काठमाडौँ । पूर्वी नेपाललाई संघीय राजधानी काठमाडौँसँग जोड्ने बीपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा आए पनि स्थायी रूपमा सञ्चालनमा ल्याउनेबारे अन्योल देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार स्थायी रूपमा निर्माण गर्न कति समय लाग्ने टुङ्गो लागेको छैन ।
मन्त्रालयका सचिव केशव शर्माका अनुसार यो राजमार्ग पुरानै संरचनाको ढाँचामा निर्माण गर्दा फेरि समस्या आउने भएकाले नयाँ तरीकाले निर्माण गरिनु पर्ने देखिएको छ । जसका लागि गहन रूपमा अध्ययन गरी पुनः निर्माण गर्नुपर्ने हुँदा के कति समय लाग्ने विषयमा टुङ्गो नभएको सचिव शर्मा बताउँछन् ।
‘स्थायी रूपमा कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा छलफल गरिरहेका छौँ । तर पुरानो संरचना जस्तै बनाउन पनि हुँदैन,’ उनले भने, ‘जलवायु परिवर्तनका कारण नदीको धार परिवर्तन (रिभर मर्कोलोजी) भएको कारणले जुन अवस्थामा थियो त्यसै अवस्थाको सडक निर्माण गरेर पुग्दैन । यसलाई अलिकति रिजिलिएन्ट गर्नुपर्ने हुन्छ ।’
यो राजमार्ग स्थायी रूपमा पुनर्निर्माण गर्न भौगर्भिक र हाइड्रोलोजिक अध्ययन गरिनुपर्ने शर्मा बताउँछन् । उनका अनुसार यस किसिमको अध्ययन गर्न डेढदेखि दुई महिना लाग्ने देखिएको छ । यो अध्ययन तत्कालै सुरु गर्ने र सुहाउँदो संरचना बनाउने गरी कार्ययोजना बनाइएको छ । अध्ययन गरिसकेपछि मात्रै के कति लागत लाग्छ भन्ने टुङ्गो लाग्नेछ ।