प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक छ : प्रचण्ड

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिका हर्कतहरु भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा सङ्घर्ष आवश्यक भएको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध सङ्घर्ष गर्नुपर्ने स्थिति आएको बताए ।

क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसरत भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरूले नै बढी क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको बताए । ‘हामीले गरेको परिवर्तनकारी र बलिदानपूर्ण जनयुद्धलाई संविधानमा जनताको सशस्त्र सङ्घर्ष र त्यसको व्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौँ’– उनले भने– ‘तर, जसको मुख्य कारण देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आयो, त्यही व्यवस्थामा बसेर जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको छ । त्यसका विरुद्ध सङ्घर्षको सङ्कल्प गर्नुको नै सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।’

आफूहरू शान्ति प्रक्रियामा सहभागी हुनुअघि नै क्रान्ति भिन्न रूपमा जारी रहने बताएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने– ‘हामीले जनयुद्धमा हुँदा र १२ बुँदे समझदारी गर्दा नै भनेका थियौँ– गणतन्त्र त अब आउँछ नै, तर यसलाई दलाल पुँजीपति र नोकरशाहीहरुले आफ्नो विशेषताको बुर्जुवा गणतन्त्र बनाउने प्रयास गर्नेछन् भने हामीले जनताको गणतन्त्र बनाउने कोसिस गर्नेछौँ । त्यहाँनेर गएर फेरि अर्को सङ्घर्ष हुन्छ भनेका थियौँ, अब राजनीतिक त्यतै जाँदै छ । दलाल पुँजीपति र नोकरशाहीहरुसँग सङ्घर्ष सुरु भएको छ । जनतालाई साथमा लिएर फेरि एउटा सङ्घर्ष अघि बढाउनैपर्छ ।’

नेपाली मौलिकतामा पूँजीवादी जनवादी क्रान्ति सफल भएपछि अब समाजवादी क्रान्तिमा अघि बढ्दा दलाल पुँजीपति, नोकरशाही वर्ग र सामन्ती अवशेषका विरुद्ध सङ्घर्ष अपरिहार्य रहेको स्पष्ट गर्दै उनले विचार, राजनीतिक एजेन्डा र क्रान्तिकारी विरासतमा आफूहरू बलियो भएकाले सङ्घर्षमा विजय प्राप्त गरेरै छाड्ने बताए ।

जनयुद्ध सुरु हुनअघि भएको रामवृक्ष यादवको बलिदानले देशभरिका युवालाई क्रान्तिमा लाग्न उत्प्रेरित गरेको र त्यसपछिका सबै सहादतहरुले क्रान्तिकारीहरूलाई प्रतिशोधको भावनासहित अघि बढाउन सहयोग गरेको पनि उनले बताए ।

सुरेश वाग्ले पार्टी जिम्मेवारीको हिसाबले सबैभन्दा माथिल्लो तहमा भएको अत्यन्त सचेत, योग्य र लोकप्रिय शिक्षकको रूपमा पनि स्थापित व्यक्तित्व भएको उल्लेख गर्दै उनले वाग्लेको सहादतपछि पार्टीलाई ठुलो क्षति भए पनि सिंगो पार्टीपंक्तिमा बलिदानी भाव पनि त्यहीअनुसार उच्चस्तरबाट वृद्धि भएको बताए ।

तत्कालीन सरकारले जनयुद्धलाई केही वर्षमा समाप्त पार्ने उद्देश्यसहित विभिन्न दमनका अभियानका चलाएको भए पनि सहिदहरूको बलिदानका कारण जनयुद्ध झन्पछि झन् शक्तिशाली हुँदै गएको उनले स्पष्ट गरे ।

यसप्रकारका उच्च बलिदानले युवा क्रान्तिकारीहरूलाई क्रान्तिमा होमिन प्रेरित गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले त्यसपछि नै हजारौँ युवाहरू जनमुक्ति सेनामा भर्ती भएर जनयुद्धलाई नयाँ उचाइमा उठाउने अवस्था सिर्जना भएको बताए । उनले सुरेश वाग्लेले पार्टीभित्रका अन्तरसंघर्षमा सन्तुलित र सही लाइनको पक्षमा आफूलाई उभ्याएको र नेतृत्व केन्द्रिकरणमा जोड दिने गरेको स्मरण गर्दै वाग्लेले आफ्नो चरित्र र विशेषताका कारण नैतिक बल र बौद्धिक क्षमताका आधारमा बहस गर्ने गरेकाले आजको पुस्ताले त्यसबाट पनि सिक्नुपर्ने बताए ।

भारतसँग ‘एयर रुट’ मिलाउन प्रावधिक टोलीको बैठक गर्ने सहमति

काठमाडौं- परराष्ट्रमन्त्री आरजु राणा देउवाले संसद्को अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा उठेका प्रश्नको जवाफ दिएकी छन्। सो क्रममा उनले आफ्नो भारत भ्रमण ‘गुडविल भिजिट’ भएको प्रस्ट पारिन्। भ्रमणको मुख्य उद्देश्य दुईपक्षीय संयन्त्रलाई कसरी क्रियाशील बनाउने भन्नेमा केन्द्रित रहेको उनले बताइन्।

भ्रमणको क्रममा एयर रुटको बारेमा कुरा राखेको र सो क्रममा टेक्निकल टिमको मिटिङ गर्ने सहमति भएको उनले बताइन्। पन्चेश्वरको बारेमा सहमति लगभग अन्तिम चरणमा रहेको उनको भनाइ थियो। भ्रमणको क्रममा इपीजीबारे कुनै कुरा नभएको उनले प्रस्ट पारिन्। यो विषयमा उपयुक्त समयमा छलफल हुने उनको भनाइ थियो।

बंगालादेशसँग व्यापारको कुरा पनि उठिरहेको उल्लेख गर्दै उनले २ दिन अघिमात्र त्यहाँका राजदूतसँग पनि छलफल भएको समितिमा जानकारी गराइन्।

राजदूत नियुक्ति समावेशी नभएको स्वीकार गर्दै उनले रिक्त रहेको एक स्थानमा मधेसबाट सहभागी गराउन प्रयासरत रहेको बताइन्। दलित तथा मुस्लिम समुदायबाट सिफारिस हुन नसकेकोमा उनले माफी समेत मागिन्। अर्को पटक यस्ता विषयमा ध्यान दिने उनको भनाइ थियो।

भारतमा शङ्कर शर्मालाई कार्यदक्षताको आधारमा राजदूत सिफारिस गरिएको समेत उनले बताइन्। राजदूत नियुक्ति निर्देशिका नै संशोधन गर्नुपर्ने देखिएको भन्दै उनले यसबारे समितिले पहल गर्न आवश्यक रहेको बताइन्।

सार्वजनिक बिदामा स्वास्थ्य सेवा सुचारु गर्ने सरकारको निर्देशनविरुद्ध चिकित्सक संघ

काठमाडौं- नेपाल चिकित्सक संघले सार्वजनिक बिदाका दिन समेत सवै प्रकारका अस्पतालबाट स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवासमेत) प्रवाह गर्न सरकारले दिएको निर्देशनविरुद्ध उत्रिएको छ। संघले सार्वजनिक विदाको दिनमा स्वास्थ्य सेवा सुचारु गर्ने विषय अव्यवहारिक तथा अवैज्ञानिक रहेको भन्दै निर्णय फिर्ता लिन आग्रह गरेको छ।

संघले मंगलबार विज्ञप्ति जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आराम गर्न साताको दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलनविपरीत नेपालमा भने बिदाको दिनमा समेत बहिरसंग सेवा सञ्चालन गर्ने कुरा अवैज्ञानिक र अव्यवहारिक भएको जनाएको हो।

संघका महासचिव डा. सञ्जीव तिवारीले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिमा भदौ सात गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाका दिन समेत स्वास्थ्यसम्बन्धी सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्रालयलाई गरेको पत्राचारबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै स्वास्थ्यकर्मीहरूमा कामको बोझ तथा लगातारको तनावले पारिवारिक, वैवाहिक र सम्बन्ध विच्छेदसम्मका घटना देखिएको बताएका छन्।

संघले अन्तर्राष्ट्रिय श्रम संगठनले व्यक्तिको श्रमअवधि साताको ४० घण्टा तोकेपनि ७२ घण्टासम्म लगातार काम गर्नुपरेको भन्दै त्यसको तुलनामा सुविधा र दरबन्दी अत्यन्त कम भएको बताएको छ।

यस्तो अवस्थामा सार्वजनिक बिदाका दिन समेत सेवा सुचारु भएको खण्डमा स्वाथ्यकर्मीहरुमा शारीरिक तथा मानसिक तनाव बढेर ‘बर्नआउट’ हुने तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ह्रास आई बिरामीको स्वास्थ्यमा थप प्रतिकुल असर पर्ने सम्भावना रहेको विभिन्न वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको बताएका छन्।

अमेरिकाले कब्जा गर्‍यो भेनेजुएलाका राष्ट्रपतिको जहाज

काठमाडौं- भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको जहाज अमेरिकाले कब्जामा लिएको छ। १३ मिलियन अमेरिकी डलर अवैध रूपमा लगेको भन्दै अमेरिकाले मदुरोको जहाज कब्जामा लिएको हो।

अमेरिकी न्याय मन्त्रालयका अनुसार फाल्कन ९००-ईएक्स जहाज डोमिनिकन गणतन्त्रमा अमेरिकाले कब्जामा लिएको हो। उक्त जहाजलाई अहिले अमेरिकी राज्य फ्लोरिडा पठाइएको पनि बीबीसीको समाचारमा उल्लेख छ। उक्त जहाज कसरी र कहिले डोमिनिकन गणतन्त्र पुग्यो भन्ने स्पष्ट भने भएको छैन।

ट्र्याकिङ डेटाबाट उक्त जहाज सोमबार राजधानी स्यान्टो डोमिंगोबाट इसाबेला विमानस्थलतर्फ उडेको पत्ता लागेको छ। भेनेजुएलाले भने अमेरिकी कारबाहीको निन्दा गर्दै ‘चोरी’ को संज्ञा दिएको छ। भेनेजुएला विदेशमन्त्री यवन गिलले अमेरिकाले ‘विश्वभर एकतर्फी र अवैध रूपमा थोपरेका स्वेच्छाचारी उपायलाई सही ठहर्‍याएको बताएका छन्।

अमेरिकी अधिकारीहरूले भने अमेरिकी निर्यात नियन्त्रण प्रतिबन्ध कानुनको उल्लंघन गरेको आरोपमा जहाजलाई कब्जामा लिएर अनुसन्धान गरिरहेको जनाएका छन्।

घोँगी र झिँगे माछा बेचेर दैनिक १५ सयसम्म कमाउँछन् भजनीका महिला

धनगढी- कैलालीको भजनी नगरपालिका–८ की सोमती चौधरीलाई आजभोलि माछा मार्ने काममा भ्याइनभ्याइ छ। वर्षाको पानीले बनेका तलाउ, नदी तथा डुबान भएका क्षेत्रमा माछा मार्न प्रयोग हुने हेल्का, डेलिया (माछा मार्ने साधन) लगायत साधन बोकेर सोमती माछा तथा झिँगामाछाको खोजीमा जाने गर्छिन्।

खेतीपातीको समय सकेपछि फुर्सदको समयलाई सदुपयोग गर्दै माछाको खोजीमा जाने गरेको सोमती बताउँछिन्। ‘घरमा खासै काम हुँदैन। फुर्सदमा समय कटाउनुभन्दा अलिकति माछा मरे पनि आफूलाई खान हुन्छ। बढी भए सुकाएर भोलिका लागि हुन्छ। त्यो भन्दा बढी भए बिक्री गरेर राम्रो पैसा आउँछ’, उनी भन्छिन्, ‘हिउँदको समयमा अहिले सुकाएको माछा तरकारीका लागि राम्रो हुने हुँदा आजभोलिको दिनचर्या माछा मार्नमै बितेको छ।’

वर्षात्‌को समयमा थारू समुदायका लागि सोमती एउटा उदाहरण मात्र हुन। नदीमा पानीको बहाव बढेपछि थारू महिला माछाको खोजीमा हेल्का बोकेर नदीमा पुग्ने गरेका छन्। कतिपयले त्यसलाई वर्षात्‌को समयमा आम्दानीको स्रोत नै बनाएका छन्।

‘घरमा चारजना छौँ। दिनभर सबैको काम माछा, घोँगी खोज्ने हुन्छ’, भजनीकै जीतेन्द्र चौधरी भन्छन्, ‘केही भएन भने पनि दिनमा तीन–चार केजीसम्म सङ्कलन भइहाल्छ। त्यो बिक्री गरेपछि रु एक हजारदेखि एक हजार पाँच सयसम्म आइहाल्छ।’

उनले झिँगामाछा र घोँगी बेचेर साउनमा मात्रै करिब ६५ हजार रुपैयाँ आम्दानी गरेको सुनाए। भजनीको अधिकांश क्षेत्र डुबानमा पर्छ। कान्द्रा, मोहना, पथरैया र काढा नदीमा आएको बाढी बस्तीमा पसेपछि डुबान हुन्छ। डुबान क्षेत्रमा नदीबाट माछा आउने र ती माछाका लागि जाल थाप्ने गरिएको रञ्जित चौधरी बताउँछन्।

‘नदीबाट पानीसँगै सानाठूला माछा डुबान भएको खेतमा आउने गर्छन्। त्यसमा जाल हाल्यो भने दुई–तीन केजी दिनमा भेट्टाइन्छ’, उनले भने, ‘बिक्री गर्नका लागि बजारको समस्या छैन। नभए सुकाएर बिक्री गर्दा झन् राम्रो मूल्य पाइन्छ।’

आफूलाई खान पनि हुने अनि बिक्री गरेर पैसा पनि आउने भएपछि थारू समुदायले फुर्सदको अधिकांश समय माछाको खोजीमा बिताउने गरेको रञ्जितले बताए। बजारमा घोँगीको मूल्य प्रतिकेजी दुई सय रुपैयाँसम्म छ। झिँगामाछा चारदेखि ६ सय रुपैयाँसम्म बिक्री हुन्छ।

ठूलो माछा रु आठड सयसम्ममा खरिद गर्ने गरेको होटल व्यवसायी जीतबहादुर चौधरी बताउँछन्। उनका अनुसार एउटै महिलाले दिनमा १० केजीसम्म घोँगी ल्याउने गरेका छन्। तीन–चार केजीसम्म झिँगामाछा बिक्रीका लागि ल्याएर आउने गरेको उनको भनाइ छ।

‘दैनिक १०–१२ केजी घोँगी हाम्रै पसलमा खपत हुन्छ। बढी भएको अन्य होटलमा पठाउँछौँ’, जीतबहादुरले भने, ‘यो याममा एउटै महिलाले रु ६० देखि ७० हजारसम्म घोँगी तथा माछा बिक्री गरेर आम्दानी गरेको मैले देखेको छु।’ फुर्सदको समयमा माछा र घोँगीबाट राम्रो आम्दानी भए पनि जोखिम त्योभन्दा बढी छ। धमिलो फोहर पानी, हिलाम्मे भएर दिनभर चर्को घामको राप स्वास्थ्यको दृष्टिकोणले निकै जोखिम छ। वर्षामा भिज्दा झन् डर हुन्छ।

डर हुँदाहुँदै पनि पैसाको अगाडि सबै बिर्सने गरेको विन्दु चौधरीको भनाइ छ। ‘पानी तलको भुइँ देखिँदैन। अनुमानका भरमा जोखिम मोलेर हातले घोँगी खोज्नुपर्छ’, उनले भने, ‘हातमा सधैँ घोँगी आउँछ भन्ने छैन। फोहर पानीमा डुबेको शरीरले कुन रोगको सङ्क्रमण निम्त्याउने हो, त्यसको ख्याल गरिँदैन।’

जोखिम मोलेरै भए पनि वर्षात्‌को सुरुआती चरणमा घोँगीबाट र अन्तिम चरणमा माछाबाट सोचेभन्दा राम्रो कमाइ हुने गरेको उनको भनाइ छ। -रासस

देशभर ६ हजारभन्दा बढीमा देखियो डेंगुको संक्रमण, ७५ जनामा हैजा

काठमाडौं- देशभरि डेंगुका बिरामीको सङ्ख्या छ हजारभन्दा बढी पुगेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु रोगको सङ्क्रमण देखिएको छ।

महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार छ हजार तीन सय ४७ जनामा डेंगु रोगको सङ्क्रमण देखिएको छ। यस्तै तीन जना डेंगु रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि मानिसलाई टोक्यो भने डेंगु रोग लाग्दछ।

गण्डकी प्रदेशमा सबभन्दा बढी
डेंगु सबभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ५४ देखिएको छ। कोशी प्रदेशमा सात सय ९१ जना, मधेसमा सय जना, बागमतीमा एक हजार छ सय २३ जना, लुम्बिनी चार सय ४४ जना, कर्णालीमा ९३ जना र सुदूरपश्चिम प्रदेशमा तीन सय ४२ जना सङ्क्रमण देखिएको छन्।

उपत्यकामा ६८०
काठमाडौँ उपत्यकामा छ सय ८० जनामा डेंगु सङ्क्रमण देखिएको छ। जिल्लामा पाँच सय ११, भक्तपुर ६९ र ललितपुर सय जनामा डेंगु सङ्क्रमण देखिएको छ।

वर्षाका बेला पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगुको सङ्क्रमण बढेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ। सरकारी अस्पतालमा डेंगु रोगका बिरामीका उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ।

हैजा ७५ जनामा
यस्तै महाशाखाका अनुसार हैजाका बिरामी ७५ जना पुगेका छन्। महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा दाहालका अनुसार ललितपुरमा ५० काठमाडौँमा १० जना, कैलालीमा आठ जना, प्यूठान दुई, मकवानपुर एक र रोल्पामा चार जनामा हैजा पुष्टि भएको छ। हैजा अति सङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ। – रासस

 

सञ्‍चारमन्त्री गुरुङलाई कारबाही गर्न १७ जना पूर्वआइजीपीहरुको माग

काठमडौं- नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरूको संगठन ‘पूर्व प्रहरी संगठन प्रमुख मञ्च’ले सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले ‘प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने’ भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनलाई कारबाही गर्न प्रधनामन्त्रीको ध्यानाकर्षण गराएका छन्।

उनीहरुले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री गुरूङलाई तत्काल उक्त वचन फिर्ता लिई नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न र आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नु पूर्व थप सचेत रहन भनेका छन्।

‘बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारवाही गर्नु हुन पनि अनुरोध गर्दछौ’ विज्ञप्तिमा छ,’नेपाल प्रहरी संगठन प्रमुख तथा सकल सुरक्षाकर्मीहरुलाई यस्ता प्रसंगमा अविचलित रही राष्ट्र र आम नागरिकको सेवामा अविछिन्न लागि रहन यस मञ्च ऐक्यबद्धतासहित अपील गर्दछ।’

नेपालको संविधानले आम नागरिकको अभिव्यक्तिको स्वतन्त्रतालाई सुनिश्चित गरे पनि अभिव्यक्तिको स्वतन्त्रता भनेको निम्छरो भाषिक अराजकता नभएको उनीहरूले उल्लेख गरेको छ।

‘स्वतन्त्रताको उपयोग गरिँदा अर्को पक्षको अधिकारको सीमा अनतिक्रम्य रहन्छ भन्ने सामान्य बुझाइ नागरिकमा हुनुपर्छ, यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो’ मञ्चको विज्ञप्तिमा छ,’पदीय हैसियतमा माननीय मन्त्रीज्यूसँग सबैले शालिन, सुसँस्कृत र पारस्परिक रुपमा सम्मानजनक व्यवहारको अपेक्षा गरेका हुन्छन्। यसको विपरित माननीय मन्त्रीज्यूबाट प्रहरी महानिरीक्षकविरुद्ध अमर्यादित र अशोभनीय शब्दावलीको जुन प्रयोग भयो त्यसले माननीयज्यूको राजनीतिक कद घटाएको छ भने नेपाल प्रहरी जस्तो गरिमामय र नेपाल सरकारको सबैभन्दा सकृय संगठनको नजरबाट माननीयज्यू गिर्नु भएको छ।’

नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्‍चमा आबद्धहरू

१. पूर्व प्रहरी महानिरीक्षक दुर्लभ कुमार थापा

२. पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरा

३. पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल

४. पूर्व प्रहरी महानिरीक्षक ध्रुबबहादुर

५. पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर राणा

६. पूर्व प्रहरी महानिरीक्षक श्याम भक्त थापा

७. पूर्व प्रहरी महानिरीक्षक ओम विक्रम राणा

८. पूर्व प्रहरी महानिरीक्षक हेम बहादुर गुरुङ

९. पूर्व प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरी

१०. पूर्व प्रहरी महानिरीक्षक रवीन्द्र प्रताप शाह

११. पूर्व प्रहरी महानिरीक्षक कुबेर सिंह राना

१२. पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल

१३. पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्याल

१४. पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

१५. पूर्व प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली

१६.शैलेश थापा क्षेत्री

१७.पूर्व प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह

राजदूत सिफारिस समावेशी सिद्धान्तका आधारमा गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं- प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाली राजदूतको पदमा सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिई सिफारिस गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ।

समितिको मंगलबारको बैठकले राजदूत निर्देशिका र संविधानको व्यवस्था ख्याल गर्न सरकारलाई भनेको छ। ‘नेपालको संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था र राजदुत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ लाई मध्यनजर गरी नेपाल सरकारले आगामी दिनमा विभिन्न मुलुकका लागि नेपाली राजदूतको पदमा सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिई सिफारिस गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने’ समितिको निर्णयमा उल्लेख छ।

अहिले १७ जना राजदूतहरूको सिफारिसमा समावेशी नभएको भन्दै समितिका सदस्यहरूले आपत्ति जनाएका थिए। त्यसपछि समितिले समावेशी बनाउन निर्देशन दिएको हो। प्रस्तावित १७ देशका राजदूतहरुको भदौ १६ गतेदेखि संसदीय सुनुवाइ समितिमा दुईपक्षीय कूटनीतिक सम्बन्धदेखि विकास परियोजना, पर्यटन प्रवर्द्धन तथा व्यापार अभिवृद्धि गर्नेसम्मका कार्ययोजना तथा प्राथमिकताका विषयमा सुनुवाई भइरहेको छ।

हालसम्म भारत, डेनमार्क, जर्मनी र चीनका प्रस्तावित राजदूतहरुले कार्ययोजना पेश गर्दै सांसदहरुले सोधेका प्रश्नको जवाफ दिएका थिए। चीनका लागि प्रस्तावित राजदूत कृष्णप्रसाद ओलीले ४ बुँदे कार्ययोजना समितिमा प्रस्तुत गर्नुभएको हो।

उनले चीन सरकारले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ्स-बीआरआइबारे सरकारले लिने नीति कार्यान्वयन गर्ने बताएका छन्। धेरै चिनियाँ पर्यटक नेपाल भित्र्याउन पहल गर्ने, जलवायु परिवर्तनमा नेपालले भोगेका समस्या समाधानमा पहल गर्ने र दीगो रुपमा चिनियाँ नाका खेाल्न पहल गर्ने उनको भनाइ छ।

यस्तै, डेनमार्कका लागि प्रस्तावित राजदूत तुलाधरले डेनमार्कसहित अन्य ७ देशको कूटनीतिक सम्बन्ध सुदृढ बनाउने, पर्यटक भित्र्याउन तथा त्यहाँ अध्ययनरत विद्यार्थीको समस्या समाधानमा पहल गर्ने बताएका छन्।

जर्मनीका लागि प्रस्तावित राजदूत शैल रुपाखेतीले नेपालको हवाई क्षेत्रलाई ईयूको कालो सूचीबाट बाहिर निकाल्न भूमिका निर्वाह गर्ने बताएका हुन्। ईयूको एयर सेफ्टी लिस्टकै कारण जर्मनीबाट नेपाल आउने पर्यटकको संख्यामा कमी भइरहेको उनको भनाइ छ। भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माले इपीजी प्रतिवेदन र सीमा विवादको विषय राजदूतस्तरभन्दा माथि रहेको उल्लेख गर्दै यसलाई उच्चस्तरीय वार्ताबाटै टुंग्याउनुपर्नेमा जोड दिए।

समितिमा चार व्यक्तिलक्षित र ५ सैद्धान्तिक गरी ९ उजुरी परेका छन्। मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमिल्सिना, इजरायलका लागि धनप्रसाद पण्डित, भारतका लागि शंकरप्रसाद शर्मा र दक्षिण अफ्रिकाका लागि प्रस्तावित प्राध्यापक कपिल श्रेष्ठविरुद्ध उजुरी परेका छन्। १३ जनाविरुद्ध भने उजुरी परेको छैन।

क्रमशः इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित, मलेसियाका लागि प्रस्तावित नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि प्रस्तावित रीता धिताल, पोर्चुगलका लागि प्रस्तावित प्रकाशमणि पौडेल, कतारका लागि प्रस्तावित रमेशचन्द्र पौडेल, रुसका लागि प्रस्तावित जंगबहादुर चौहान र साउदी अरबका लागि प्रस्तावित नरेशविक्रम ढकाललाई सुनुवाइका लागि बोलाउने तयारी छ ।

त्यस्तै, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि प्रस्तावित लोकदर्शन रेग्मीलाई सुनुवाइमा बोलाउने समितिको तयारी छ।

प्रस्तावित १७ राजदूतहरुमध्ये चार जना (नेत्रप्रसाद तिमिल्सिना, धनप्रसाद पण्डित, शंकरप्रसाद शर्मा र कपिलमान श्रेष्ठ) विरुद्ध उजुरी परेका छन् । १३ जनाविरुद्ध भने उजुरी नपरेको सुनुवाइ समितिले जनाएको छ।

प्रस्तावित सबै राजदूतहरुको सुनुवाइ आठ दिनभित्र सम्पन्न गर्ने योजना छ । सुनुवाइ समितिले नाम अनुमोदन गरिसकेपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुने संवैधानिक व्यवस्था छ।

खोज्नुहोस