न्यूयोर्कमा पत्रकार उपाध्यायको द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि बिमर्श

द एभरेष्ट पोष्ट
२६ असोज २०८१ १३:२२
रिजउड नेपाली समाज र काठमाण्डौं फ्युजनको सहयोगमा सुदूर पश्चिम समाज अमेरिकाद्धारा न्यूयोर्कमा आयोजित पुस्तक बिमर्श कार्यक्रमका सहभागी वक्ताहरुले प्रवासमा रहेर १० वर्षे द्वन्द्वका नमिठा अनुभवहरु साटासाट गरे । आगामि समयमा त्यस्तो द्वन्द्व मुलुकले कहिल्यै नभोगोस भनेर कामना गरे ।
कार्यक्रममा नेपाली जन सम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले पत्रकार उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमा एउटा पत्रकारले गरेको द्वन्द्वको अनुभव र मुलुकले भोगेको १० वर्षे द्वन्द्वको असरका बारेमा चित्रण गरिएको बताए ।

१० वर्षे द्वन्द्वबाट कुनै क्षेत्र पनि अछुतो रहेन, पत्रकारहरु पनि त्यसबाट प्रभावित भए, जसले आफ्नो ज्यान जोखिममा राखेर नागरिकलाई सुसूचित गरे, राज्य र बिद्रोही पक्षलाई नागरिकका मौलिक हकको रक्षाका लागि दवाव दिए, सभापति बिष्टले भने, यो पुस्तक त्यो समयको साक्षी हो । अहिले र भावी पुस्ताका लागि यो अध्ययन गर्ने महत्वपूर्ण दस्तावेज हो । उनले पत्रकार उपाध्यायले पत्रकारिता र साहित्यका माध्यमबाट समाज र राष्ट्रलाई पु¥याएको योगदानको प्रशंसा गरे ।

साहित्यकार किसन सिंह धामीले पत्रकार तथा कवि उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकसंगै कविता संग्रह आमा म आउँदैछु कविता संग्रहका बारेमा टिप्पणी गरे । उनका कवितामा देश छ, देश प्रेम छ, नागरिकका पीडा छन्, आमा, छोरी र बुवाप्रति कविको अनुभूति छन्, कविता पढ्ने जो सुकै उनको अनुभूति आफ्नै जस्तो लाग्छ,धामीले भने, अत्यन्त सरल र सबैले बुझ्ने भाषामा लेखिएका उनका कविता सशक्त छन् ।

कार्यक्रममा सहभागी अधिकांशले द्वन्द्वमा आफूले भागेको नमिठो पीडा र अनुभव सुनाए । कतिपयले आफू अपहरणमा परेको सुनाए । कतिपयले अपहरणबाट जोगिएर बाँचेको बताए । राज्य र माओवादी दुबै पक्षबाट प्रताडित भएका उनीहरुले फेरि द्वन्द्व नहोरियोस भनेर कामना गरे ।

कार्यक्रमका पत्रकार उपाध्यायले पुस्तकमा पत्रकारिता र सिंगो देशले भोगेको द्वन्द्व र त्यसको असर समेटिएको बताए । उनले भने, एउटा पत्रकारको युद्ध रिपोर्टिङको अनुभव मात्र यो पुस्तकमा समेटिएको छैन, आम नागरिकले भोगेका पीडा पनि पुस्तकमा समेटिएको छ । अनाहकमा मारिएका, बेपत्ता पारिएका पत्रकार र आम नागरिक र तिनका परिवारका कथा, व्यथा र अनुभव पुस्तकमा समेटिएका छन् ।

उनले पत्रकारिताका विद्यार्थीका लागि मात्र नभएर अहिले र भावी पुस्ताका लागि यो पुस्तक द्वन्द्वका १० वर्षको अध्ययन सामग्री भएको बताए ।  यो पुस्तकमा आफ्नो ज्यान जोखिममा राखेर नागरिकको जीवन रक्षाका लागि पत्रकारहरुले निर्बाह गरेका संघर्ष र अनुभवका कथाहरु मत्र समेटिएका छैनन, देशले भोगेको द्वन्द्वको समग्र असर चित्रण गरिएको छ ।

कार्यक्रममा उपाध्यायले आफ्नो कविता संग्रहबाट मृत्युले भन्यो म छु नि त,  छोरी र बा शिर्षकको कविता सुनाए । पत्रकार उपाध्यायले सुदूर पश्चिम समाज अमेरिकाद्धारा पुस्तक बिमर्शसंगै आफूलाई स्वागत तथा सम्मान गरिएकोमा आभार व्यक्त गरे ।

कार्यक्रममा रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्ट, गैर आवासीय नेपाली संघ अमेरिकाकी उपाध्यक्ष लक्ष्मी थापा, सुदूर पश्चिम समाजका अगुवा मोहन सिंह बिष्टले पत्रकारिता र साहित्यका माध्यमबाट उपाध्यायले पुर्याएको योगदानको प्रशंसा गरे । कार्यक्रमका बिशिष्ट अतिथि बिष्ट, सुदूर पश्चिम समाजका अगुवा जीवन बम, हरिशचन्द्र हमाल, पूर्व अध्यक्षहरु राम बहादुर देउवा, गणेश बिष्ट लगायतले पत्रकार उपाध्यायलाई खाँदा ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा सुदूर पश्चिम समाज अमेरिकाका उपाध्यक्ष नवीन ओझाले पत्रकारिता र सामाजिक क्षेत्रमा अढाई दशकदेखि सक्रिय उपाध्यायसंग माईती नेपालको धनगढीको प्रमुखका रुपमा आफू कार्यरत रहदा सहकार्य गरेको सुनाए । कार्यक्रम सुदूर पश्चिम समाज अमेरिका न्यूयोर्कका अध्यक्ष दानसिंह बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष बिष्टले ऐतिहासिक पुस्तक द्वन्द्व पत्रकारिताको एक दशक  र कविता संग्रह आमा म आउँदैछुका लागि उपाध्यायलाई बधाई दिनुका साथै पुस्तक बिमर्श कार्यक्रममा सहभागी भएकोमा सम्पूर्ण अतिथिलाई धन्यवाद दिए ।

यसैवीच सुदूर पश्चिम समाज अमेरिकाद्धारा पत्रकार उपाध्यायलाई सम्मान सुदूर पश्चिम समाज अमेरिकाले पत्रकार दीर्घराज उपाध्यायलाई बुधवार न्यूयोर्कमा सम्मान गरेको छ । सुदूर पश्चिम समाज अमेरिकाद्धारा बुधवार न्यूयोर्कमा आयोजित पत्रकार तथा कवि उपाध्यायलाई उनीद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकको बिर्मश कार्यक्रममा कदर पत्र र दोसल्ला सहित सम्मान गरिएको हो । समाजका अध्यक्ष दानसिंह बिष्ट, बिशिष्ट अतिथि नेपाली जन सम्पर्क समितिका सभापति आनन्द बिष्ट लगायत समाजका अगुवाहरुले समाजका तर्फबाट पत्रकार उपाध्यायलाई कदर पत्र र दोसल्ला सहित सम्मान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस