पाकिस्तानमा विद्यार्थी प्रदर्शन : शैक्षिक संस्था बन्द गर्न निर्देशन

द एभरेष्ट पोष्ट
२ कार्तिक २०८१ ९:४७
पाकिस्तानमा विद्यार्थी प्रदर्शन : शैक्षिक संस्था बन्द गर्न निर्देशन

पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको पञ्जाब प्रान्तका अधिकारीहरूले शुक्रबारका लागि सबै शैक्षिक संस्थाहरू बन्द गर्न निर्देशन दिएका छन्।

पूर्व प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म समावेश गरिएको बन्दले पूर्वी पञ्जाब प्रान्तमा वयस्क विद्यार्थीका अतिरिक्त लगभग दुई करोड ६० लाख बालबालिका प्रभावित हुनेछन्।

प्रान्तीय राजधानी लाहोरमा ‘पञ्जाब कलेज फर वुमेन’ को एक भवनको पार्किङस्थल भुईतल्लामा एक छात्रामाथि बलात्कार भएको समाचार सामाजिक सञ्जालमा फैलिएपछि प्रदर्शन सुरु भएको हो।

प्रहरी, कलेज र प्रान्तीय सरकारले कुनै पनि पीडित अगाडि नआएको र अनलाइनमा आएको गलत सूचनालाई आधार मानेर आन्दोलित नहुन सर्वसाधारणलाई आग्रह गरेका छन्।

त्यसपछि लाहोरका साथै राजधानी इस्लामावादसँग जोडिएको रावलपिण्डी सहरका क्याम्पसहरूमा प्रदर्शनहरू फैलिएका छन् र विद्यार्थीहरूले अधिकारीहरूले यसलाई ढाकछोप गरेको आरोप लगाएका छन्।

रावलपिण्डीका वरिष्ठ प्रहरी अधिकारी सैयद खालिद महमुद हमदानीले बिहीबार शहरमा भएको प्रदर्शनमा तोडफोड र आगजनी गरेको आरोपमा ३८० जनालाई पक्राउ गरिएको र अनुसन्धान जारी रहेको बताएका छन्।

उनले भने, “हामी सामाजिक सञ्जालबाट हिंसात्मक गतिविधिमा सम्लग्न व्यक्तिको खोजी गर्नेछौँ।”

पञ्जाबको शिक्षा र आन्तरिक विभागले बिहीबार अबेर राति तीन छुट्टाछुट्टै सूचना जारी गर्दै सबै शैक्षिक विभागहरू बन्द गर्न आदेश दिएको छ। प्रान्तीय आन्तरिकमामिला मन्त्रालयले पनि शुक्रबार र शनिबार भेला हुन प्रतिबन्ध लगाएको छ।

प्रदर्शनकारीहरूले लाहोरस्थित क्याम्पसहरूमा झ्यालहरू तोडफोड गर्नुका साथै विद्यालयका सवारी साधन स्कुल बसहरूमा आगजनी गरेका छन्। प्रदर्शनका क्रममा कैयौँ स्थानमा विद्यार्थी र प्रहरीबीच झडपसमेत भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस