एभरेस्ट महिला भलिबल लिगमा कर्णाली र काठमाडौंको जित कायम

काठमाण्डौं, १७ असोज ।
वात्सल्य एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल) मा कर्णाली यश्विजले लगातार तेस्रो जित निकाल्दा काठमाडौं स्पाइकर्ससँगले दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार कर्णालीले ललितपुर क्विन्सलाई सोझो सेटको हरायो । कर्णालीले यो सहित लगातार तेस्रो जित निकालेको हो । यो जितसंगै कर्णाली लिगमा अगाडि छ ।
कर्णालीले २५–२२, २५–२२, २९–२७ को सनसनीपूर्ण सेटमा जित निकालेको हो । सलिना श्रेष्ठको कप्तानीमा रहेको ललितपुरले यसअघि दुई खेल जितेको थियो ।
गण्डकी थन्डर्सको पराजय यात्रा बुधबार पनि रोकिएन । गण्डकीले काठमाडौं स्पाइकर्ससँगको खेल ३–१ सेटमा गुमाएको थियो । उषा भण्डारीको कप्तानीमा रहेको काठमाडौंले २५–२३, १९–२५, २५–२१, २५–१६ को सेटमा खेल जित्यो । काठमाडौंको यो दोस्रो जित हो ।