डिजेल र मटि्टतेलको मूल्य घट्यो

काठमाडौं ।

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाउने निर्णय गरेको हो ।

निगमका अनुसार पेट्रोल, एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत छ ।भाउ घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १४७.५ पुगेको छ ।

त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १४९ र काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १५० रुपैयाँ मूल्य कायम भएको छ ।

अमेरिकामा समाजका सुत्र पढाईरहेका गणितका प्रोफेसर जोशी

‘सफलता तपाईंको हैसियतले होइन, तपाईंका कारण अरुमा पर्ने प्रभावले मापन हुन्छ ।’ दिवगंत भारतीय व्यवसायी रतन टाटाको यो भनाईसंग सहमत अमेरिकाको सिनसिनाटी राज्यको जेभियर युनिभर्सिटीका गणितका प्रोफेसर डा.हेमराज जोशी भन्छन्, ‘सफलता यो होईन, तपाईले कति सम्पत्ती जोड्नुभयो । सफलता त्यो हो, तपाईले कतिको जीवनमा परिवर्तन ल्याउनु भयो ।’

प्रोफेसर जोशीका नजरमा सम्पत्ती हुने सबै व्यक्ति सफल होईनन । धनी मात्र हुन् ।

उनका पिता खेमराज जोशी नेपाली काँग्रेस बैतडीका संस्थापक सदस्य थिए । जसले २०१५ सालको आम निर्बाचनमा आफूले पाएको टिकट अर्कैलाई बाँडे ।

राजनीतिमा टिकट छोड्नेहरु ‘बेबकुफ’ मानिने देशमा अपवाद थिए, उनका पिता । यता अमेरिकामा आएर पैसा नकमाउनेहरुलाई ‘बेबकुफ’ भन्ने जमात नभएको होईनन । उनलाई त्यसको छु मतलव । भने भनुन ‘बेबकुफ’। उनले सम्पत्तीको त्यो अंकलाई शुन्य बाहेक केही ठानेनन् । यद्दपि उनले विद्यावारिधी गरेको गणितको हिसावकिताव त्यही शुन्य नहुदा अधुरो छ । उनी हिडे आफ्नो बाटो ।

पारी केन्टुकी । वारी सिनसिनाटी । सीमानामा बग्ने ओहायो नदी । त्यही ओहायो नदीको अलि मास्तिर फैलिएको सय वर्ष लामो ईतिहास बोकेको जेभियर युनिभर्सिटी । त्यही युनिभर्सिटीका सयौ प्रोफेसरका माझमा एक्ला नेपाली जोशी । जो गणित बिभागको नेतृत्व गर्छन ।

गणितका सुत्र कहिल्यै फेरिदैनन । तर समाजका सुत्रहरु भने समय अनुसार फेरिईरहन्छन । नफेरिने गणितका निरस सुत्रहरुको मान्छेको जीवनमा के अर्थ ? समाज त सुत्रले चल्दैन, भावना, संवेदना र सम्बन्धहरुले चल्छ । औंला भाँचेर पनि समाज चलेकै थियो । किन चाहियो, अल्फा, बिटा र गामा ?

उनले गणितका सुत्र पढे । तीनै सुत्रको फेर समातेर पुगे, अमेरिका । गरे, तिनै सुत्रहरुमा विद्या वारिधी । तर उनले विद्यार्थीलाई गणितका सुत्रहरु मात्र घोकाएनन । सिकाए, जीवनका सुत्रहरु । भनिन्छ, अंकहरुमा अल्झिने मान्छे निरस हुन्छ । जो भित्र संवेदना हुदैन । उनी अपवाद छन् । जो अंकको भूमरीमा कहिल्यै फसेनन ।

पूँजीवादी व्यवस्थामा धन नै सबैथोक मानिन्छ । अमेरिका अडेकै त्यही व्यवस्थामा छ । उनी भन्छन्, ‘बाप बडा न भैया, सबसे बडा रुपैया ।’ अमेरिकामा पैसा भन्दा ठूलो केही छैन । कोही छैन । यहाँ कसैलाई कसैको मतलव हुदैन । बैंकले पत्याउछ । तर मान्छेले पत्याउदैन ।

बैतडीको दशरथ चन्द नगरपालिका–१३ शेराका खेमराज जोशी र हरीप्रिय जोशीका छ सन्तान थिए । दुई छोरी । चार छोरा । उनी पाँचौ सन्तान थिए । उनले प्राथमिक तहको अध्ययन शेरामै पुरा गरे ।

उनको परिवार तराई झ¥यो । उनी पनि संगै झरे । चार कक्षामा धनगढीस्थित त्रिनगर माध्यामिक विद्यालयमा भर्ना भए । २०३७ सालमा त्यहीबाट एसएलसी पास भए । त्यसपछि आईएस्सी पढ्न महेन्द्रनगर पुगे । आईएस्सी दोस्रो वर्षको परीक्षा नजिकिदै थियो । क्याम्पसमा हड्ताल भयो । परीक्षा त भयो । रिजल्ट रद्द भयो । त्यसपछि उनी पढ्न भारत गए । त्यहाँबाट आईएस्सी पास गरे ।

थप अध्ययनका लागि उनी देहरादुन गए । १९८५ मा त्यहीबाट बीएस्सी गरे । र, १९८९ मा एमएस्सी गरे । एमएस्सीका गोल्डमेडलिष्ट जोशीले नेपालमा महेन्द्र विद्या भुषण पाए ।

त्यसपछि उनी त्रिभुवन विश्व विद्यालयमा अध्यापन गर्न थाले । बिहान अमृत साईन्स क्याम्पस अस्कलमा पढाउथे । दिउँसो जिटीजेडमा जागीर खान्थे । तीन वर्ष जागीर खाएपछि उनी पूर्ण छात्रबृति पाएर ईण्डष्ट्रियल म्याथमेटिक्सको अध्ययनका लागि १९९३ जर्मनी गए । युनिभर्सिटी अफ काईजर्सलाउटनबाट मास्टर्सको थप अध्ययन सकेर दुई वर्षपछि नेपाल फर्किए । बेतलवी विदामा जर्मनी गएका उनी फर्किएर अस्कलमा पढाउन थाले ।

एक दिन उनलाई एक जना केटी साथीले भनी, मेरो साथी रसिकासंग बिहा गर्छौ । साथीकै सल्लाहमा उनले रसिकालाई भेटे । दुई जनाबीच कुराकानी भयो । दुबैले आ-आफ्नो अभिभावकलाई बिबाहका लागि कन्भिन्स गर्ने सल्लाह भयो । उनी दशैं बिदामा घर आए । र, बुवाआमालाई कन्भिन्स गरे । उता रसिकाले आफ्नो परिवारलाई सम्झाईन । दुबै परिवार सहमत भएपछि उनीहरुको ‘चट मगनी पट ब्याह भयो’ ।

फरक भूगोल । फरक पृष्ठभूमि । फरक संस्कार । काठमाण्डौंकी रैथाने रसिका । सुदूर पश्चिमको बैतडीका हेम । प्रयोगशालाको रिसर्चमा घोत्लिरहने डाक्टर रसिका । गणितका सुत्र पढाउने प्रोफेसर हेम । सम्बन्धको केमष्ट्रि फेरिपनि अद्भूत छ, दुबैजनाको । विश्वासको डोरीले बाँधेको त्यो सम्बन्ध झण्डै तीन दशक लामो सहयात्रामा पनि उत्तिकै बलियो छ ।

संयोगले जुरेको डाक्टर रसिका र प्रोफेसर जोशीको प्रेम अग्र्यानिक छ । त्यसैले त झण्डै तीन दशक लामो यो सम्बन्धमा गणितका सुत्र र ल्यावको रसायन कहिल्यै हावी हुन पाएन ।

बिहापछि पनि उनको अध्ययनको सिलसिला रोकिएन । भनिन्छ, जहाँ ईच्छा, त्यहाँ उपाय । उनका बुवाको ईच्छा थियो, छोरा पढ्न अमेरिका जाओस । उनका बुवाको त्यो ईच्छा युनिभर्सिटी अफ टेनसी नक्सभेलको पूर्ण छात्रबृतिले पुरा गरिदियो । उनी अमेरिका १९९७ अगष्टमा गणितमा पीएचडी गर्न अमेरिका आए । चार वर्षमा पीएचडी सकाए । दुई वर्ष ‘पोष्ट डक’ गरे ।

पिएचडीले उनलाई अमेरिकामा अवसरको ढोका खोली दियो । २००३ मा सिनसिनाटी राज्यको जेभियर युनिभर्सिटीमा गणितका प्रोफेसर नियुक्त भए । त्यसपछि सिनसिनाटी उनको स्थायी मुकाम भयो । उमेरले ६ दशक काट्दै गर्दा उनको जिम्मेवारी थपिएको छ । चार वर्षअघि फुल प्रोफेसरमा बढुवासंगै उनले गणित बिभागको नेतृत्व गर्ने अवसर पाए ।

उनी सिनसिनाटी आउदा नेपालीहरुको संख्या थोरै थियो । त्यसमध्य अधिकांश अध्ययन र अवसरका लागि आउनेहरु थिए । उनी दशैंमा विद्यार्थीसंगै अन्य नेपालीहरुलाई दशैंमा घर बोलाउथे । खसी काट्थे । जमरा लगाउथे । रमाईलोका लागि तास खेल्न पैसा दिन्थे । र, फर्किदा टिकट दिएर पठाउथे । सिनसिनाटीमा जस्को कोही थिएन, उसका लागि प्रोफेसर हेमराज जोशी अभिभावक थिए ।

नेपालबाट डीभी परेर आउनेहरुलाई जागीर नपाउदासम्म उनले घरमा बास दिन्थे । अवसर र अध्ययनका लागि आएकाहरुका लागि उनको घर नियास्रो मेट्ने आश्रयस्थल थियो । समस्या परेकाहरुलाई आर्थिक सहयोग गर्थे । गणितका प्रोफेसर जोशीले न त कहिल्यै त्यो खर्चको हिसावकिताव गरे । न प्रचार गरे । बस्, बाडी रहे स्नेह । गरिरहे सहयोग ।

शिक्षाको उज्यालो घामबाट कोही बञ्चित नहुन भन्ने सोचले उनले शिक्षा क्षेत्रमा सहयोग गर्दै आएका छन् । उनले यस वर्ष गेटास्थित सरस्वती माविमा ४५ जना विद्यार्थीलाई ८५०० रुपैयाका दरले छात्रबृति प्रदान गरेका छन् । केही संख्याबाट शुरु भएको छात्रबृतिको संख्या हरेक वर्ष बृद्धि हुदै गएको छ । उनले हरेक वर्ष सरस्वती माविसंगै अन्य विद्यालयहरुलाई ल्यापटप समेत प्रदान गर्दै आएका छन् । यस कार्यमा उनलाई युनिभर्सिटीका प्रोफेसरसंगै साथीभाईहरुले सहयोग गर्दै आएका छन् ।

उनका थुप्रै समकक्षीहरु राजनीतिमा लागे । एनपी साउँद, पुष्कर नाथ ओझाहरु मन्त्री भए । नेपाली काँग्रेसको सुदूर पश्चिमको सिनियर नेताका रुपमा चिनिने उनका पिता चाहन्थे, छोराले राजनीति गरोस । तर उनको राजनीति प्रति रुचि भएन । उनले अध्यापन र अध्ययनमा आफूलाई समर्पित गरे ।

अमेरिका संसारभरीका मान्छेका लागि सपनाको देश हो । उनी भन्छन्, नेपालीहरुले जुन हिसावले परिकल्पना गर्छन, अमेरिका त्यस्तो छैन । काम नगरी यहाँ कोही बाँच्न सक्दैनन । धेरै नेपालीलाई लाग्छ, अमेरिकामा डलर फल्छ । बितेका २८ वर्षमा मैले कतै डलर फलेको देखेन ।

नेपालमा ९० को दशकको उत्तराद्र्धमा भर्खर डिस भित्रिएको थियो । डीसमा एउटा च्यानल आउथ्यो, एमटीभी । मायामीको बीचमा स्वीमीङ पुलमा बिकनी लगाएका केटीहरु देखिन्थे । यही स्वर्ग हो लाग्थ्यो, त्यो हेर्नेहरुका मनमा । झण्डै तीन दशक लामो बसाईमा उनले त्यो स्वर्ग भेटेनन । न त त्यो स्वर्गको खोजीमा भौतारिए ।

अमेरिकामा सबै सुबिधा छन् । तर यहाँ सामाजिक जीवन र सम्बन्ध छैन, प्रोफेसर जोशी भन्छन्, नेपालमा हामी सात पुस्ताको कुरा गर्छौ । यहाँ भाईले भाईलाई चिन्दैन ।

धेरैले भन्छन्, बच्चाको भविश्यका लागि यहाँ बस्नु परेको छ । त्यो बाध्यता होईन, ढोंग हो, भन्छन्, सपना आफ्नो । बहाना अरुको । बच्चाका लागि अमेरिका बसेको बताउनेहरुले बच्चालाई समय नै दिदैनन ।

अमेरिकामा समाजसेवा आत्मकेन्द्रित र प्रचारमुखी भएको उनको बुझाई छ । समाजसेवा कसका लागि ? समाजका लागि कि फेसबुकका लागि ? उनी प्रश्न गर्छन ।

सामाजिक संघसंस्था खोल्नु राम्रो ठान्ने उनी यो खोल्ने नियत भने खराव भएको दावी गर्छन । यहाँ आएपछि सबैको हैसियत समान हुन्छ । नेपालमा जुनसुकै ओहोदा र पदमा भएपनि यहाँ कसैले कसैलाई नमस्कार र सम्मान गर्दैन । डाक्टर र स्वीपरको हैसियत समान हुन्छ । कामले कोही सानो ठूलो हुदैन । अध्यक्ष, पदाधिकारी हुने । आसन ग्रहण गर्ने । सम्मान थाप्ने । र, नमस्कार पाउनकै लागि खोलिएका जस्ता देखिन्छन अधिकांश संघसंस्था र समाजहरु ।

बाहिरबाट अमेरिका हेर्नेलाई लाग्छ, संसारका सबै सुख सुबिधा अमेरिकामा छन् । तर यहाँको संघर्ष कसैलाई थाह हुदैन । निरन्तर संघर्ष र मिहिनेत गर्नेको जीवन सुखद हुन्छ । बाँकी त यहाँ पनि दुःखी नै छैन ।

अमेरिकामा सबै बच्चा राम्रो हुन्छन भन्ने हुदैन । कस्तो वातावरणमा बच्चा हुर्कियो ? त्यस्तै हुन्छ । छोराले बुवाको पसललाई आफ्नो ठान्दैन । बुवाको पसलमा काम गर्दा पनि उसले प्रतिघण्टाको ज्याला लिन्छ । यहाँ बुवाको सम्पत्तीमा छोराछोरीको हक हुदैन । र, छोराछोरीलाई बुवाआमाको सम्पत्तीको मोह पनि हुदैन ।

उनको बुझाईमा, अमेरिकामा बसेर नेपालको चिन्ता गर्नुको अर्थ छैन । भन्छन्, देश बिग्रिहाल्यो, खत्तम भयो भनेर चिन्ता गर्नुभन्दा यहाँ बसेर परिवारको चिन्ता गर्नु राम्रो हुन्छ ।

गैर आवासीय नेपाली संघलाई प्रवासमा अरुभन्दा अलि बढि पैसा कमाएकाहरुको संस्था ठान्छन उनी । भन्छन्, समाज र देश बनाउछु भन्ने त फगत नारा हो । एनआरएनएनले के बनायो ? त्यो जगजाहेर छ ।

करोड रुपैया लगानी गरेर आफ्नो गाउँठाउँमा पाटी, पौवा, विद्यालय, सडक बनाए कसैले नमस्कार गर्दैन । एनआरएनएको चुनावमा खर्च गरेर अध्यक्ष हुन पाए प्रधानमन्त्रीसंग भेट गर्न सहज हुन्छ । सबैले नमस्कार गर्छन, उनी भन्छन्, सबैको स्वार्थ यत्ति हो ।

अमेरिका दलदल हो । जति हल्लिन खोज्यो त्यति भासिन्छ, उनको अनुभवले भन्छ, यहाँ आएपछि पुरै जिन्दगी घर,गाडी र सन्तानको शुल्क किस्तामा तिर्दा तिर्दै बित्छ । स्वदेश फर्किन्छु भन्नेहरु कहिल्यै फर्केनन । जो चुपचाप फर्किए उनीहरुले कहिल्यै हल्ला गरेनन ।

प्लस टु पास सन्तानलाई पढ्न अमेरिका पठाउने अभिभावकलाई प्रोफेसर जोशीको सुझाव छ, यो उमेरमा छोराछोरी नपठाउनु । सकभर परिपक्व भएपछि पठाउनु । कम्तिमा स्नातक तह पुरा गरेर सन्तानलाई पठाउदा राम्रो ।

नेपालबाट अमेरिका विद्यार्थी पठाउने कन्सलटेन्सीहरुले विद्यार्थीका नाममा व्यापार गरिरहेको उनको दावी छ ।  प्रोफेसर जोशी भन्छन्, राम्रा कलेजले उनीहरुलाई कमिसन दिदैनन । जसले कमिसन दिन्छ, त्यस्ता कलेजहरुमा मात्र पठाउछन्, कन्सलटेन्सीहरुले । उनीहरुले पठाउने कलेजहरु औसतमा पर्छन ।

राम्रा कलेजमा छात्रबृति नपाए नेपालबाट पैसा पठाएर अभिभावकले पढाउन नसक्ने उनी सुनाउछन । विद्यार्थीले काम गरेर कलेजको शुल्क तिर्न सक्दैनन ।

विद्यार्थीहरुलाई पढाईबाट बिचलित नहुन सुझाव दिने उनी डिभी परेर आएकाहरुलाई पढ्न सुझ्याउछन । ग्याँस स्टेशनको सपना देखिरहेको मान्छेलाई उनको सुझाव फाल्तु लाग्छ ।

जोशी दम्पत्तीका एक छोरा र एक छोरी छन् । प्रवासमा अध्ययनका लागि आएका नेपालीका छोराछोरीका दुःखमा दुबै जना साथ दिन्छन । अरुलाई खुशी बाड्न पाए खुशी हुन्छन, दुबै जना । अरुलाई सहयोग गर्न पाए आफ्नो जीवन सार्थक भएको ठान्छन्, दुबै जना । यही समान सहृदय, सोच र मान्यताले उनीहरुको सम्बन्धलाई दिगो र दरिलो बनाएको छ ।

उनी पिएचडी सकेर २००५ मा स्वदेश फर्किने तयारीमा थिए । २००३ पत्नी रसिकालाई छोराछोरी सहित नेपाल फिर्ता पठाए । देशमा द्वन्द्व चरमोत्कर्षमा थियो । आफन्त र परिवारजनले अमेरिका छोडेर नेपाल आउने निर्णय सही नभएको बताएपछि उनले तत्काललाई स्वदेश बस्ने निर्णय स्थगित गरे ।

‘अमेरिकाको बसाई, बरेलीको जक्सन जस्तै हो ।’ दुई दशकदेखि त्यही जक्सनमा टसमस नगरी बसिरहेका प्रोफेसर जोशी अमेरिका प्रतिको यस्तो सटिक टिप्पणीपछि पनि रोकिएनन । उनले थपे, बिभिन्न ठाउँबाट आएका यात्रुहरु जक्सनमा केहीबेर बस्छन् । परिचय गर्छन । रेल आएपछि सबै आ–आफ्नो बाटो लाग्छन । त्यसपछि को कता गयो, कसैलाई वास्ता हुदैन, उनले थपे, ‘अमेरिकाको बसाई पनि त्यस्तै हो ।’

एक दशकपछि यो जक्सनको बसाईमा बीट मार्ने उनले योजना सुनाए । फर्केर त्यही जाने मन छ, जहाँ उनको बालापन बित्यो । बालापन बितेको गेटास्थित उनको घर छेउमा मेडिकल कलेज सञ्चालनमा आउने क्रममा छ । उनलाई त्यहाँ उपचारका लागि आउने अशक्त बिरामीहरुलाई ह्विल चेयरमा राखेर अस्पतालको शैयासम्म निशुल्क पु¥याउन खटिने मन छ । भन्छन्, एक्लै त्यो संभव छैन, स्वयमसेवी युवा समूहको गठन गरी असहाय र अशक्त बिरामीहरुको सेवामा बाँकी जीवन समर्पित गर्ने धोको छ ।

 

अमेरिकाको विस्कान्सनमा देउसी भैलो खेलिने

यज्ञराज जोशी, विस्कान्सन ।

अमेरिकाको विस्कान्सन राज्यमा देउसी/भैलो कार्यक्रमको आयोजना हुने भएको छ ।

हिन्दु नेपालीहरुको ठूलो पर्व तिहारमा खेलिने देउसी भैलो अमेरिकामा पनि स्थानीय नेपालीहरुले आयोजना गर्ने भएका हुन् ।

“पारिवारिक देउसी भैलो” यही नोभेम्बर २ तारिख शनिबारका दिन सिवाइगनस्थित 4604 S Business Dr मा हुने भएको छ । साँझ ५ बजेदेखि सुरु हुने देउसी भैलोमा सपरिवारको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

विस्कान्सन राज्यमा २ सय परिवारभन्दा बढी नेपालीहरु रहेका छन् । अमेरिकामै जन्मिएका तथा पछिल्लो दोस्रो पुस्तालाई आफ्ना परम्परा संस्कृतिसँग घुलमिल गराउँन वर्षेनी यस खाले कार्यक्रम आयोजना गरिएको स्थानियहरुले जनाएका छन् ।

यस पटकको भाइटिका भने नेपाली पात्रो अनुसार नोभेम्बर ३ तारिखका दिन परेको छ । हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व तिहारमा देउसी भैलो खेलिन्छ । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ।

पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । देउसी भैलो समुहमा मिलेर गाइन्छ । यसमा मानिसहरु जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर गीत गाउँछन । टोली नाइकेले लय हालेर भट्टयाउने गर्छन् भन् सहभागीहरूले देउसी रे घन्काउँदै सामूहिक रूपमा नाँच्ने चलन पनि छ ।

देउसी खेल्ने क्रममा छिमेकीहरुले दक्षिणा तथा मिठामिठा परिकार दिन्छन् । अयोध्यावासीहरूले आफ्ना परम प्रिय राजा भगवान रामचन्द्रको आगमनमा खुसीयालीमा सबैभन्दा पहिले देउसी मनाएको मानिन्छ । श्रीरामको स्वागतमा अयोध्यावासीहरूले घिउका दियाहरू बालेका थिए । कार्तिक मासको बाक्लो कालो अमावस्याको त्यो रात्रि दियाहरूको उज्यालोले जगमगाएको थियो । मानिसहरूले घर-घरमा, गल्ली-गल्लीमा “देव श्रीराम” (हाम्रा राम देउता हुन्)को नारा लाउँदै घुमेको विश्वास गरिन्छ । देव श्रीरामबाट विकृत हुँदै “देउसिरी राम, देउसिरे ,देउसी” भएको अनुमान गरिन्छ सोही परम्पराको निरन्तरता स्वरुप आजसम्म पनि यो चलन मान्दै आइएको छ ।

देउसीसँग जोडिएको अर्को कथा पनि छ । एक जना बलि भन्ने राजा पृथ्वीमा राज्य गर्थे, उनी अति नैं दानी थिए, प्रत्येक दिन दान नगरी उनी केही खादैन थिए । यस पुण्यको प्रतापले स्वर्गादी लोकहरू हल्लिन थाले र देवताहरूले भगवान् विष्णुको प्रार्थना गरे जसमा विष्णुले बलिलाई दमन गरी पाताल पुर्याउने आश्वासन दिए । त्यसपछि बाह्मणको रुप लिएर बलिलाई छल्न विष्णु त्यहाँ गए र तीन पाउ जमिन दानको याचना गरे यसमा बलिले सोचे यो ब्राह्मण त्यसै सानो छ र यसका पाउहरू पनि अति साना छन् र यसले अति थोरै जमिन माग्यो सोचे । तर बलिले दान संकल्प के सकेका थिए ब्राह्मणको रुप विराट भयो र एउटै पाउले समस्त पृथ्वी ढाकिदियो र अर्को पाउले आकाश त्यस पछि तेस्रो पाउ भरिको जमिन कहाँबाट दिने भनी बलि अन्योलमा परे र उनले आफ्नो टाउको थापे, शिरमा विष्णुको पाउ पर्ना साथ बलि भासिएर पाताल पुगे, अन्त्यमा विष्णुसित उनले प्रार्थना गरे कि उनलाई वर्षमा एक पल्ट तिहारको बेला पृथ्वी घुम्ने अवसर दिइयोस्, यस प्रार्थनालाई स्वीकारेर बलिलाई वर्षमा एकपल्ट आउने अनुमति दिए । राजा बलि यहि तिहारको मौकामा घुम्न आउँछन् भन्ने विश्वास गरी बलिको स्वागतमा दीप जलाइएको भन्ने पनि भनाई छ । सोहीकारण देउसेहरू बलि राजा आउन नभ्याएको र उनीहरूलाई बलिले पठाएको भनी देउसी भट्याउनेले भन्छन् ।

देउसी रे गीत

आहै भन मेरा भाई हो देउसी रे

आहै राम्ररी भन देउसी रे

आहै स्वर मिलाई भन देउसी रे

आहै झिलिमिली झिलिमिली देउसी रे

आहै के को झिलिमिली देउसी रे

आहै बत्तीको झिलिमिली देउसी रे

आहै फूलको झिलिमिली देउसी रे

आहै राम्ररी भन देउसी रे

ए रातो माटो देउसी रे

चिप्लो बाटो देउसी रे

आहै लड्दै पड्दै देउसी रे

ए आएका हामी देउसी रे

देउसी रे खेल्न देउसी रे

आहै झिलिमिली झिल्ला देउसी रे

आहै तातो रोटी मिल्ला देउसी रे

आहै हामी त्यसै देउसी रे

आएका हैनौ देउसी रे

बलिमा राजा देउसी रे

हुकुमले गर्दा देउसी रे

आएका हामी देउसी रे

आहै भन मेरा भाई हो देउसी रे

आहै राम्ररी भन देउसी रे

आहै स्वर मिलाई भन देउसी रे

सुदूरपश्चिम प्रदेश प्रमुखसमक्ष दलित आयोगको प्रतिवेदन पेश

कैलाली ।  राष्ट्रिय दलित आयोगले सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ  ।

May be an image of 3 people and text
आयोग सदस्य मिनादेवी सोवले आर्थिक वर्ष २०८०\०८१ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गरेकी थिइन् । उक्त प्रतिवेदनमा दलित आयोगले गरेका प्रगति, आइपरेका चुनौती र आवश्यक सुझाव समेटिएका छन् । प्रतिवेदन पेश गर्दै उनले प्रदेशमा अझै  दलित हक अधिकार स्थापित हुन् नसकेको स्मरण गराएकी थिइन् ।
उनले प्रदेश सरकारले ल्याएको दलित सशक्तीकरण ऐन कार्यान्वयनमा नआउँदै संशोधनको तयारी गरेकोमा पनि असन्तुष्टि व्यक्त गरेकी थिइन् । उनले उक्त विधेयक संशोधन गरेर सरकारले दलित समुदायलाई लिने अधिकार थप कटौती गर्न खोजेको आरोप लगाइन् ।

May be an image of 4 people, dais and text
प्रतिवेदन बुझ्दै प्रदेश प्रदेश मियाँले दलित समुदायको अधिकार स्थापित गर्न आफूले सक्दो सहयोग गर्ने बताएका थिए । सुदूरपश्चिम प्रदेशमा क्रमिक रुपमा दलित अधिकारका विषयमा आवाज उठ्ने क्रम बढिरहेको भन्दै अझै सचेतना आवश्यक रहेको बताए ।  प्रदेश प्रमुख मियाँले कानुन कार्यान्वयनमा सबैले जोड दिनुपर्ने बताएका थिए ।

May be an image of 4 people and text
उनले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय मार्फत प्रतिवेदन छलफलको लागि प्रदेश सभामा पठाउने बताए । उक्त कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव उषा भट्ट प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली लगायत उपस्थित रहेका थिए ।
May be an image of 9 people and text

सिके राउतको प्रस्ताव- प्रत्यक्ष निर्वाचित कार्यकारी गरौँ

कैलाली । जनमत पार्टी नेपालका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. सिके रावतले देशमा नौला गणतन्त्र आवश्यक रहको भन्दै शासन व्यवस्थाको विषयमा छलफल गर्नु पर्ने बेला आएको बताएका छन् ।

घोडाघोडी बहुमुखी क्याम्पसले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका विषयमा नयाँ खाका प्रस्तुत गरेका थिए ।

‘पार्टीको ह्विप नलाग्ने व्यवस्थाको माग गरेका छौँ उनले भने, ‘कार्यपालिमा घुमिफिरी यिनै तीन चार जना प्रधानमन्त्री बन्छन्, यिनै मन्त्री बन्छन् यसरी देश अगाडि बढ्न सक्दैन , जनताको माग मुद्दा सम्बोधन भइरहेको छैन ।

उनले व्यवस्थापिकामा ह्विप जारी नहुने त्यहाँबाट मन्त्री पनि बन्न नपाउने व्यवस्थाको आवश्यकता रहेको बताएका थिए ।उनले सङ्घ र प्रदेश दुबैमा प्रत्यक्ष निर्वाचित कार्यकारी हुँदा स्थिर सरकार बन्ने दाबी गरे ।

उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी ल्याऊँ, प्रदेशमा पनि त्यहि गरौँ । प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुँदा कसैले पाँच बर्ष हल्लाउन सक्दैन । स्थानीय तहका जनप्रतिनिधिहरूलाई ढुक्क छ प्रदेश र सङ्घमा पनि त्यस्तै गरायौँ भने देश विकास हुन्छ ।’

संवैधानिक निकायमा हुने नियुक्तिका विषयमा पनि गम्भीर हुनुपर्ने अवस्था रहेको उनले बताएका थिए ।

‘न्यायपालिका स्वतन्त्र हुनुपर्छ । अन्य संवैधानिक निकाय प्रमुखमा पनि जनताले निर्वाचित गर्ने व्यवस्था गर्नु पर्छ । जनतासँग जिम्मेवार हुन्छन् त्यसो हुँदा जो कोहीको फायल खोल्न सक्छन्’, उनले भनेका थिए ।

आर्थिक नीतिमा पनि पुनर्विचार गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

‘सरकारी विद्यालय अस्पताल राम्रा भएका छैनन् । यो कुराले गर्दा जनताले दुख पाएका छन् । लगानी मैत्री वातावरण बनाउनु पर्छ यसले देशको विकास हुन्छ’, उनले भने ।

मधेश प्रदेशमा अहिले आफ्नो पार्टीले नेतृत्व पाएपछि केही सुधारका सङ्केतहरू देखिएको उनले बताएका थिए ।
‘मधेश सरकारको प्राथमिकतामा शिक्षा रहेको छ। सबैभन्दा धरै गरिबी रहेको छ । यो बिचमा अझै धेरै गर्नु छ’ उनले भने, ‘ प्रदेश साक्षरता कार्यक्रम ल्याएका छौँ । त्यसले प्रदेशको शिक्षामा सुधार गर्ने छ ।’

डा. रावतसँग शिक्षा नीति र वर्तमान अवस्थाबारे स्थानीयले अन्तरक्रिया समेत गरेका थिए ।

कार्यक्रममा उपस्थित नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गा चौधरीले आफूले आफ्नो निर्वाचन क्षेत्रको विकासमा जोड दिएको बताएका थिए ।

त्यस्तै, कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि मुलुकको शिक्षा अवस्था दयनीय बन्दै गइरहेको भन्दै युवा पलायन रोक्न सरकारले ठोस कमल चाल्न आवश्यक रहेको बताएका थिए

रास्वपाको दोहोरो चरित्र, रवि पक्राउविरुद्ध सडकमा आन्दोलन, बालुवाटार पुगेर हारगुहार

सहकारी ठगी प्रकरण २ कात्तिकमा पक्राउ परेपछि रास्वपा सभापति रवि लामिछानेले भनेका थिए, सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो। पोखराका सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि अहिले कास्की प्रहरीको हिरासतमा छन्। तर, पक्राउ पर्ने वितिक्कै रास्वपाले सडक आन्दोलन थालेको थियो। रास्वपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकविरुद्ध चर्का नारा लगाए।

तर, पोखरा आन्दोलनमा जनताले साथ नदिएपछि काठमाडौं फर्किएका रास्वपा नेताहरुले गत शुक्रबार काठमाडौंमा प्रदर्शन त गरे। तर, यहाँ पनि उल्लेख्य सहभागिता हुन नसकेपछि रास्वपा विखलबन्दमा परेको छ। हुन् त फौजदारी अभियोगमा पक्राउ परेका अनि अदालतले अनुसन्धानका लागि हिरासतमा अनुमति दिएकालाई आन्दोलनका भरमा छुटाउन पनि मिल्दैन।

रास्वपाले सडक आन्दोलन गरेपनि बालुवाटारदेखि सिंहदरबार गएर हारहुगार गरिरहेको छ।

कार्यवाहक सभापति नपाए पनि कार्यवाहक जसरी नै सक्रिय रहेका उपसभापति डिपी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार र गृहमन्त्री रमेश लेखकलाई सिंहरबारमा भेट गरेका छन्। उनी दिउँसो सडकमा सरकारविरुद्ध आन्दोलन गर्ने र साँझ भने सरकारी अधिकारीलाई भेट गरिरहेका छन् । गृहमन्त्री लेखकबाट सकारात्मक प्रतिक्रिया नपाएपछि उनी बालुवाटार पुगेका थिए।

तर, आइतबार भएको भेटमा प्रधानमन्त्री ओलीले पनि तत्काल केही गर्न नसकिने जवाफ दिएका छन्। ओलीले ‘अहिले मुद्दा फिर्ता लिने अवस्था पनि नरहेको र मुद्दा अदालती प्रक्रियामा प्रवेश गरिसकेकोले केही गर्न नसकिने बताएका थिए।

उपसभापति अर्यालले भने रविलाई छुटाउने वातावरण बनाइदिन आग्रह  गरेका थिए। अर्यालले प्रधानमन्त्री ओलीसँग ‘भनेका थिए, ‘तपाईंले नै हुकाईदिएको पार्टी हो, भोलिका दिनमा तपाईंले भनेअनुसार नै हुन्छ,  अहिले रविलाई छुट्ने वातावरण मिलाइदिनुपर्‍यो।’

प्रधानमन्त्री ओलीसँग रास्वपा नेताहरुको भेटबारे एमाले केन्द्रीय सदस्य विष्णु रिजालले पनि खुलासा गरेका छन्। ‘दिनभर व्यक्तिगत रुपमा गालीगलौज गरेर राती–राती कुन मुखले हारगुहार गर्न सकेको भन्दै उनले टिप्पणी गरेका छन्। उनले लेखेका छन्, ‘दिनभरि प्रधानमन्त्रीविरुद्ध व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शब बनाएर दाहसंस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राती–राती कुन मुख लिएर बालुवाटारमा कुरेर ‘रविजीलाई बचाइदिनुपर्यो, लौ न’ भनेर हारगुहार गर्दा हुन् ?’, उनले फेसबुकमा लेखेका छन्, ‘यति हेक्का राखे हुन्छ– राजनीतिमा धैर्य र इमान चाहिन्छ। जे गर्छ, कानुनले गर्छ । डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरेजस्तो उहाँले चाँहदैमा मुद्दा फिर्ता सम्भव हुन्न।’

पछिल्लो पटक रास्वपा सभापति लामिछाने पक्राउ परेपछि रास्वपाले त आन्दोलन गरिरहेकै थियो। तर, अस्थिरता बढाउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आन्दोलन थालेका छन्। माओवादीले शनिबार काठमाडौंमा प्रदर्शन गरेको थियो। आन्दोलन बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असामाजिक क्रियाकलापहरु फस्टाउन नदिइने बताएका छन्।

मंगलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले विभिन्न शक्तिहरु नेपाली मनलाई विभाजित गर्न खोजेका बताए। ‘विभिन्न नाममा नेपाली मनहरुलाई विभाजित गर्ने, साम्प्रदायिक विद्वेष अथवा अरु प्रकारका क्रियाकलापहरु अराजकता, संविधान विपरीतका क्रियाकलापहरु र कानुन विपरीतका क्रियाकलापहरु, असामाजिक क्रियाकलापहरु, अराजकता मच्चाउने खालका क्रियाकलाप र प्रयासहरु भइरहेका छन्। हामीले कुनै पनि हालतमा यस्ता असामाजिक क्रियाकलापहरुलाई मौलाउन, फस्टाउन पनि दिँदैनौं’, उनले भने।

यू-१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम र मधेश प्रदेश विजयी

काठमाडौँ — विराटनगरमा भइरहेको नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र मधेश प्रदेश विजयी भएका छन् । मंगलबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको कर्णालीले ५० ओभरमा ३०.५ बलमा सबै विकेट गुमाई ७४ रन बनायो । कप्तान मनीष थापाले सर्वाधिक ४२ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरका नरेन साउद एक्लैले ५ विकेट विकेट लिए । उनले ९ ओभरमा ४ मेडन ओभर गर्दै ९ रनमात्र दिए । उनी नै प्लेयर अफ म्याच भए ।

७५ रनको लक्ष्य पाएको सुदूरले १८.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पार गरेको थियो । सुदूरका नरेन भट्टले २८ र युवराज खत्रीले २३ रन जोडेका थिए । कर्णालीका युनिस ठकुरीले ३ विकेट लिए । सुदूरको २ खेलमा २ अंक छ भने कर्णाली दुवै खेलमा पराजित छ ।

मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा मधेशले वाग्मती प्रदेशलाई ४६ रनले हरायो । टस हारेर ब्याटिङ गरेको मधेशले ४६.३ ओभरमा सबै विकेट गुमाई १ सय ४२ रन बनायो । मधेशका इमरान शेखले ५४ रन बनाए । वाग्मतीका दयानन्द मण्डलले ३ विकेट विकेट लिए । १ सय ४३ रनको लक्ष्य वाग्मती ३९.४ ओभरमा सबै विकेट गुमाएर ९६ रनमात्रै बनाउन सक्यो ।

रिन्जिन लामाले सर्वाधिक ३५ रन बनाए । मधेशका राजेश यादव र अफ्रुद्दिन रैनले समान ३ विकेट लिए । प्लेयर अफ द म्याच मधेशका इमरान शेख भए । मधेशले ३ खेलमा २ खेल जितेर ४ अंकसहित दोस्रो स्थान छ भने वाग्मतीको २ खेलमा १ खेल जितेर पाँचौं स्थानमा छ ।

बुधबार बैजनाथपुरमा लुम्बिनी र कर्णाली प्रदेश तथा मेरिलिबोन मैदानमा कोशी र गण्डकी प्रदेश भिड्नेछन् ।

विश्वकप लिग-२ : नेपालले स्कटल्यान्डलाई ५ विकेटले हरायो

काठमाडौँ — नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत मंगलबार स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ ।   अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्यान्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटिएको थियो ।

स्कटल्यान्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल कामी, गुल्सन झाले २/२ विकेट तथा आरिफ शेखले एक विकेट लिए । स्कटल्यान्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् ।

स्कटल्यान्डले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २९ दशमलव पाँच ओभरमा पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए । साथै कुशल भुर्तेल र गुल्शन झाले २५/२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए ।

स्कटल्यान्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट लिए । साथै ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १/१ विकेट लिए । लिग–२ अन्तर्गत शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्यान्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।

ओलीको राष्ट्रवाद नाङ्गिदै छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद एक पछि अर्को घटनाले नङग्याएको बताएका छन । समाजमा आफुलाई राष्ट्रवादी देखाउने तर व्यवहारमा ओली राष्ट्रघाती रहेको साहको टिप्पणी छ ।

२०७२ सालको भुकम्प पछि भारतको अघोषित नाकाबन्दीका बेला राष्ट्रवादको हुङकार लगाउदै नेपाली राजनीतिमा ओली लोकप्रिय बनेका थिए । तर वास्तविकतामा भने ओली दलाल व्यवसायी र बिदेशी जनताको हितमा काम गर्ने प्रवृत्तिका रहेको साहको ब्याख्या छ ।

उदाहरणको रुपमा गैरआवासीय नेपाली नागरिकको माग र त्यसलाई दिएको महत्त्वलाई देखाएका छन ।

“केपी ओली गैरआवासीय नेपाली नागरिकलाई बंशजको नागरिक दिनुपर्ने मागमा सकारात्मक देखिन्छन । जो यो देशको नागरिकता त्यागेर बिदेशी भयो त्यसलाई नेपालको बंशजको नागरिकता दिनुपर्ने ? नेपालको पैतृक सम्पत्तिलाई चोर बाटोबाट बिदेश पुर्याऊनेहरुलाई देश बिकासका संबाहक देखने प्रधानमन्त्री कसरी राष्ट्रवादी ?” आज पत्रकारहरुसंगको भेटमा आजपा अध्यक्ष साहले ओलीमाथी टिप्पणी गरेका हुन ।

गत आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए) ग्लोबल कन्क्लेभ तथा वार्षिक साधरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि गैरआवासीय नेपालीको भुमिका रहेको बताए ।

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीलाई नागरिकता नै दिए पनि त्यसको उपयोग हुन नसकेको बताए । अहिले नागरिकता बोकेर कुनै सरकारी कार्यालयमा पुग्दा कुनै अधिकार नपाएकोप्रती आफू जानकार रहेको बताए । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘संविधानमै भएको व्यवस्था कार्यन्वयन गर्न आवश्यक संसोधन आगामी अधिवेशनमा संसदमा लैजान सक्छौँ।’

संविधान अनुसार गैरआवासीय नेपालीले नागरिकता पाउन थालिसके । संविधानत गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेपछि आर्थिक, सामाजिक र सास्कृतिक अधिकार पाउछन् । नेपालमा सम्पती जोड्न, भएको वा जोडेको सम्पती बेचबिखन गर्न, ब्यापार/व्यावसाय गर्न, लगानी गर्न, नाफा लैजान पाउछन् । गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले निर्वाचनमा मतदान गर्न र उम्मेदवार हुन मात्रै पाउदैनन् । पछिल्लो समय प्रधानमन्त्री ओली बंशजको नागरिकता दिनुपर्ने एनआरएनएको माग छ । यो माग पूरा भए चुन्न र चुनिने अधिकार पनि प्राप्त गर्दछन । एनाअरएनएको यस्तो मागमा आफू सकारात्मक रहेको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो राष्ट्रवादको छवि उदाङ्गो पारेको आजपा अध्यक्ष साह बताउँछन् ।

“देशको प्राकृतिक स्रोत बिदेशीलाई दिने । सरकारी उद्योगलाई निजीकरण गर्ने र हुदा हुदा एनाआरएनएलाई बंशजको नागरिकता दिने आश्वासन दिने कुराले ओली कति राष्ट्रवादी भन्ने देखाएको छ” साहले भने । सत्ताका लागि ओलीको यस्तो कार्यमा सत्तारुढ दलहरू मौन रहने गरेको उनको टिप्पणी छ ।

कोलोराडोमा दशैं–तिहार शुभकामना साँझ सम्पन्न

कोलोराडो, २९ अक्टोबर ।

रक्की माउण्टेन फ्रेन्डस अफ नेपालको आयोजनामा शनिवार कोलोराडोमा दशैं-तिहार शुभकामना साँझ सम्पन्न भएको छ ।

प्रमुख अतिथि रक्की माउण्टेन फ्रेन्डस अफ नेपाल पूर्व अध्यक्ष धर्मराज श्रेष्ठ र बिशिष्ट अतिथि ज्योतिष बिहंगम राज तिमिल्सेनाले पानसमा बत्ती लागेर संयुक्त रुपमा उद्घाटन गरिएको शुभकामना साँझको शुरुवातमा सहभागीहरुले नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएका थिए ।

कार्यक्रममा दशैं तथा दीपावलीको शुभकामना दिदै प्रमुख अतिथि श्रेष्ठ र बिशिष्ट अतिथि तिमिल्सेनाले कोलोराडोमा नेपाली, भाषा, संस्कृति र परम्पराको जगेर्नाका लागि रक्की माउण्टेन फ्रेन्डस अफ नेपालले खेलेको भूमिकाको प्रशंसा गरे ।

संस्थाका अध्यक्ष अर्जुन बगालेले रक्की माउन्टेण्न फ्रेन्डस अफ नेपालले कोलोराडामा नेपाली भाषा, संस्कृति, परम्पराको संरक्षण र सम्बद्र्धनका लागि बिभिन्न कार्यक्रम आयोजना गर्दै आएको बताए ।

उनले दशैं तथा दीपावलीको शुभकामना दिदै कार्यक्रममा उपस्थित भएकोमा सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिए ।

कार्यक्रममा हालै नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा अन्तरदेशीय पुरस्कार २०८० बाट सम्मानित अनेसास बोर्ड अफ ट्रष्टिका अध्यक्ष पदम बिश्वकर्मालाई बधाई सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा भारतीय गायिका क्विन्सी चेट, गायक मनिष विश्वकर्मा, सम्झना पाण्डेय, मनोजराज सिवाकोटीले गीत गाएर सहभागीहरुलाई मन्त्रमुग्ध गरेका थिए । कार्यक्रममा बालकलाकारहरुले समेत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

रक्की माउण्टेन फ्रेन्डस अफ नेपालका अर्जुन अध्यक्ष बगालेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव आकृती राई अधिकारी र कल्चर सेक्रेटरी निशा पाठकले सञ्चालन गरेकी थिईन।

उत्तर कोरियाले तालिमका लागि १० हजार जना सैनिक रुसमा पठायाे : अमेरिका

काठमाडौँ, १३ कात्तिकः इन्डोनेसिया र रूसले अर्को महिना आफ्नो पहिलो संयुक्त सैन्य अभ्यास गर्ने जकार्ताको सेनाले मङ्गलबार जनाएको छ ।

उत्तर कोरियाले तालिमका लागि १० हजार जना सैनिक रुसमा पठाएको अमेरिकाले दाबी गरेको छ । उत्तर कोरियाले तालिमका लागि सैनिक रुसमा पठाएको र सम्भवतः केही हप्तामै युक्रेनविरुद्ध लड्ने सम्भावना रहेको अमेरिकाले बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

यस्तै उत्तर कोरियाले रुसमा सैनिक पठाएकोप्रति दक्षिण कोरियाले चेतावनी दिँदै यो तीव्र तैनाथीले ‘महत्त्वपूर्ण सुरक्षा खतरा’ उत्पन्न गरेको बताएको खबरमा उल्लेख छ । दक्षिण कोरियाले युक्रेनविरुद्ध लड्न लामो समयदेखि उत्तर कोरियाले रुसलाई आणविक–सशस्त्र हतियार पठाएको आरोप लगाउँदै आएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेपछि उसले ठूलो सङ्ख्यामा सैनिक तैनाथ गर्न थालेको दक्षिण कोरियाको आरोप छ ।

उत्तर कोरियाले सैनिक पठाएको अस्वीकार गरेको छ । यद्यपि गएको हप्ता सरकारी मिडियामा उत्तर कोरियाली उपविदेशमन्त्रीले यस्तो तैनाथी भएमा यो अन्तर्राष्ट्रिय कानून अनुरूप हुने बताएका थिए।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले उत्तर कोरियाले ‘चाँडै’ रुसी भूमिमा १२ हजार जनासम्म सैनिक पठाउन सक्ने चेतावनी दिएका छन । जबकि अमेरिकी राष्ट्रपति जो बाइडेनले यस तैनाथीलाई ‘अत्यन्त खतरनाक’ भन्दै आलोचना गरेका छन।

यस क्षेत्रको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेसियाले युक्रेन द्वन्द्व वा वासिङ्टन र बेइजिङबीच तटस्थ विदेश नीति कायम राखेको छ ।

यद्यपि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले साहसका साथ अघि बढ्ने वाचा गर्दै गत जुलाईमा भ्लादिमिर पुटिनसँग वार्ताका लागि मस्कोको भ्रमण गरेका थिए ।

इन्डोनेसियाली सेनाले नोभेम्बर ४–९ सम्म सुराबायाको सैन्य आधार नजिकै जाभा सागरमा अभ्यास हुने जनाएको छ । अभ्यास सेनाबीचको महत्त्वपुर्ण द्विपक्षीय अभ्यास भएको इन्डोनेसियाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

इन्डोनेसियाका लागि रूसी राजदूत सेर्गेई टोल्चेनोभले अभ्यासको पुष्टि गर्दै अभ्यासले कुनै पनि प्रतिद्वन्द्वी शक्तिलाई लक्षित नगरेको बताएका छन । उहाँका अनुसार अभ्यास केवल सेनाको क्षमता बढाउनका लागि मात्र हो । पछिल्लो समयमा इन्डोनेसियाले युक्रेनमा रूसले गरिरहेको आक्रमणको शान्तिपूर्ण समाधानका लागि बारम्बार आह्वान गर्दै आएको छ ।

इन्डोनेसियाले गत हप्ता रुस, ब्राजिल, भारत, चीन र दक्षिण अफ्रिकाको नेतृत्वमा रहेको ब्रिक्सको सदस्य बन्ने प्रक्रिया सुरु गरेको विदेशमन्त्री सुगियोनोले बताएका छन ।

 

पृथ्वीमा रुखविरुवाका ३८ प्रतिशत प्रजाति लोप हुनसक्ने खतरा

काठमाडौं– विश्वभरमा रुखविरुवाका ३८ प्रतिशत प्रजाति लोप हुने खतरामा परेको एउटा रिपोर्टमा बताइएको छ । ‘इन्टरनेशनल युनियन फर कन्जरभेसन अफ नेचर’ (आईसीयूएन)ले हालै प्रकाशित गरेको रिपोर्टले विश्वभरमा रुखविरुवाका ३८ प्रतिशत प्रजाति लोप हुने अवस्थामा पुगेको देखाएको छ ।

रुख विरुवाको विलुप्तीको खतराका बारेमा प्रकाशित यो पहिलो रिपोर्ट हो । आईसीयूएनका अनुसार विश्वभरका ४७ हजार २८२ प्रजातिका रुखविरुवा मध्ये कम्तीमा १६ हजार ४२५ प्रजातिका रुखविरुवा लोप हुने अवस्थामा छन् ।

रुखविरुवाको सबैभन्दा धेरै विविधता भएको दक्षिण अमेरिकाका १३ हजार ६६८ प्रजातिमध्ये दुई हजार २५६ प्रजाति विलुप्त हुने अवस्थामा पुगेका छन् । कृषि र पशुपालन गर्न गरिने वन विनाशले रुखविरुवा संकटमा परेको आईसीयूएनको रिपोर्टले देखाएको छ । पाँच हजारभन्दा बढी प्रजातिका रुखविरुवा फर्निचरका लागि प्रयोग गर्ने गरिन्छ भने दुई हजारभन्दा बढी रुखविरुवाका प्रजातिबाट औषधि, भोजन र इन्धनका लागि उपभोग गरिन्छन् ।

उत्तरी गाजामा भएको इजरायली हमलामा ५५ जनाको मृत्यु

गाजा । गाजाको उत्तरी जिल्ला बेत लाहियाको आवासीय भवनमा म‌गलबार भएको इजरायली हमलमा ५५ जनाभन्दा बढीको मृत्यु भएको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।

मंगलबार राति बेत लाहियाकामा इजरायलले प्रहार गर्दा अबु नस्र परिवारको आवासीय भवनको भग्नावशेषमा उनीहरूको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको एजेन्सीका प्रवक्ता महमुद बासलले बताए ।

हमलामा मृत्यु भएका १५ जनाको शव कमल अदवान अस्पतालमा ल्याइएको अस्पतालका निर्देशक हुसाम अबु साफियाले जानकारी दिए । उनले घटनामा ३५ जना घाइते भएको र तीमध्ये अधिकांश बालबालिका रहेको, उनीहरुको अस्पतालमा उपचार भइरहेको बताए ।

सफियाले अस्पतालमा निरन्तर मृतक तथा घाइतेहरू आइरहेको बताउँदै कर्मचारी र औषधिको अभावका कारण अस्पतालमा बिरामीहरूको उपचार गर्न गाह्रो भइरहेको उल्लेख गरे ।

उनका अनुसार जबलियामा सैन्य कारबाहीका क्रममा अस्पतालमा आक्रमण गर्दा सेनाले चिकित्सक टोली र कामदारहरूलाई पक्राउ गरेपछि कमल अदवान अस्पतालमा प्राथमिक उपचार सामग्री बाहेक अरू केही बाँकी छैन ।

गत हप्ता गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले अस्पतालमा आक्रमण गरेको जनाएको थियो ।

गत अक्टोबरदेखि सेनाले उत्तरी गाजाका जबालिया, बेत लाहिया र बेत हानुनका क्षेत्रहरूमा व्यापक आक्रमण गरेको छ । यसलाई सेनाले हमास लडाकुलाई पुनः समूहबद्ध हुनबाट रोक्नका लागि गरेको अपरेसनका रूपमा वर्णन गरेको छ ।

मंगलबार जारी विज्ञप्तिमा सेनाले विगतका दिनमा जबलियामा धेरै आक्रमण गरेको र करिब ४० जना आतंकवादीको मृत्यु भएको जनाएको छ ।  नागरिक सुरक्षा एजेन्सीले आक्रमण सुरु भएदेखि दशौँ हजार प्यालेस्टिनी उत्तरी गाजाबाट भाग्न बाध्य भएको तथा सयौँको मृत्यु भएको रिपोर्ट गरेको छ । रासस/एएफपी

रवि लामिछानेको बयान आज पनि सकिएन

काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आज पनि पुरा भएन । रास्वपाका सभापति समेत रहेका लामिछानेलाई सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले दिनभर बयान लिए ।

उनीसँग करिब साढे ८ घण्टा बयान लिइएको हो । लामिछानेको बयान अझै पुरा नभएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले  बताए । उनले भने, ‘बयान सकिएको छैन ।’

लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका हुन् । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्वडीआईजी छविलाल जोशीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले सो सहकारीबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् । यसअघि कार्तिक ५ र ६ मा बयान दिँदै लामिछानेले आफ्नो नामबाट ऋण स्वरूप प्रवाह भएको रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा डिपोजिट भएको तथ्य अस्वीकार गरे ।

भाइटीकाको शुभ साइत आइतबार ११:३७ बजे

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ।

यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।

पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। नेवार समुदायले मनाउने किजापूजा पनि त्यसैदिन गर्नुपर्ने जनाइएको छ ।

यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि सुरू हुँदैछ। मङ्गलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ। यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको छ। कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ। आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ।

नेपाल र बंगलादेशबीच फाइनल खेलको टिकट बिक्री स्थगित

१२ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत घरेलु टोली नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि टिकट बिक्री स्थगित गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि फाइनल खेलको टिकट बिक्री स्थगित गरिएको जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको नेपाल र भारतबीच भएको सेमिफाइनलमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै त्यसको बारेमा सत्यतथ्य बुझ्न टिकट बिक्री स्थगित गरिएको एन्फाले जनाएको छ ।

एन्फाले साफ वुमन्स च्याम्पिनयसिपको लागि माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिलाई टिकेटिङको अधिकार बिक्री गरिएको थियो ।

माउन्ट एभरेस्ट इभेन्ट्सले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा टिकेटिङ अधिकार लिएको थियो । नेपाल र भारतबीचको खेलमा संघसँगको सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको एन्फाको भनाइ छ ।

धेरै टिकट बिक्री गरेको विषयमा माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग सत्य तथ्य बुझ्ने कार्य भइरहेकाले कुनै पनि माध्यमबाट टिकट बिक्री नगर्न/नगराउन एन्फाले आग्रह गरेको हो ।

दशरथ रंगशालको दर्शक क्षमता १५ हजार भएपनि आइतबारको खेलमा क्षमता भन्दा बढी दर्शक उपस्थित थिए । खेलको म्याच रिपोर्ट अनुसार दशरथ रंगशालमा १८ हजार ९ जना दर्शक उपस्थित थिए ।

रंगशालमा नेपाल र भारतको खेल हेर्न भरिभराउ दर्शक उपस्थित थिए । सिट संख्या भन्दा धेरै दर्शक प्रवेश गरेपछि रंगशालमा दर्शकको हुल थियो र उठेर पनि खेल हेरेका थिए ।

त्यसपछि एन्फाले बुधबार हुने बंगलादेश र नेपालबीचको फाइनल खेलको लागि टिकट बिक्री स्थगित गर्ने निर्णय गरेको एन्फा प्रवक्ता सुरेश शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै एन्फाले यो सार्वजनिक सूचनालाई बेवास्ता गर्दै टिकट बिक्री वितरण गरी कुनै समस्या आइपरेमा आफू जवाफदेही नहुने पनि जनाएको छ ।

साफ च्यम्पियनसिपमा समूह चरणका लागि साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० रुपैयाँको टिकटदर तोकिएको थियो भने नकआउट चरणका लागि साधारणतर्फ ५०० र भीआईपीतर्फ १००० रुपैयाँ मूल्य तय गरिएको थियो ।

टिकापुरमा ३८ वर्षपछि विमान उडान

कैलालीको टिकापुरमा आज विमान परीक्षण उडान गरिएको छ । टिकापुर नगरपालिका वार्ड नं १ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ । आज टीकापुर विमानस्थलमा नेपाल वायुसेवा निगमको‍‍‍ 9N ABU नं र तारा एयरको 9N/AEV नं को विमान परीक्षण उडान गरिएको हो ।

संस्कृती प्रयटन तथा नागरिक उडड्यनराज्यमन्त्री अरुणकुमार चौधरीले तिहार लगत्तै नियमित विमान सञ्चालन गरिने बताए । उनका अनुसार नियमित विमान सञ्चालन सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरूमा गरिनेछ । स्वर्गीय गृहमन्त्री खड्गबहादुर सिंहले वि सं २०४१ सालमा विमानस्थल सञ्चालनमा ल्याउनु भएको थियो । तीन वर्षसम्म नियमित सञ्चालनमा आएको विमानस्थल वि सं २०५२ पछिको द्वन्द्वकाल शुरू भएसँगै नियमित विमान सेवा रोकिएको थियो । झण्डै १८ बिघा जग्गामा निर्माण गरिएको उक्त विमानस्थलमा झण्डै चार दशक लाग्दै गर्दा उक्त विमान स्थलमा नियमित उडानका लागि आज नेपाल वायुसेवा निगम र तारा एयरको विमानले परीक्षण उडान गरेको छ ।

परीक्षणका लागि टीकापुर विमानस्थलमा नेपाल ऐरलायेन्सको विमानलाई लिएर क्याप्टेन मनिष विष्ट, उज्जवल सिलवाल सहित म्यानेजर ज्ञानेन्द्र भूल इन्जिनियर सम्राट प्रधान, सुरेन्द्रप्रसाद यादव, युवराज रिजाल, एयरहोस्टेज डिम्पल भट्टराई एटिसी राजु महतोसहित १२ जनाको टोली आएको थियो ।

प्रधानमन्त्रीको चीन भ्रमण मंसिर तेस्रो साता, बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा बेल्ट एन्ड रोड (बीआरआई) को फ्रेमवर्क सम्बन्धी सम्झौता हुने सम्भावना बढेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि प्राप्त करिब २६ अर्ब ऋणलाई अनुदानमा रूपान्तरण गर्न चीन सकारात्मक देखिएसँगै बीआरआई फ्रेमवर्कमा सम्झौताको सम्भावना बढेको हो।

प्रधानमन्त्री ओलीले आगामी डिसेम्बर पहिलो हप्ता चीन भ्रमण गर्नेगरी दुवै मुलुकको उच्च राजनीतिक तहमा कुराकानी भइरहेको स्रोतहरूले बताएका छन्। प्रधानमन्त्रीको चीन भ्रमण हुनसक्यो भने त्यसैक्रममा बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर हुनेछ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सम्भवतः नोभेम्बर अन्तिम हप्ता (मंसिर दोस्रो साता) चीन भ्रमणमा जानेछिन्। संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन जाने क्रममा न्युयोर्कमा चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा मन्त्री डा. राणाले अनौपचारिक निमन्त्रणा प्राप्त गरिसकेकी छन्।

मन्त्री राणाले यसै हप्ता भ्रमणको औपचारिक निमन्त्रणा आए आफू चीन भ्रमणमा जाने बताइसकेकी छन्। चीन–भारत सम्बन्धमा थप सुधारको संकेतलगत्तै परराष्ट्रमन्त्री डा. राणाबाट ‘निम्तो पाए चीन भ्रमणमा जाने’ इच्छा प्रकट भएको हो।

रुसको कजान सहरमा गत हप्ता भएको ब्रिक्स राष्ट्रहरूको शिखर सम्मेलनअघि चीन–भारतबीच सीमामा हुने गस्तीलाई सन् २०२० को गलवान भिडन्तभन्दा अघिजस्तै सामान्य अवस्थामा फर्काउने समझदारी भएको थियो।

बङ्गलादेशका राष्ट्रपतिलाई अपदस्थ गर्न दबाब

ढाका, बङ्गलादेश, १२ कात्तिक । गत अगस्टमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई हटाउन आन्दोलन गरेको समूहले बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनलाई राजीनामा दिन दबाब परेको स्थानीय सञ्चारमाध्यमहरूले सोमबार जनाएका छन् ।

‘छुप्पु’ भनेर चिनिने ७४ वर्षीय शहाबुद्दीन सन् २०२३ मा अपदस्थ पूर्वप्रधानमन्त्री हसिनाको अवामी लिगको बहुमत रहेको संसद्बाट निर्वाचित भएको थियो ।

यो पद संवैधानिक भएपनि उनको पदबाट हट्ने सम्भावनाले संवैधानिक शून्यताको डर पैदा गरेको छ ।

“राष्ट्रपतिलाई हटाउनेबारे कुनै पनि निर्णय राजनीतिक सहमतिका आधारमा हुनेछ,” हसिनाको भारत पलायनसँगै घोषणा भएको राजिनामापछि बनेको अन्तरिम सरकारका प्रेस सल्लाहकार शफिकुल आलमले सोमबार भने ।

अन्तरिम सरकारको नेतृत्व नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले ‘मुख्य सल्लाहकार’का रूपमा गरिरहेका छन्।

सरकारका प्रवक्ता सैयदा रिजवाना हसनले शहाबुद्दीनलाई हटाउने विषयमा छलफल भइरहेको बताएका छन् ।

हसनले आइतबार पत्रकारहरूसँग भने, “क्रान्तिपछि बनेको सरकारले फासीवादी सरकारले छानेको राष्ट्रपतिलाई कायम राख्ने कि नराख्ने भन्ने विषयमा विचार गर्नुपर्छ।”

“उहाँलाई हटाउनुपर्ने माग आन्दोलनको भावनासँग मेल नखाने दाबीका आधारमा आएको हो,” उनले भने।

यसै महिनाको सुरुमा शहाबुद्दीनले हसिनाको राजीनामा पत्र आफूले कहिल्यै नदेखेको बताएपछि चर्को विरोध भएको थियो ।

त्यसको केही समयपछि युनुसको सरकारमा कार्यरत विद्यार्थी नेता आसिफ नजरुलले उक्त टिप्पणी ‘उहाँ (राष्ट्रपति) को शपथको उल्लङ्घन’ भएको आरोप लगाएको थियो ।

गत हप्ता राष्ट्रपति भवनपरिसरमा आक्रमण गर्न खोज्ने सयौंको भीडसँग प्रहरीबीच झडप हुँदा ३० जना अधिकारी र प्रदर्शनकारी घाइते भएका थिए । रासस

ट्रम्प राष्ट्रपति बने बजेटमा २ खर्ब डलर कटौती हुन्छ: मस्क

वासिङ्टन डिसी । राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भए भने अमेरिकाको संघीय बजेट दुई ट्रिलियन डलर (दुई खर्ब)ले कटौती हुने अमेरिकी खर्बपति व्यापारी एलन मस्कले बताएका छन् । यसबाट सर्वसाधारणलाई फाइदा हुने उनको भनाइ छ । न्युयोर्कमा आयोजित ट्रम्पको ‍चुनावी र्‍यालीमा मस्क सहभागी भएका थिए । यसै क्रममा मस्कले बजेटमा ठुलो कटौती हुने धारणा राखेका हुन् ।

तपाईँहरूको पैसा बर्बाद भइरहेको छ– मस्क

न्यूयोर्कको म्याडिसन स्क्वायर गार्डेनमा आयोजित ‍र्‍यालीमा आफ्नो सम्बोधनमा मस्कले भने, ‘तपाईँहरूको पैसा बर्बाद भइरहेको छ । हामी तपाईँमाथि सरकारको बोझ कम गर्नेछौँ र जनतामाथि बजेटमा करको बोझ पनि घटाउँनेछौँ।’  आफ्नो सरकार बनेमा सरकारी खर्च कटौती गर्ने र यसका लागि ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी’ नामक विभाग बनाउने घोषणा ट्रम्पले गरेका छन् । ट्रम्पले यस विभागको प्रमुख मस्कलाई बनाउने घोषणा गरेका छन् । यही कारणले मस्कले खर्च कटौती जस्ता ठुला वाचा गरिरहेका हुन् । न्यूयोर्कको ‍र्‍यालीमा मस्कलाई संघीय बजेटमा कति कटौती गर्न सकिन्छ भनेर सोधिएको थियो, जसमा मस्कले करिब २० खर्ब डलर भनेका थिए ।

कटौतीले मस्क आफैँलाई पनि हुनेछ घाटा

मस्कले बजेटमा ठुलो हुने बताएपनि यो घोषणाले मस्कलाई नै घाटा हुन सक्ने आलोचकहरूको भनाइ छ । मस्कका कम्पनीहरू टेस्ला इंक र स्पेसएक्स अमेरिकी सरकारले संघीय ठेक्का दिएको कम्पनीमा पर्दछन् । यस अन्तर्गत अमेरिकी सरकारले यी कम्पनीहरूलाई करोडौँ डलर सहयोग उपलब्ध गराइरहेको छ ।

मस्कले बजेटमा कटौतीको घोषणा गरेपछि उनको कम्पनीलाई प्राप्त हुने सरकारी रकममा असर पर्न सक्नेछ । अर्को रोचक कुरा के छ भने अमेरिकाको वार्षिक बजेट करिब ६७ खर्ब ५० अर्ब डलर छ । मस्कले आफ्नो बजेटको दुई तिहाइ अर्थात् २० खर्ब डलर कटौती गर्ने ठुलो घोषणा गरेका छन् ।

ट्रम्पले आफ्नो सम्बोधनमा कयौँ कल्याणकारी कार्यक्रम सुरु गरेर सर्वसाधारणलाई आर्थिक सहयोग गर्ने घोषणा पनि गरेका छन् । सरकारले बजेटमा ठुलो कटौती गरेमा घाटा बढ्ने अर्थविद्हरू बताउँछन् ।

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ११६ पुग्यो, ३९ अझै वेपत्ता

मनिला, १२ कात्तिक । गत हप्ता फिलिपिन्समा आएको ट्रामी नाम दिइएको आँधीले निम्त्याएको बाढी तथा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११६ जना पुगेको छ । आँधीका कारण ३९ जना अझै बेपत्ता रहेको फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन परिषद्ले सोमबार जनाएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार ट्रामीले फिलिपिन्सका १७ वटा क्षेत्रमा ६७ लाखभन्दा बढी मानिसहरूलाई प्रभावित बनाएको छभने अझै बाढी पहिरोका प्रभावितहरूको खोजी कार्य जारी रहेको छ ।

यस वर्ष फिलिपिन्समा आएका चक्रवातमध्ये ट्रामी ११ औँ चक्रवात हो र यसले विशेष गरी बिकोल, क्यालाबारजोन र मध्य तथा दक्षिणी फिलिपिन्सका क्षेत्रहरूमा तुलनात्मक रुपमा बढी क्षति गरेको भएपनि फिलिपिन्सभरि प्रभाव पारेको थियो । आँधीसँगै आएको बाढीले राजमार्ग , पुललगायतका संरचना ध्वस्त पारी यातायात अवरुद्ध भएको छ ।

शुक्रबार ट्रामी फिलिपिन्सबाट बाहिरिए पनि पीडितहरू अझै खाना, पानीलगायतका आधारभुत आवश्यकता आपुर्तिको पर्खाइमा रहेका छन् । शनिबारदेखि बाढीपहिरोको प्रवाव कम भएपछि केही पीडितहरू आफ्नो घर फर्कन थालेका छन् ।

यद्यपि, परिषद्ले करिब दश लाख विस्थापितहरू अझै पनि निकासी केन्द्रमा वा आफन्तहरूसँग बसिरहेको जनाएको छ ।

चक्रवात ट्रामीले पूर्वाधारमा अनुमानित क्षति २६.३५ मिलियन अमेरिकी डलर तथा कृषिमा ४३ मिलियन अमेरिकी डलर बराबरको क्षति पुगेको जनाइएको छ ।

फिलिपिन्सले अर्को उष्णकटिबन्धीय चक्रवात, कङ–रेको सामनाको तयारी गरिरहेको छ, जुन लुजन टापुबाट ७५५ किलोमिटर पूर्वमा फिलिपिन्स सागरमा सोमबार बिहान अवतरण भएको छ । यो चक्रवात पनि तीव्र गतिसहित आउने हुँदा विनासकारी बन्नसक्ने मौसम विभागले चेतावनी दिएको छ । रासस

वनमन्त्री शाहीले जैविक विविधता अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कोलम्बियामा जारी जैविक विविधता महासन्धिसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–१६) लाई आज सम्बोधन गर्ने भएका छन् ।

वन वातावरण मन्त्रिस्तरीय बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनले आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए । कोलम्बियाको काली सहरमा यही अक्टोबर २६ देखि ३१ तारिखसम्म हुने सम्मेलनमा मन्त्री शाहीले आज र भोलि अक्टोबर २९ तारिखमा हुने उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उनले ‘प्रकृति र शान्ति’ तथा ‘जैविक विविधता र वित्त’ विषयका दुई सत्रका छलफललाई सम्बोधन गर्नुहुनेछ । मन्त्री शाही यही कात्तिक १७ गते स्वदेश फर्कने कार्यक्रम छ ।

 

वैदेशिक रोजगारीको क्रममा मृतकका परिवारको क्षतिपूर्ति रकम वृद्धि

काठमाडौं । सरकारले वैदेशिक रोजगार नियमावली संशोधन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८५ ले दिएको अधिकार प्रयोग गर्दै वैदेशिक रोजगार नियमावली, २०६४ लाई छैटौ संशोधनमार्फत संशोधन गरेको हो ।

संशोधित व्यवस्थाअनुसार वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाका परिवार तथा आफन्तले यसअघि ७ लाख क्षतिपूर्ति पाउँदै आएकोमा अब १० लाख पाउने भएका छन् ।

नियमावलीको नियम २८ मा संशोधन गर्दै यसअघि उपलब्ध गराउँदै आएको ७ लाखलाई १० लाख बनाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द्रप्रसाद निरौलाले जानकारी दिए ।

उनका अनुसार नियमावली संशोधन भएको सूचना राजपत्रमा प्रकाशित भइसकेको र कार्यान्वयन प्रक्रियामा अघि बढिसकेको छ ।

महसुल नतिरे विद्युत् चोरीको कसुरमा कारबाही हुनसक्छ : पुन

काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सर्वसाधारण जनतालाई १८ घण्टासम्म लोडसेडिङमा राखेर २४सै घण्टा विद्युत् उपभोग गरेका उद्योगीले डेडिकेटेड र ट्रंक लाइन सेवा प्रयोग गरे बापतको विद्युत् महसुल तिर्न अटेरी गरेकामा आपत्ति जनाएका छन् ।

डेडिकेटेड र ट्रङ्क लाइन विवादबारे सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुनले विद्युत प्राधिकरणको नियमावली अनुसार महसुल तिर्न अटेरी गर्ने उद्योगीमाथि विद्युत चोरीको कसुरमा कारबाही हुन सक्ने चेतावनी दिएका छन् ।

पुनले उद्योगीहरूलाई बिना अर्घेल्याइँ तोकिएको महसुल तिर्न आग्रह गर्दै एकै पटक नसके नियमानुसार किस्ताबन्दीको सुविधा प्रयोग गर्नसमेत सुझाएका छन् ।

अधिकांश सार्वजनिक संस्थान धराशायी अवस्थामा रहेका बेला नेपाल विद्युत प्राधिकरणलाई आफूहरूले मुलुककै शान र गर्व गर्न लायक संस्था बनाएको भन्दै पुनले यो मन नपराउने तत्वहरूले पटकपटक प्राधिकरणलाई कमजोर र धराशायी बनाउने असफल प्रयास गर्दै आएको आरोप लगाए ।

यो पटक पनि त्यही प्रयासको नयाँ संस्करणका रुपमा घटनाक्रमहरू सतहमा आएकाले पूर्व ऊर्जामन्त्रीरअर्थमन्त्री, प्रमुख प्रतिपक्षी दलको जिम्मेवार सदस्य र जनप्रतिनिधिका हैसियतले जनचासोको यति गम्भीर र अहम् सवालमा मौन बस्नु उचित नहुने ठानेर आफ्ना धारणा सार्वजनिक गरेको पुनले बताए ।

डेडिकेटेड र ट्रङ्क लाइनको विद्युत सुविधा लिएका उद्योगीहरूले बाँकी महसुल नतिरेका कारण नेपाल विद्युत प्राधिकरणले लाइन काटेपछि सरकारका जिम्मेवार व्यक्ति र उद्योगीहरूको प्रतिक्रियाले आफूलाई आश्चर्यचकित तुल्याएको उनको भनाइ छ ।

बक्यौता महसुल तिर्ने कि नतिर्ने भन्ने विवाद नै व्यर्थ र अनुचित रहेको उल्लेख गर्दै पुनले विवादबारे बुझ्न त्यसको सुरुआत कसरी भएको थियो भन्ने जान्न जरुरी रहेको उल्लेख गरेका छन् ।

इसराइलले जबाफी हमला गर्‍यो, इरानले के गर्ला?

अक्टोबर १ मा इरानले गरेको हमलाको जबाफ इसराइलले शनिबार दिएको छ।

इरानले इसराइलमाथि १८० भन्दा बढी ब्यालेस्टिक मिसाइलहरू प्रहार गरेको थियो। यसको बदलामा इसराइलले शनिबार बिहानै इसराइल र इरानको बीचमा रहेको सिरिया र इराकमा इरानद्वारा सञ्चालित समूहहरूमाथि पनि हमला गरेको छ।

इसराइलले सय वटाभन्दा बढी लडाकु विमान, जासुसी विमान, हावामै तेल भर्ने विमान र ड्रोनहरू प्रयोग गरी इरान, सिरिया र इराकका करिब बीस ठाउँमा हमला गरेको छ। खासगरी मिसाइल बनाउने कारखाना, एयर डिफेन्स सिस्टम लगायत सैनिक इलाकाहरूमा प्रहार गरेको छ।

इसराइललाई इरानमा आक्रमण गर्न जोर्डनले आफ्नो आकाश प्रयोग गर्ने अनुमति दिएको थिएन। त्यसैले ती विमानले जोर्डन छलेर सिरिया हुँदै उडान भरेका थिए। सिरिया र इराकको आकाश प्रयोग गर्नकै लागि त्यहाँ पनि इसराइलले प्रहार गरेको मान्न सकिन्छ।

तेहरान, खुजेस्तान र इस्लाम प्रान्तमा हमला भएको इरानले जनाएको छ। धेरै जसो प्रहार विफल पारेको दाबी गर्दै केही क्षति पुगेको इरानले स्वीकार गरेको छ। चार इरानी सैनिक सहिद भएको पनि जनाएको छ।

इसराइलले भने इरानको आधुनिक एयर डिफेन्स सिस्टम लगभग ध्वस्त पारेको दाबी गरेको छ। इरानी एयर डिफेन्स सिस्टमले भेट्नेभन्दा टाढा, इराकबाटै प्रहार गरिएका व्यालिस्टिक मिसाइलले इरानी डिफेन्स सिस्टम नष्ट भएको इसराइली सुरक्षा स्रोतहरूको हवाला दिँदै द इकोनोमिस्टले लेखेको छ।

इरानको रूस-निर्मित एयर डिफेन्स सिस्टम साँच्चै ध्वस्त भएको हो भने भविष्यमा हमला गर्न इसराइललाई अझ सजिलो हुनेछ।

युक्रेनसँग युद्ध जारी भएकाले रूस आफैलाई एयर डिफेन्स सिस्टम चाहिन्छ। उसले तुरून्तै इरानको डिफेन्स सिस्टमलाई दुरूस्त बनाउन मद्दत गर्न सक्दैन। भविष्यमा इसराइली लडाकु विमानले इरानको अझै भित्र पसेर बिना कुनै रोकतोक प्रहार गर्न सक्ने छन्।

इरानको मिसाइल कारखानाका १२ वटा ‘प्लानेटरी मिक्सर’ मा पनि इसराइलले प्रहार गरेको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ। यी जटिल मिक्सर चीनबाट ल्याउनुपर्ने भएकाले फेरि जडान गर्न कम्तीमा एक वर्ष लाग्ने बताइन्छ। त्यतिन्जेलसम्म नयाँ मिसाइल बनाउन नसक्ने भएकाले इरानले आफूसँग बाँकी शक्तिशाली मिसाइल पनि अब जतन गरेर प्रयोग गर्नुपर्ने हुन्छ।

हमला गरेको भोलिपल्टका स्याटलाइट तस्बिरहरू हेर्दा पनि इरानका केही ठाउँका सैन्य संरचनामा क्षति पुगेको देखिन्छ भनेर पश्चिमा मिडियाहरूले लेखेका छन्।

द वाल स्ट्रिट जर्नलका अनुसार सार्वजनिक रूपमा खासै क्षति नभएको दाबी गरे पनि आफ्ना सैन्य संरचनामा इसराइलले अचुक निशाना लगाएर प्रहार गरेको भनेर इरानले अरब राष्ट्रहरूसँग गोप्य रूपमा स्वीकार गरेको छ।

यो हमला गर्नुअघि इसराइलले अमेरिकालाई जानकारी गराएको थियो। अमेरिकाको सुझाव मान्दै आणविक भट्टी र तेल खानी-प्रशोधन केन्द्रहरूमा प्रहार नगरी उसले सैन्य संचरनामा हमला गरेको हो।

अब इरानले इसराइली हमलाको जबाफ दिन्छ कि दिँदैन भन्नेबारे चर्चा गर्नुअघि दुई देश कसरी अहिलेको स्थितिमा आइपुगे भन्ने बुझौं।

सिमाना नजोडिए पनि इसराइललाई घेराबन्दी गर्न इरानले छिमेकमा विभिन्न समूह परिचालन गर्छ। लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इसराइलमाथि आक्रमण गराउँछ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) को कुद्स फोर्सले यी विदेशी समूहहरू परिचालन गर्छ।

इरानले इसराइल र अमेरिकाविरूद्ध बनाएको यो मोर्चाबन्दीलाई ‘एक्सिस अफ रेजिस्टेन्स’ भनिन्छ।

इरान आफैले इसराइलमा प्रहार गर्दैन थियो। इसराइलले पनि बेला बेला इरानी आणविक वैज्ञानिकको हत्या गर्ने, ह्याक गरेर आणविक भट्टीहरूमा नोक्सान पुर्‍याउने र विदेशमा रहेका इरानी सैनिकलाई मार्ने गरे पनि प्रत्यक्ष रूपमा इरानी भूमिमा हमला गर्दैनथ्यो।

यसरी दशकौं देखिको इरान-इसराइलको छाया-युद्धमा इरानले परिचालन गर्ने हमासले गत वर्ष अक्टोबर ७ मा इसराइलमाथि हमला गरे पछि तनाव थपियो।भोलिपल्टैदेखि हिजबुल्लाहले इसराइलमाथि रकेट प्रहार गर्न थाले पछि टकराव झन् बढ्यो।

दुई देशबीच प्रत्यक्ष रूपमा प्रहार गर्ने शृंखलाको विजारोपण भने गत अप्रिल १ मा इसराइलले सिरियाको राजधानी दमास्कसस्थित इरानी दूतावास परिसरमा रहेको वाणिज्य दूतावास भवनमा हमला गरेपछि भएको थियो। उक्त आक्रमणमा कुद्स फोर्सका जनरल मोहम्मद रेजा जाहेदीसहित सात इरानी सैन्य अधिकृत मारिएका थिए।

त्यसको जबाफ दिँदै अप्रिल १३ मा इरानले थुप्रै मिसाइल र ड्रोनहरूबाट पहिलो पटक इसराइली भूमिमाथि आक्रमण गर्‍यो।

तर करिब ९९ प्रतिशत ड्रोन-मिसाइल अमेरिका, बेलायत, फ्रान्स र छिमेकी जोर्डन लगायतको सहयोगमा खसालेको दाबी इसराइलले गरेको थियो। एउटा सैन्य हवाइ अड्डामा मिसाइलले लागे पनि सामान्य क्षति मात्रै भएको थियो। त्यसबाहेक अन्त कतै केही नोक्सान भएको थिएन।

त्यसको पाँच दिनपछि खासै नोक्सान नहुने गरी इरानमा आक्रमण गरेर इसराइलले सांकेतिक जबाफ मात्रै दियो। त्यो बेला इसराइलले इरानमाथि ठूलो हमला गर्ने योजना बनाएको थियो। तर अमेरिका लगायत देशको दबाबपछि सांकेतिक आक्रमण मात्रै गर्‍यो। त्यसपछि केही महिना तनाव कम भएको थियो। तर पछिल्लो समय इसराइल थप आक्रामक भएपछि समस्या फेरि बढेको हो।

हमासको राजनीतिक विभागका प्रमुख ६१ वर्षीय इस्माइल हनियेको इरानी राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा सरिक हुन इरानको राजधानी तेहरान पुगेका बेला जुलाई ३१ मा हत्या भएको थियो। त्यस्तै सेप्टेम्बर २७ मा इसराइलले हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको हत्या गर्‍यो। यसको बदला भनेर इरानले अक्टोबर १ मा इसराइलमाथि मिसाइल प्रहार गर्‍यो।

चुप लागेर बस्यो भने, इसराइलले झन् हेप्ने ठानेर इरान जबाफ दिन बाध्य भएको थियो। बदला नलिए हौसिएर इसराइलले इरानभित्रै पनि प्रहार गर्न सक्ने डर थियो। त्यस्तै आफ्नो इसारामा ज्यानको बाजी राखेर जोसँग पनि लड्ने र आफूद्वारा परिचालित हिजबुल्लाहलाई त्यत्रो संकट पर्दा चुप लागेर बस्न नहुने नैतिक दबाब पनि इरानलाई परेको हुन सक्छ। चुप लागेर बस्यो भने, हिजबुल्लाहले आफूले भनेको नमान्ने खतरा पनि इरानलाई थियो। त्यसैले इरानले अप्रिलमा गरेको भन्दा धेरै ठूलो आक्रमण अक्टोबरमा गरेको थियो।

यसका बाबजुद इसराइलमा खासै नोक्सानी भएन। तैपनि इसराइलले अप्रिलको जस्तै सांकेतिक आक्रमण मात्र गरेर बस्न मिल्ने अवस्था थिएन। इसराइलले केही गर्दैन भनेर इरानले फेरि पनि हमला गर्न सक्ने खतरा उसलाई पनि हुन्थ्यो।

अर्कातिर कडा जबाफ दिए युद्धको खतरा थियो। त्यसैले इरानले अब आक्रामक प्रहार गर्नुनपर्ने गरी जबाफ दिन इसराइललाई अमेरिकाले भनिरहेको थियो। आणविक भट्टी र तेलखानीमा प्रहार नगर्न सम्झाइरहेको थियो।

तेलखानीमा आक्रमण गर्न नदिन अमेरिकाको आफ्नै स्वार्थ पनि थियो। किनभने, हमला गरे अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्ने थियो।

अमेरिकाले साउदी अरेबियासँग कुरा गरेर उत्पादन बढाउन भन्न सक्थ्यो। यस्तोमा इरानको तेल खानीमा आक्रमण गरे पनि भाउ धेरै बढ्दैन थियो। तर यस्तो भएमा इरानले साउदी तेल खानीमै आक्रमण गर्ने खतरा भएकाले साउदीले उत्पादन बढाउने सम्भावना कम थियो।

साउदीले उत्पादन नै नबढाए पनि इरानले बदला लिन साउदी र अरू अरब राष्ट्रका तेल खानीमा आक्रमण गर्न सक्थ्यो। यस्तो भए तेलको भाउ धेरै बढ्थ्यो।

तेलको भाउ धेरै बढे अमेरिकी उपभोक्ता र अर्थतन्त्रमा नकारात्मक प्रभाव परिहाल्थ्यो। अनि नोभेम्बर ५ मा हुने निर्वाचनमा हालका राष्ट्रपति जो बाइडेनको दलकी उम्मेदवार कमला ह्यारिस हार्ने सम्भावना बढ्थ्यो। त्यसैले इरानी तेल खानीमा आक्रमण गर्न अमेरिकाले रोकेको हो।

इरानको आणविक भट्टीमै आक्रमण गरे उसले जबाफमा युद्ध नै सुरू गर्ने खतरा रहन्छ। इरान-इसराइल युद्ध भए आफू पनि तानिने भएकाले अमेरिका अहिले इरानसँग युद्ध चाहँदैन। तर अटेरी बनेर लगातार आक्रामक कदम चलाइरहेका इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले फेरि पनि अमेरिकाको कुरा नसुनी आणविक भट्टीमै हमला गर्न सक्ने सम्भावना भने थियो। त्यस्तै पछिल्लो पटक अमेरिकाले थप युद्धपोत र लडाकु विमान र थाड (टर्मिनल हाइ अल्टिट्युड एरिया डिफेन्स) सिस्टम पठाएकाले हौसिएर नेतन्याहुले कडा जबाफ दिने खतरा पनि थियो।

तर पनि इसराइलले भने अमेरिकाको सुझाव अनुसार सैन्य संरचनामा मात्रै हमला गरेको छ। यो प्रहार पनि इरानले कडा आक्रमण गर्नुनपर्ने गरी गरेको देखिन्छ।

शनिबारको हमलाअघि इसराइलले अमेरिकालाई मात्रै होइन, इरानलाई पनि जानकारी गराएको थियो भनेर एक्सियसले लेखेको छ। इसराइलले कस्ता ठाउँमा हमला गर्दैछ र कस्तामा गर्दैन भनेर इरानलाई तेस्रो पक्षमार्फत जानकारी गराएको स्रोतहरूलाई उद्धृत गर्दै शनिबारै एक्सियसले जनाएको थियो। इरानले यसको जबाफ दिए, अझ इसराइली सर्वसाधारण घाइते हुने गरी वा मर्ने गरी हमला गरे, आफूले झन् कडा हमला गर्ने सन्देश समेत पठाएको थियो।

यसबाट पनि इसराइलले तनाव नबढ्ने गरी प्रहार गरेको बुझ्न सकिन्छ।‍

अमेरिकाले भने पनि इसराइलले गजा र पछिल्लो समय लेबननमा युद्ध विराम गरेको छैन। अहिले चाहिँ किन मान्यो भन्ने प्रश्न पनि उठ्छ।

इरान अहिले कमजोर भएको बेलामा आणविक भट्टीमा प्रहार गर्ने सुनौलो अवसर हो भन्नेमा इसराइलमा सर्वसम्मति जस्तै छ। गजामा युद्ध विराम गर्नुपर्छ भन्ने नरमपन्थीहरू समेत इरानलाई कडा प्रहार गरेर धेरै कमजोर बनाउनुपर्छ भन्ने कुरामा एकमत थिए।

इरानको तेल खानीमा प्रहार गरेर तेलको भाउ बढाएर अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउने अवसर पनि नेतन्याहुलाई थियो। ट्रम्पले इरानको आणविक भट्टीमा इसराइलले प्रहार गर्न पाउनुपर्छ भन्दै आएका छन्। उनले जितेमा इरानमाथि थप आक्रामक हुन इसराइललाई सहयोग गर्ने छन्।

तर नेतन्याहुले यसपालि अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेको माने। कडा हमला गरे अमेरिकी सहायता कटौती गर्ने भनेर बाइडेनले चेतावनी दिएका पनि हुन सक्छन्। इरानले युद्ध सुरू गरे अमेरिकी सहायता र हतियार दुवै चाहिने भएकाले नेतन्याहुले अमेरिकी आग्रह मानेका हुन सक्छन्। त्यसो हो भने, अमेरिकाले साँच्चै चाहेमा इसराइलमाथि अझै पनि दबाब हाल्न सक्छ भन्ने देखिन्छ।

यस्तोमा इसराइलले गजामा गरिरहेको अमानवीय ज्यादती रोक्न पनि बाइडेनले त्यसरी नै दबाब नहालेका हुन् त भन्ने प्रश्न पनि उठ्छ।

इरानले आणविक भट्टीका लागि पहाड र जमिनको धेरै मुनि बलिया संरचना बनाएको छ। यसमा धेरै नोक्सान पुर्‍याउन सक्ने शक्तिशाली बम अमेरिकासँग मात्रै छ। अमेरिकाले ती बम नदिने र आफूसँग मात्रै भएका हतियारले ती संरचनामा ठूलो क्षति पुर्‍याउन नसक्ने भएकाले पनि नेतन्याहुले आणविक भट्टीमा अहिले प्रहार नगरेका हुन सक्छन्।

अर्कोतर्फ, आफूमाथि प्रहार नगरोस् भनेर इसराइलको घाँटीमा तरवार जसरी राखेको हिजबुल्लाह कमजोर भएकाले अब इरानले छिट्टै आणविक हतियार बनाउन भरमग्दुर प्रयास गर्नेछ। त्यसैले अहिले नै आणविक भट्टीमा आक्रमण नगरे पनि भविष्यमा चाँडै नै इसराइलले त्यसबारे निर्णय भने लिनुपर्ने हुन्छ।

नेतन्याहुले अमेरिकाले भनेको अहिले किन माने भन्नेमा द इकोनोमिस्टले बेग्लै खालको विश्लेषण गरेको छ।

उसका अनुसार अहिले बाइडेनले भनेको मानेमा कमला ह्यारिसले जिते पनि सहायता निरन्तरता हुने पक्का गरेका छन्। ट्रम्पले जितेमा उनले पदभार ग्रहण गरेपछि इसराइलले बिना कुनै रोकतोक इरानमाथि प्रहार गर्न सक्छ। इरानको एयर डिफेन्स सिस्टम अहिले ध्वस्त पारेको हो भने ह्यारिसले नै चुनाव जिते पनि फेरि प्रहार गर्ने झन् राम्रो मौका हुन्छ। त्यसैले अहिले इसराइल धेरै आक्रामक नभएको द इकोनोमिस्टको विश्लेषण छ।

इसराइललाई सघाउन अमेरिका आउँछ भन्ने इरानले बुझेको छ। त्यसैले अरू बेलै पनि इसराइलसँग युद्ध चाहँदैन। अहिले हिजबुल्लाह कमजोर भएका बेला त झन् चाहँदैन। त्यसैले इरानले यसको कडा जबाफ दिने सम्भावना कम छ।

कडा जबाफ दिए पनि नदिए पनि इरानलाई सुख भने छैन। नदिए जनतामाझ र अन्तर्राष्ट्रिय समुदायमा कमजोर देखिनेछ। दिए इसराइल र अमेरिकाले ठूलो क्षति पुर्‍याउने खतरा हुन्छ।

इसराइलको हमलाले खासै नोक्सानी नभएको भनेर इरानले आफ्ना जनताकाबीच कडा जबाफ दिनुपर्ने बाध्यता नहोस् भन्ने चाहेको देखिन्छ। तर खुल्लम-खुल्ला इरानभित्र पसेर इसराइलले प्रहार गरेकाले चुप लागेर बस्न पनि अप्ठ्यारो हुनेछ। सत्तामा भएका कट्टरपन्थीहरूले अप्रिलदेखि नै इसराइल प्रति आक्रामक हुन दबाब दिइरहेका छन्। त्यसैले इरानले इसराइली हमलाको जबाफ दिनैपर्ने हुन्छ।

इसराइलको हमलाको जबाफ दिने अधिकार भएको भनेर इरानले भनिरहेकै पनि छ। इसराइल र अमेरिकाले पनि इरानले जबाफ दिने आकलन गरेको एक्सियसले लेखेको छ।

तर आफ्नो सत्ताको निरन्तरतालाई सर्वोपरि ठान्ने इरानलका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले अहिलेको मुस्किल समयमा युद्ध हुने गरी जबाफ दिने सम्भावना छैन। त्यसैले उसले पनि इसराइलले कडारूपमा बदला नलिने गरी सांकेतिक जबाफ मात्रै दिने देखिन्छ।

यसरी तुरून्त इसराइल-इरान युद्ध सुरू हुने खतरा कम छ। तर दशकौंदेखि छाया-युद्ध लडिरहेका यी दुई देशले तनाव नबढ्ने गरी भए पनि एक-अर्कामाथि लगातार प्रहार गरिरहँदा भुलवश वा गलतफहमीका कारण स्थिति नियन्त्रण बाहिर जान भने सक्छ।

दम्पती हत्या क्षेत्रमा सुरक्षा चुनौती , प्रहरी पोस्ट स्थापनाको माग

कैलाली । कञ्चनपुर लालझाडी गाउँपालिका वडा नम्बर १ बिनबारीमा सुरक्षा चुनौती थपिएको भन्दै प्रहरी पोस्ट स्थापनाको माग गरिएको छ । स्थानीय रमेश बडायक र उनकी श्रीमती कमला बडायकको बीभत्स हत्या भएको तीन दिनसम्म पनि घटनामा संलग्नहरूको पहिचान हुन सकेको छैन ।

बिहीबार राति घरमा सुतेकै अवस्थामा दुबै जनालाई धारिलो हतियार प्रयोग गरि हत्या गरिएको थियो । शनिबार घटनास्थलमा पुगेका प्रतिनिधि सभा सदस्य तारालामा तामाङसहितको टोलीले उक्त क्षेत्रमा सुरक्षा निकाय पुग्न नसकेको भन्दै तत्काल प्रहरी बिट स्थापना गर्नु पर्ने बताएका छन् । उनले आफूले त्यसकालागि पहल गर्ने समेत बताए । ‘दुई जनाको हत्या भएको घटनाले थप सुरक्षा चुनौती बढाएको छ’ उनले भने, ‘पहिलेबाटै यो क्षेत्रमा सुरक्षा निकाय पुग्न सकेको थिएन अब यो विषयमा थप गम्भीर हुनुपर्ने देखिन्छ ।

मैले सरकारसँग आग्रह गरेको छ । ’ इलाका प्रहरी कार्यालय शंकरपुरमा न दरबन्दी अनुसारको जनशक्ति छ नत स्रोत साधन नै छ ? सई नेतृत्वमा २३ जना प्रहरी रहने दरबन्दीमा अहिले असई को नेतृत्वमा जम्मा ६ जना मात्रै प्रहरी छन् । एक जना बिदामा जाँदा अहिले प्रहरी चौकी कुर्ने र सुरक्षा जाँचमा जाने प्रहरीकै अभाव देखिएको छ । डोकेबजार प्रहरी चौधरीले हेर्ने क्षेत्र हुँदा उक्त क्षेत्रबाट पनि घटनास्थल निकै टाढा रहेको छ ।

त्यसैमाथि सडक गतिलो नहुँदा समयमा प्रहरी पुग्नै सकस हुने गरेको देखिन्छ । हाल संघीय सांसद रहेका तामाङ यसअघि सुदूरपश्चिम प्रदेश सभा सदस्य हुँदै आर्थिक मामिला मन्त्री बनेका थिए । उनकै पहलमा परेको लालझाडी पच्कडीया सडक पनि निर्माण सुरु हुन सकेको छैन । सडकको बिच भागमा रुखहरू रहेको र बनले कटानी आदेश नदिँदा, इआइए रिपोर्ट नआउँदा सडक कालोपत्रे हुन नसकेको हो ।

उक्त सडक निर्णय नहुँदा पनि प्रहरीलाई घटनास्थल पुग्न समय लाग्ने गरेको छ । ‘सडक राम्रो छैन । गाउँमा प्रहरी बस्दैनन् त्यसले गर्दा यहाँ सुरक्षा चुनौती थपिएको हो । प्रहरीको उपस्थिति भएपछि यस्ता घटनाहरू नहोलान् ’ सांसद तामाङले भने । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी रवीन्द्र केसी पनि शनिवार घटनास्थलमा पुगेका थिए । उनीसँग सिङ्गो प्रहरी टोली थियो । उक्त टोलीसँग पनि सांसद तामाङले गाउँमा सुरक्षा चुनौती रहेको भन्दै प्रहरी बिट स्थापनको लागि पहल गर्न आग्रह गरेका थिए । प्रहरी प्रमुख केसीले सुरक्षा निकायको आवश्यकता महसुस भएको हुँदा जिल्ला सुरक्षा समितिले निर्णय गरे सुरक्षा पोष्ट स्थापना हुन सक्ने बताए ।

‘त्यहाँ प्रहरी चाकी नभएको स्थानीयले भन्नु भएको छ । माननीय ज्यूले पनि त्यो विषयमा कुरा राख्नु भएको छ जिल्ला सुरक्षा समितिले निर्णय गरे हामी केन्द्रमा सिफारिस गर्छौ र त्यसपछि केन्द्रले प्रहरी कार्यालय स्थापना गर्छ ’ उनले भने । प्रहरी चौकी राख्ने ठाउँ,भौतिक संरचना र अन्य विषयमा पनि थप छलफल हुन आवश्यक रहेको उनी बताउँछन् । प्रहरी कार्यालय स्थापना भएपछि गाउँका यस्ता जघन्य अपराध नहुने स्थानीयले अपेक्षा राखेका छन् ।

‘प्रहरीको उपस्थिति नहुँदा यस्तो घटना भएको हो ’ पूर्व गाउँपालिका अध्यक्ष मदनसिंह बडायकले भने ‘हामीले प्रहरी कार्यालय स्थापनाको माग गरेका छौँ । प्रहरी कार्यालय स्थापना भएपछि यस्ता घटना हुने थिएनन् । ’ केही वर्ष पहिले पनि लालझाडीमा एक जनाको हत्या भएको थियो । अझैसम्म पनि त्यो घटनामा संलग्नहरू पक्राउ पर्न सकेका छैनन् । स्थानीयले दम्पती हत्याको विषयमा प्रहरीले गम्भीर अनुसन्धान गरि तत्काल दोषि पक्राउको माग गरेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी केसीले अनुसन्धान साघुँरिदै गएको भन्दै केही दिनमा दोषि पक्राउ गर्ने दाबी गरेका छन् ।

कञ्चनपुरका तीन ठाउँबाट एक हजार पाँच सय मेट्रिकटन धान खरिद गरिँदै

कञ्चनपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले जिल्लाका तीन ठाउँबाट धान खरिद गर्ने भएको छ । महेन्द्रनगरमा रहेको शाखा कार्यालय, बेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिका क्षेत्रमा डिपो राखेर धान खरिद गरिने भएको हो ।

“स्थानीय तहको समन्वयमा बेदकोट र शुक्लाफाँटामा स्थान निर्धारण गरी धान खरिद गर्ने तयारी गरेका छौँ”, कार्यालय प्रमुख सुदर्शन थापाले भने “सोमबारदेखि धान खरिद प्रक्रिया सुरु गर्छौं ।” जिल्ला प्राथमिक खरिद समन्वय समितिको बैठक राखेर धान खरिदका लागि छिट्टै निर्णय गरिने उनले बताए ।

धेरै वर्षपछि कम्पनीले शाखा कार्यालय बाहिर डिपो राखेर धान खरिद गर्न लागेको छ । डिपो राख्नका लागि कम्पनीको प्रदेशस्थित कार्यालयको टोलीले स्थलगत अध्ययन–अनुगमनको कार्य गरिसकेको छ । किसानबाट गुणस्तरीय धान खरिद गरिने उल्लेख गर्दै शाखा प्रमुख थापाले माटो भएको, भुुस, पराल भएको, भिजेको धान खरिद नगरिने बताए । कम्पनीले किसानको मात्रै धान खरिद गर्ने भएको छ । व्यापारीको धान भने कम्पनीले खरिद नगर्ने जनाएको छ ।

किसानको गुणस्तरीय धान खरिद भए नभएकाबारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला खरिद समन्वय समितिले अनुगमन गर्नेछ । निर्धारित समर्थन मूल्यअनुसार प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसामा कम्पनीले किसानबाट मोटो धान खरिद गर्नेछ । जिल्लाका तीनवटै ठाउँबाट एक हजार पाँच सय मेट्रिकटन (पन्ध्र हजार क्विन्टल) धान खरिद गरिने लक्ष्य राखिएको छ ।

गत वर्ष कम्पनीले दुई हजार नौ सय क्विन्टल धान मात्रै खरिद गरेको थियो । कम्पनीले गत वर्ष निर्धारित लक्ष्यअनुसार धान खरिद गर्न सकेको थिएन । लक्ष्य पूरा गर्नका लागि तीन ठाउँमा डिपो राख्नुपरेको बताइएको छ । शाखा कार्यालयले खरिद गरिएको धान कुटानी गरी प्रदेशका माग भएका क्षेत्रमा आपूर्ति गर्दै आएको छ ।

कम्पनीका शाखा कार्यालय प्रमुख र सहयोगीसहित तीन कर्मचारी कार्यरत रहेका छन् । थोरै कर्मचारी हुँदा धान खरिद गर्नका लागि चुनौती रहेको छ । कम्पनीले डिपो राखेर धान खरिद गर्ने भएपछि स्थानीय किसानले खुसी व्यक्त गरेका छन् ।

“कम्पनीको धान खरिद डिपो स्थानीय तहमा नहुँदा महेन्द्रनगर बजार पुर्‍याएर बेच्नसक्ने अवस्था थिएन”, शुक्लाफाँटाका स्थानीय किसान रामकिसन डगौराले भने “ढुवानी भाडा नै धेरै लाग्ने हुँदा स्थानीय खरिदकर्ता कहाँ थोरै मूल्यमा बिक्री गर्न बाध्य थियौँ ।” डिपोमा लगेर धान बिक्री गरी उचित मूल्य पाउनेमा उनी आशावादी देखिएका छन् । स्थानीय व्यापारीले अहिले प्रतिक्विन्टल धान  दुई हजार तीन सयदेखि रु दुई हजार सात सयसम्ममा खरिद गरिरहेका छन् ।

आइसिसी क्रिकेट विश्वकप लिग–२: नेपाल अमेरिकासँग पराजित

काठमाडौं । नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको छ । जारी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपाललाई तीन विकेटले पराजित गरेको हो ।

अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा नेपालले दिएको २ सय ८७ रनको लक्ष्य पछाएको अमेरिकाले ४९.४ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । अमेरिकाका लागि शयान जगागिरले १०४ रनको शतकीय पारी खेलेका थिए भने कप्तान मोनांक पटेलले ६२, हर्मीत सिघले ५७ रन बनाएका थिए ।

नेपालका लागि कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर चार विकेट लिए । सोमपाल कामीले दुई र ललित राजवंशीले एक विकेट लिए ।

यसअघि नेपालले टस हरेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा अल आउट हुँदै २ सय ८६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रन बनाएका थिए भने अनिल शाहले ५६, आसिफ सेखले ५२ र आरिफ सेखले ३७ रन बनाएका थिए ।

नेपाल लिग-२ मा नौ खेलमा सातमा हार, एकमा जित र एक खेलमा अंक विहीन हुँदै तीन अंकका साथ सातौं स्थानमा छ । अमेरिका दश खेलमा सात मा जितसहित १४ अंकका साथ दोस्रो स्थानमा छ । क्यानडा १२ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ ।

अब सिरिजमा अर्को खेल भोली मंगलबार राति नेपालले स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

खोज्नुहोस