरा नभएको यकिन गरेपछि बेलुकी साढे ८ बजे भिस्ताराको जहाज काठमाडौंबाट १६९ यात्रु लिएर दिल्लीका लागि उडेको छ ।

‘बम राखिएको भनिएको जहाज आकाशमा भएको भए अवतरणलगत्तै बेग्लै स्थानमा लगेर सुरक्षा जाँच गर्नुपर्छ । यो अन्तर्राष्ट्रिय अभ्यास उड्डयन नियममै उल्लेख छ,’ महाप्रबन्धक निरौलाले भने, ‘तर अन्य अन्तर्राष्ट्रिय जहाजसमेत रहेको पार्किङ वेमा आइसकेकाले सुरक्षा थ्रेट भएको भिस्ताराको जहाजलाई अन्यत्र सार्न सकिएन । त्यहीँ नेपाल प्रहरीले सुरक्षा घेरा हाल्यो । जहाजमा भएका यात्रुलाई एक/एक गरी खानतलासी गरेर अलग्गै राख्नुपर्‍यो ।’ त्यसबेला पार्किङ वेमा हिमालय एयरलाइन्स, फ्लाई दुबई, थाई लायनलगायतका वायुसेवा कम्पनीका विमान थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

काबुल डायरी

३० फागुन २०८१ ९:२७

खोज्नुहोस