संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल बहुजाति, बहुभाषी र संस्कृतिलगायतमा धनी भएकाले तिनको संरक्षण र प्रवर्द्धनमा सक्दो पहल गर्ने बताएका छन्।
विश्व पर्यटन दिवस २०२४ को सन्दर्भमा सांस्कृतिक मञ्च नेपालको आयोजनामा शुक्रबार काठमाडौंको नाचघरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नेपालका सबैजसो क्षेत्रमा हाम्रा मौलिक परम्परा, रहनसहन, वेशभूषामा विविधता रहेको बताउँदै उनले लोपोन्मुख अवस्थामा पुगेका त्यस्ता रैथाने सांस्कृतिक कुराहरूलाई जोगाउन सबैजना लाग्नुपर्ने बताए । उनले त्यसका लागि आगामी दिनमा मन्त्रालयले यथेष्ट बजेटको व्यवस्था गर्नेसमेत बताए ।
बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सबै प्रदेशमा लुकेर रहेका र लोप हुने अवस्थामा पुगेका संस्कृतिको जगेर्ना गर्न सबै प्रदेश सरकारले नीति बनाएर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा देशभरका सातै प्रदेशबाट आएका सहभागीले लोपोन्मुख, रैथाने, स्थानीय मौलिक संस्कृतिको प्रदर्शन गरेका थिए । सांस्कृतिक मञ्च नेपालका नन्द देवकोटाले पर्यटन नै देश विकासको आधार बन्न सक्ने कुरालाई जोड्न सकिने आधार भएकाले यो कार्यक्रम आयोजना गरिएको बताए ।
उनले, संस्कृतिविना कुनै पनि कुराको विकास सम्भव नहुने भएकाले पनि यस्ताखाले कार्यक्रमले एकातिर रैथाने कुराको संरक्षण हुने र अर्कोतिर त्यसलाई जीविकोपार्जनसँग जोडेर पर्यटन विकासलाई अगाडि बढाउन सकिने सम्भावनाका लागि यो कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा बझाङ र दार्चुलामा प्रचलित हुड्केउली छलिया नाच र भारीखेल, सोलुखुम्बु जिल्लामा नाचिने सुलिङ सामा राइलो तोशी नाच, जाजरकोटको चर्चित खाँडोनाच, जनकपुरमा देखाइने पमरिया र झरीझरी नाच, रुकुम पश्चिमको सिंगारू नाच, म्याग्दीको पुन समुदायमा चर्चित सोरठी नाच, धादिङको पुन समुदायमा प्रचलित म्हेन्दोमाया नाच, रोल्पा जिल्लाको एकदमै चर्चित पैंसेरी नाच, मधेश प्रदेशमा प्रचलित होली नाचको प्रस्तुति रहेको थियो ।
पेशावर– पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा जारी साम्प्रदायिक झडपमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३७ पुगेको स्थानीय अधिकारीले शुक्रवार जानकारी दिएका छन् । झडपका घटनामा १५० भन्दा बढी घाइते भएका छन् ।
पहिले अर्ध–स्वायत्त क्षेत्र रहेको कुर्रम जिल्लामा इस्लामको सुन्नी र शिया सम्प्रदायसँग सम्बन्धित जनजातिबीच रक्तपातपूर्ण मुठभेड हुने गरेको छ । यहाँ वर्षौंदेखिको जातीय लडाइँका कारण सयौँले ज्यान गुमाएका छन् । जुलाईमा भएको झडपमा ३५ जनाको मृत्यु भएको थियो र जिरगा (आदिवासी सङ्गठन)ले युद्धविरामको आह्वान गरेपछि मात्र समाप्त भएको थियो।
कुर्रममा तैनाथ एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीलाई बताएअनुसार सुरक्षा बल र स्थानीयले सहमतिका लागि गरेको प्रयासका बावजुद जिल्लाका १० क्षेत्रमा सशस्त्र भिडन्त जारी छ ।
उनले भने, ‘भूमि विवादको रूपमा शुरू भएको घटना पूर्ण साम्प्रदायिक झडपमा परिणत भएको छ । जसमा स्वचालित र अर्ध–स्वचालित हतियारका साथै मोर्टारको प्रयोग पनि भएको छ।’
उनका अनुसार ३७ जनाको मृत्यु भएको छ भने १५३ जना घाइते भएका छन् । प्रान्तीय राजधानी पेशावरमा तैनाथ सुरक्षा अधिकारीले झडपका क्रममा २८ घरमा क्षति पुगेको बताए ।
पाकिस्तानमा आदिवासी र पारिवारिक कलहका घटनामा हरेक वर्ष सयौँको सङ्ख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन् ।
तथापि, खैबर पख्तुनख्वाको पहाडी उत्तरपश्चिमी क्षेत्रमा जातीय द्वन्द्व विशेषगरी लामो र हिंस्रक हुने गर्छन् । यहाँ समुदायहरूले परम्परागत आदिवासीका स्थानीय नियम र कानूनलाई पालना गर्छन्।
सुन्नी मुस्लिम बहुल देश पाकिस्तानमा आफूहरूले लामो समयदेखि भेदभाव र हिंसा भोग्दै आएको शिया समुदायले बताउने गरेका छन् ।
काठमाडौं । अखिल (क्रान्तिकारी)ले प्रस्तावित विधानमा ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ । कीर्तिपुरमा जारी संगठनको २३औं राष्ट्रिय सम्मेलनको बन्दसत्रमा प्रस्ताव गरिएको विधानमा ३३ सदस्यीय पदाधिकारी सहित २४३ सदस्यीय केन्द्रीय समिति रहनेगरी प्रस्ताव गरिएको हो ।
संगठनका महासचिव दिपेश पुनले प्रस्तुत गरेको प्रस्तावित विधानमा एक अध्यक्ष, ९ जना उपाध्यक्ष जसमा ४ खुला र ५ समावेशी, एक महासचिव, उपमहासचिव ९, सचिव १२ र एक कोषाध्यक्ष प्रस्ताव गरिएको छ ।
विधानमा केन्द्रीय समितिको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय सचिवालयको प्रस्ताव गरिएको छ भने सचिवालयमा पदाधिकारीसहित हरेक प्रदेशबाट निर्वाचित एक छात्रा र एक समावेशी सहित ५ जना र केन्द्रीय कार्यालयको मातहत रहनेगरी विश्वविद्यालय प्रदेशमा आबद्ध नरहेका विश्वविद्यालय समितिबाट ३ जना रहनेगरी प्रस्ताव गरिएको छ ।
यद्यपी विधानमा एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ ।
बिहीबारबाट सुरु भएको सम्मेलनमा शुक्रबार विधान र प्रतिवेदन प्रस्तुत मात्रै भएको संगठनका निवर्तमान उपाध्यक्ष इन्द्र भुसालले जानकारी दिए । उनका अनुसारशनिबार बिहान ११ बजेदेखि अध्यक्ष प्रस्ततु गरेको राजनीतिक प्रतिवेदन र महासचिव पुनले प्रस्तुत गरेको विधानमाथी छलफल हुनेछ ।
भुुसालका अनुसार संगठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष बिरबहादुर थापाको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ । अध्यक्ष मण्डलमा चन्द्र माङमु, मानसिंह शाही, पुष्कर शर्मा, त्रिदेव गुरुङ, अर्जुन पौडेल, सिमा शाही रहेका छन् । यस्तै पूर्वमहान्यायधीवक्ता तथा पार्टी केन्द्रीय सदस्य मुक्तिनारायण प्रधानको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ ।
न्युयोर्क — प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ७८ औं महासभालाई सम्बोधन गरेपछि शुक्रबार बिहान न्युयोर्कबाट बोस्टन प्रस्थान गरेका छन् । न्युयोर्कबाट सडकमार्ग हुँदै प्रधानमन्त्री ओली बोस्टन गएका हुन् ।
प्रधानमन्त्री ओलीले बोस्टनको हार्वर्ड विश्वविद्यालयमा शुक्रबार बेलुकी नै सम्बोधन र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । उनले ‘नेपालको संक्रमणकालीन न्याय र जलवायु न्याय’ शीर्षकमा सम्बोधन गर्ने छन् ।
ओलीले यस अघि न्युयोर्कको कोलम्बिया विश्वविद्यालयमा पनि सम्बोधन र अन्तरक्रिया कार्यक्रम गरिसकेका छन् । ओली बोस्टनबाट आइतबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।
उनी असोज ४ मा महासभामा भाग लिनको लागि अमेरिका आएका थिए ।
धनगढी । साइकल तथा मोटरसाइकलमा राखेर माछा बिक्री वितरणमा प्रहरीले अवरोध गरेपछि कैलाली जिल्लास्थित माछा व्यवसायी प्रभावित भएका छन् ।
प्रहरीले विभिन्न कानुनी प्रावधान देखाएर साइकल तथा मोटरसाइकलको पछाडि क्यारेटमा माछा राखेर बिक्री वितरण गर्न दिएपछि व्यवसायी प्रभावित भएका हुन् ।
माछा व्यवसायी संघ कैलालीका अध्यक्ष रामप्रसाद चौधरीले आफूहरू दशकौँदेखि माछा उत्पादक किसानको पोखरीबाट उपभोक्तासम्म पुर्याउँदै आएको बताउँदै सो कार्यमा प्रहरीले रोक लगाउने, जरिवाना लिने जस्ता कार्य गर्दै आएको दुखेसो सुनाए । देशमा व्याप्त बेरोजगारीका कारण आफूहरूको पेसा नै माछा बिक्री वितरण गर्ने र यही पेसाबाटै जीविका चलाउँदै आएकाले प्रहरीको अवरोधले आफूहरूको रोजीरोटीमै धक्का पुगेको उनको भनाइ छ ।
यसैबिच ट्राफिक प्रहरीले निरन्तर दुःख दिइरहेको बताउँदै उनीहरूले शुक्रबार सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको ध्यानाकर्षण गराएका छन् । उनीहरूले साइकल तथा मोटरसाइकलमा राखेर निर्बाध रूपमा माछा बिक्री वितरण गर्न पाउनुपर्ने माग राखेका हुन् ।
कञ्चनपुर — फ्रान्सेली नागरिक सब्रिना जेलाली भारतका विभिन्न ठाउँमा भ्रमण गरेर बिहीबार गड्डाचौकी नाकाबाट नेपाल प्रवेश गरेकी थिइन् । महेन्द्रनगरमै बसेकी उनलाई शुक्रबा बिहान गड्डाचौकी नाकामै ढाका टोपी र खादा लगाएर स्वागत तथा सम्मान गरियो । यो सम्मानले उनी निकै खुशी र उत्साहित भइन् ।
शुक्रबार विश्व पर्यटन दिवसको अवसरमा नाकामा आयोजित कार्यक्रममा उनलाई स्वागत र सम्मान गरिएको हो । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले डिजेलालाीलाई स्वागत गर्दै ढाका टोपी लगाइदिएका हुन् ।
‘यो स्वागतले मलाई निकै खुशी लागेको छ, सबैलाई स्यालुट गर्छु,’ डिजेलालीले भनिन्, ‘नेपाल साँच्चिकै राम्रो छ, यहाँका संस्कृति अझै राम्रो छ ।’ उनले प्राकृतिक रुपमा र सांस्कृतिक रुपमा नेपाल धनी भएको बताइन् । उनी शुक्रबार नै यहि नाकाबाट भारत फर्किनेछिन् ।
पर्यटन दिवसका अवसरमा हरेक वर्ष गड्डाचौकी नाकामा पर्यटकलाई टोपी र खादा ओडाएर सम्मान गरिदै आएको छ । यसका साथै बाजा र छलिया नृत्यसंगै गड्डाचाकी क्षेत्रमा घुमाइने गरिन्छ । यसपटक पनि गत विगतकै निरन्तरता दिदै पर्यटकलाई स्वागत गरिएको हो ।
डिजेलाली शुक्लाफाँटा राष्ट्रिय निकञ्जको पिपरैयास्थित हात्तीसारका हात्तीमासफारी समेत गराइएको छ । महाकाली नदीमा निर्मित झोलुंगे पुल क्षेत्रबाट हात्तीसारसम्म उनलाई सफारी गराइएको हो ।
कोरोना संक्रमण सुरु भएपछि विदेशी नागरिकलाई बन्द गरिएको यो नाका संक्रमण कम भएसंग नेपाल प्रवेश खुला भयो । तर भारतले तेस्रो मुलुकका नागरिकलाई प्रवेश खुला गरेन । दुई महिनाअघि मात्रै विदेशी नागरिकलाई पनि प्रवेश खुला गरेको हो । त्यसपछि भारतमा घुम्न आएका पर्यटकहरु पनि नेपाल भित्रिन थालेका हुन् ।
गड्डाचौकी स्थित अध्यागमन कार्यालयका अनुसार पछिल्लो २ महिनाको अवधीमा १ सय ३८ पर्यटक भित्रिएका छन् भने ५० पर्यटक यो नाकाबाट बाहिरिएका छन् । जनवरीदेखि हालसम्म यो नाकाबाट ६ सय ३७ जना भित्रिएका छन् । गत वर्ष ९ सय ८३ जना भित्रिएका थिए । त्यसभन्दा अघिल्लो वर्ष ५ सय ४२ जना भित्रिएका थिए ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ ।
आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको हो । असोज ११ गते नारायणी नदीमा उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहने विभागको अनुमान छ । यस्तै कन्काई नदी ११ गते उच्च जोखिम हुने र अरु समयमा मध्यम जोखिम हुने जनाइएको छ ।
कमला नदी असोज ११ गते उच्च र १२ गते मध्यम तथा बागमती नदी पँधेरा दोभानमा ११ गते उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको महाशाखाले जानकारी गराएको छ । यस्तै पूर्वी राप्ती रजैयामा असोज ११ गते मध्यम जोखिम रहेको छभने असोज १२ गते उच्च जोखिम रहेको विवरण सार्वजनिक गरेको छ ।
यस्तै पश्चिम राप्ती कुसुममा असोज ११ गते मध्यम जोखिम रहेको तर असोज १२ गते भने अति उच्च जोखिम रहेको तथा बबई नदी असोज ११ गते मध्यम जोखिम छभने असोज १२ गते अति उच्च जोखिम रहेको जनाइएको छ । यी उच्च र मध्यम जोखिम रहेका नदी तथा त्यसका सहायक नदीहरूमा जलसतह खतराको तह आसपास र केही क्षेत्रमा खतराको तहसमेत पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
अबको तीन दिन ती नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध पनि गरिएको छ । असोज १४ गतेदेखि भने यस प्रणाली कमजोर हुने जनाइएको छ ।
विपद् प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले नदी आसपासका बासिन्दा, डुबान हुने क्षेत्रका बासिन्दा र पहिरो खस्ने जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् । उनले विपद् पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयानुसार उच्च जोखिम रहेका ५६ जिल्लामा रात्रिकालीन बस नचलाउन आग्रह गरिएको पनि जानकारी दिए ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा सामी स्कन्दर बहोउसबीच भेटवार्ता भएको छ ।
भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंशा गर्दै लैङ्कि समानताका लागि नेपाल युएन वुमनसँग मिलेर काम गर्न सदैव तत्पर रहेको बताएकी छन् ।
मन्त्री राणाले युएन वुमनले विश्वभर महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नेपाल लैङ्गिक समानतालाई अगाडि बढाउन युएन वुमनसँगको कामलाई निरन्तरता दिन इच्छुक रहेको भेटमा बताएको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका प्रधानमन्त्री सेहबेज शरिफबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका अोली पाकिस्तानी प्रधानमन्त्रीबीचको भेटमा भेटमा दुई देशको सम्बन्ध अझ बलियो बनाउने विषयमा छलफल भएको छ ।
यस्तै दुई पक्षीय व्यापार, लगानी, पर्यटन र संस्कृति प्रवर्धन गर्ने बारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
न्यूयोर्क : प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै विश्व शान्ति र सुरक्षामा नेपाल थप योगदान गर्न तयार रहेको बताएका छन् । उनले राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका हुन्।
प्रधानमन्त्री ओली महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल अमेरिकाको न्यूयोर्कमा रहेका छन्। उनले स्थानीय समय अनुसार बिहीबार साँझ ५:३० बजे महासभामा सम्बोधन गरेका थिए।
प्रधानमन्त्री ओलीले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरेका छन्।
सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट हालै पारित गराएको महासभालाई अवगत गराए।
प्रधानमन्त्री ओलीले भने, ‘दुई ठूला राजनीतिक दलको सहकार्यमा बनेको वर्तमान सरकार नेपाली जनताको समावेशी र समतामूलक समृद्धिका लागि आर्थिक रुपान्तरणलाई अघि बढाउँदै स्थायित्व कायम गर्न कटिबद्ध छ। सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने गहिरो विश्वासका साथ हामीले हाम्रो विदेश नीति सञ्चालन गरिरहेका छौँ। पारस्परिक सम्मान, सार्वभौम समानता, क्षेत्रीय अखण्डता, एकार्काको आन्तरिक मामिलामा अहस्तक्षेप र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा रहेर नजिकका छिमेकी र अन्य मुलुकसँगको घनिष्ठ, सौहार्दपूर्ण र रचनात्मक सम्बन्धलाई थप सुदृढ गर्न नेपाल प्रतिबद्ध छ।’
इजरायल–प्यालेस्टाइन द्वन्द्वमा दुई मुलुकबीचको शान्तिपूर्ण संवादबाट समाधान हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए।
प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्रमा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने तर सन् २०३० भित्रमा दिगो विकास लक्ष्य हासिल गर्न २४ बिलियन अमेरिकी डलरको आर्थिक खाडल रहेको बताए। उनले विश्वका विकसित मुलुकको कार्बन उत्सर्जनबाट नेपाल प्रभावित हुनु परेको र जलवायु न्यायको लाभ नेपालले पाउनुपर्ने माग गरे।
महासभामा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, सहसचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी छन्।
काठमाडौँ । पछिल्लो २४ घण्टामा कोशी र मधेस प्रदेशको थोरै स्थानहरू र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा घनघोर वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सो समयावधिमा १५० मिलिमिटर वर्षा भएको जनाएको हो ।
साथै कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा धेरै वर्षा मापन भएको छ।
हाल देशभर अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको र आगामी आगामी २४ घण्टाका लागि देश भरनै मनसुन सक्रिय रही कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा धेरै वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा घनघोर वर्षाको पनि सम्भावना रहेको छ ।
अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिले ‘तीनमहिने सङ्गठन विस्तार’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यही असोज ८ र ९ गते दुई दिन धनगढीमा बसेको प्रदेश समितिको पाँचौँ पूर्ण बैठकले सङ्गठन विस्तार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले आगामी मङ्सिर १० गतेसम्म प्रदेशका नौवटै जिल्लामा पार्टी सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको माओवादी केन्द्रका प्रदेश सचिव जनकबहादुर बुढाले जानकारी दिए । त्यस्तै, मङ्सिर ११ गते कैलाली र कञ्चनपुरका सबै वडामा एकसाथ वडा सम्मेलन गर्ने निर्णय गरेको उनले जानकारी दिए । सचिव बुढाका अनुसार बैठकले पहाडी जिल्ला डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुलामा मङ्सिर ११ देखि १७ गतेसम्म वडा सम्मेलन सम्पन्न गरिसक्ने गर्ने गरेको छ ।
उनले भने, “पहिलो चरणमा वडा केन्द्रित कार्यक्रम गर्छौं, दुई महिनाभित्र सदस्यता नवीकरण, वडा सम्मेलन गर्ने काम सम्पन्न गर्छौं, त्यसपछि पालिका सम्मेलनलगायतका काम अगाडि बढ्छन् ।” बैठकमा प्रदेश समिति सदस्यहरुलाई वडामा नेतृत्व गर्नेगरी जिम्मेवारी बाँडफाँट गरिएको पनि उनले बताए ।
प्रदेश पदाधिकारी, प्रदेश समिति सदस्य गरी ६३ जनाले पार्टीको योजना केन्द्रित भएर बैठकमा सुझाव पेस गरेको सचिव बुढाले बताए । माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरीको अध्यक्षतामा भएको बैठकमा पार्टीका उपमहासचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले निर्देशनात्मक मन्तव्य व्यक्त गरेका थिए ।
इजरायली सेनाले गएराति (बुधवार) हेजबुल्लाहका ७५ वटा लक्ष्यहरुमा आक्रमण गरेको जनाएको छ । यसको साथै लेबनानका बिस्थापित ७० हजार मानिसहरु शरणार्थी शिविरमा रहेको आन्तरिक मन्त्रीले बताएका छन् ।
इजरायली रक्षा बल ,आइडिएफ गुप्तचर विभागद्वारा निर्देशित बेका क्षेत्र र दक्षिणी लेबनानमा हेजबुल्लाह आतंककारी संगठनसंग सम्बन्धित लगभग ७५ आतंककारी लक्ष्यहरु लाई प्रहार गरेको जनाएको छ । हतियार भण्डारण सुविधाहरु र आतंकवादी पूर्वाधारहरुमा प्रहार गरिएको छ ।
हेजबुल्लाहका पूर्वाधार र क्षमताहरूलाई “विघटन र ह्रास” गर्न जारी राखेको आइडिएफले जनाएको छ । दक्षिणी लेबनान र बेका उपत्यका दुबै हेजबुल्लाहको गढ भएको आइडिएफले जनाएको छ ।
नेतन्याहूलाई अमेरिकाले राखेको २१ दिने गाजा युद्धविरामको लागि जोड दिइरहेको छ । त्यसै गरि लेबनानले इजरायल क्षेत्रमा कम्तिमा ४५ वटा क्षेप्यास्त्रहरु प्रहार गरेको बताएको छ ।
काठमाडौं,१० असोज। सुदुरपश्चिम प्रदेशलाई ४–०ले हराउँदै कोशी प्रदेश एन्फा महिला लिगको सुपर लिगमा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सुदुरपश्चिमविरुद्ध खेलको २३औं मिनेटमा ममता रावतले गर्दै कोशीलाई अग्रता दिलाएकी हुन् ।
पहिलो हाफमा १ गोल मात्रै खाएको सुदुरपश्चिमले दोस्रो हाफमा २ गोल खायो । खेलको ५२औं मिनेटमा कोशीकी फर्वाड समिक्षा मगरले सुनिता सरकारको क्रसमा गोल गरिन् ।
त्यस्तै, खेलको ६४ औं मिनेटमा पूर्णिमा राईको पासमा सुदुरकी गोलरक्षक टिकेश्वरी अगाडी बढेको अवस्था व्याक्तिगत दोस्रो र टिमको लागि तेस्रो गोल गरेकी हुन् ।
८४औं मिनेटमा कुश्मा राईले गोल गर्दै निर्णायक गोल गरिन् । उनले डि बक्स बाहिरबाट लङ रेन्जबाट गरेको प्रहार गोलपोष्टको माथिल्लो बारमा लाग्दै गोल भएको हो ।
एन्फा लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकाल्दै कोशीले ९ खेलमा १४ अंक जोड्दै शीर्ष पाँचमा अटाएको छ ।
कोशीले ९ खेलमा ४ जित, २ बराबरी र ३ हार बेहोरेको छ ।
सुदुरपश्चिमले भने यो प्रतियोगिताभर १ अंक पनि जोड्न सकेन । सुदुरपश्चिमले ९ खेलमा ९ हारमा ६९ गोल खाएको छ भने ३ गोल फर्काएको छ ।
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छन् ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेकी जी‐२० का विदेशमन्त्रीहरूको बुधबार भएको बैठकमा एलडिसीको अध्यक्षका हैसियतले उनले अल्पविकसित देशहरुलाई सहयोग गर्न आग्रह गरेकी हुन् ।
पछिल्लो समय विश्वका अतिकम विकसित देशहरु विविध समस्याबाट पिरोलिएका दृष्टान्त प्रस्तुत गर्दै मन्त्री देउवाले कोभिड–१९ महामारी, जलवायु परिवर्तनको असर, भूराजनैतिक तनावका कारण ती देश पीडित भएका बताएकी उनको निजी सचिवालयले जनाएको छ ।
“पछिल्लो दुई दशकमा अतिकम विकसित देशहरु चरम गरिबीतर्फ धकेलिएका छन् । एलडिसीहरुमा समावेशी आर्थिक वृद्धि, दिगो विकासका लक्ष्य हासिल गर्न तथा स्वास्थ्य सुरक्षालाई विश्वव्यापी रुपमा प्रवद्र्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन, ‘डिजिटल डिभाइड’कम गर्न र हामीले सामना गरिरहेका बहुआयामिक समस्या घटाउन जि‐२० को सहयोग महत्वपूर्ण हुनेछ”, परराष्ट्रमन्त्रीलाई उद्धृत गर्दै उहाँको निजी सचिवालयले जनाएको छ ।
जी‐२० को अध्यक्ष ब्राजिलले सामाजिक समावेशीकरण, गरिबी निवारण र दिगो विकासमा केन्द्रित रहेर बैठकको आयोजना गरेकामा परराष्ट्रमन्त्रीले धन्यवाद ज्ञापन गरिन्। ब्राजिलले भोकमरी र गरिबी घटाउन विश्वव्यापी अभियान सुरु गर्न लागेकामा त्यसको उनले स्वागत गरिन् ।
जी ‐२० मा एलडिसीका तर्फबाट प्रतिनिधित्व गर्ने औपचारिक संयन्त्र निर्माणको आग्रह परराष्ट्रमन्त्रीलेगरिन् । उनले हाल एलडिसीमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्यालाई कम गर्न जी‐२० कै नेतृत्वमा ‘क्लाइमेट चेञ्ज फण्ड’ स्थापना गर्न, एलडिसीका उत्पादनलाई कोटा निर्धारण गरी भन्सार छुटको व्यवस्थाका साथै ऋण मिनाहाका कार्यक्रम ल्याउन आग्रह गरिन् ।
काठमाडौं । आर्थिक अनियमितताको आरोप लागेकी भैसेपाटीकी इन्स्पेक्टर विनुकुमारी शाहीलाई निलम्बनका लागि सिफारिस गरिएको छ ।
ललितपुर प्रहरी परिसरले शाहीलाई निलम्बन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई सिफारिस गरेको हो । जिल्ला प्रहरी प्रमुख शेखर खनालले प्रारम्भिक अनुसन्धानमा अनियमितता भएको केही आधार देखिएकाले शाहीलाई निलम्बन गर्न सिफारिस गरिएको नेपाल प्रेसलाई बताए ।
शाहीमाथि बलात्कार मुद्दामा फसाइ दिने भन्दै ३० लाख रूपैयाँ लिएको आरोप शाहीविरुद्ध छ । उनलाई जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय तानिएको छ ।
जिल्ला प्रहरी कार्यालयले डीएसपीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
काठमाडौँ। मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। उक्त कार्यक्रम अनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ। यसैगरी उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने सापकोटाले जानकारी दिए। सोही दिनको दिउँसो ३ बजेदेखि मंसिर ४ गते बेलुका ५ बजेभित्र मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी नामावली प्रकाशन गरिने सापकोटाको भनाइ छ ।
यसैगरी मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । यसैगरी दिउँसो ३ बजेदेखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको उनले बताए।
निर्वाचन कार्यक्रम अनुसार मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । मतदान शुरु हुनुभन्दा अठचालिस घण्टा अगाडि अर्थात मंसिर १३ गते राति १२ बजे पछि प्रचारप्रसार निषेध अवधि लागू हुने आयोगले जनाएको छ ।
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो ।
काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान भइरहे पनि काठमाडौं बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान सामान्य प्रभावित भएको छ ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले दुई विमान ‘डाइभर्ट’ भएका छन् ।
काठमाडौंबाट सिमराका लागि उडेको यती एयरलाइन्सको विमान सिमराको आकाशमा पुगेर अवतरण हुन नसकी काठमाडौं फर्किएको छ ।
सोही एयरलाइन्सको काठमाडौंबाट विराटनगर उडेको अर्को विमान मौसम बिग्रिएकाले बीचबाटोबाटै काठमाडौं फर्किएको छ ।
मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएको एयरलाइन्सले जनाएका छन् । अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
यसले देशका अधिकांश भागमा बदली रहनुका साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छन् ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेकी जी‐२० का विदेशमन्त्रीहरूको बुधबार भएको बैठकमा एलडिसीको अध्यक्षका हैसियतले उनले अल्पविकसित देशहरुलाई सहयोग गर्न आग्रह गरेकी हुन् ।
पछिल्लो समय विश्वका अतिकम विकसित देशहरु विविध समस्याबाट पिरोलिएका दृष्टान्त प्रस्तुत गर्दै मन्त्री देउवाले कोभिड–१९ महामारी, जलवायु परिवर्तनको असर, भूराजनैतिक तनावका कारण ती देश पीडित भएका बताएकी उनको निजी सचिवालयले जनाएको छ ।
“पछिल्लो दुई दशकमा अतिकम विकसित देशहरु चरम गरिबीतर्फ धकेलिएका छन् । एलडिसीहरुमा समावेशी आर्थिक वृद्धि, दिगो विकासका लक्ष्य हासिल गर्न तथा स्वास्थ्य सुरक्षालाई विश्वव्यापी रुपमा प्रवद्र्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन, ‘डिजिटल डिभाइड’कम गर्न र हामीले सामना गरिरहेका बहुआयामिक समस्या घटाउन जि‐२० को सहयोग महत्वपूर्ण हुनेछ”, परराष्ट्रमन्त्रीलाई उद्धृत गर्दै उहाँको निजी सचिवालयले जनाएको छ ।
जी‐२० को अध्यक्ष ब्राजिलले सामाजिक समावेशीकरण, गरिबी निवारण र दिगो विकासमा केन्द्रित रहेर बैठकको आयोजना गरेकामा परराष्ट्रमन्त्रीले धन्यवाद ज्ञापन गरिन्। ब्राजिलले भोकमरी र गरिबी घटाउन विश्वव्यापी अभियान सुरु गर्न लागेकामा त्यसको उनले स्वागत गरिन् ।
जी ‐२० मा एलडिसीका तर्फबाट प्रतिनिधित्व गर्ने औपचारिक संयन्त्र निर्माणको आग्रह परराष्ट्रमन्त्रीलेगरिन् । उनले हाल एलडिसीमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्यालाई कम गर्न जी‐२० कै नेतृत्वमा ‘क्लाइमेट चेञ्ज फण्ड’ स्थापना गर्न, एलडिसीका उत्पादनलाई कोटा निर्धारण गरी भन्सार छुटको व्यवस्थाका साथै ऋण मिनाहाका कार्यक्रम ल्याउन आग्रह गरिन् ।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्यालेस्टाइनका राष्ट्रपति महोमद अब्बासलाई भेटे । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटे ।
भियतनामका राष्ट्रपति तो लामलाई र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटे । तर, उनले चार हजार किलोमिटर सीमा जोडिएको निकट छिमेकी बंगलादेशका अन्तरिम सरकारका प्रधानमन्त्री तथा नोबेल पुरस्कार विजेता महोमद युनुसलाई भेटेनन् । तर, युनुसलाई चिनियाँ विदेशमन्त्री वाङ यिले भेटे ।
वाङ यिसँगको भेटबारेमा युनुसको सामाजिक सञ्जालमा भनिएको छ, ‘चिनियाँ विदेशमन्त्री वाङ यिले बंगलादेशका अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्राध्यापक महोमद युनुससँग संयुक्त राष्ट्रसंघको मुख्यालयमा बुधवार भेटमा दुई पक्षीय कुरा गर्नु भएको छ । भेटमा सम्बन्धलाई बलियो बनाउने, सोलार प्यानलमा लगानी बढाउने र व्यापारिक साझेदारी बढाउनेमा छलफल भयो ।’
चिनियाँ विदेशमन्त्रीसँग मात्रै होइन युनुसले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेट गरेका छन् ।
भेटको तस्बिर सार्वजनिक गरेर युनुसको आधिकारिक सामाजिक सञ्जालमा भनिएको छ, ‘संयुक्त राष्ट्रसंघको साइडलाइनमा भएको भेटमा अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रमुख सल्लाहकार युनुस र उहाँको सरकारलाई पूर्ण सहयोग गर्ने बताउनु भएको छ ।’
भेटको तस्बिरमा बाइडेनले मुस्कुराएर युनुसलाई धाम मारेको देखिइएको छ । बंगदेशकी निर्वासित पूर्वाप्रधानमन्त्री शेख हसिनालाई ढालेर बनेको नयाँ सत्तासँग भारतको राम्रो सम्बन्ध छैन ।
नयाँ सरकारले भारतको आलोचना गरेको, हिन्दू अल्पसंख्यकलाई हिंसा गरेको तथा भारतकी प्रिय प्रधानमन्त्री शेख हसिनालाई निर्वासित हुन बाध्य बनाइएको घटनामा भारतको असन्तुष्टि देखिएको भारतीय मिडियाहरूबाट देखिन्छ । त्यसको झल्को न्यू योर्कमा पनि देखियो ।
मोदीले युनुसलाई भेट नगरे पनि भारतीय विदेशमन्त्री एस. जयशंकरले आफ्ना बंगलादेशी समकक्षी मोहोमद ताउहिद हुसेनसँग भेट गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । तर, भेटको तस्बिर जयशंकरले सार्वजनिक गरेका छैनन् ।
अधिकारको परिभाषाले भन्छ, तिमीलाई हात हल्लाउने अधिकार छ, तर तिम्रो हातले कसैको नाक छुने अधिकार छैन ।
आफूसंग असहमत हुनेहरुको बिचारको सम्मान र रक्षा गर्ने सोच कही जीवित छ भने बुझ्नु कि त्यहाँ लोकतन्त्र छ ।
अधिकार र लोकतन्त्रको पर्याय मानिन्छ, अमेरिका । र, त्यही अमेरिकाको एउटा कार्यक्रमको उठान गर्दैछु, यी दुईटा उक्तिसंगै ।
लोकतन्त्रमा मात्र आवधिक निर्बाचन मार्फत सरकार चुनिन्छ । चुनावमा प्रतिस्पर्धा गर्नेहरुको एजेण्डा नागरिकको अधिकार, स्वतन्त्रता र सर्बोपरी विकासलाई कुण्ठित गर्ने हुदैन । झट्ट हेर्दा उनीहरु चुनावमा दुश्मन जस्तै देखिन्छन । अरुलाई खुईल्याउन कुनै कसर बाँकी राख्दैनन । तर अरुलाई निमिट्यान्न गर्ने कुरा गर्दैनन । बरु आफ्नै प्रतिस्पर्धीलाई कहीकतैबाट आक्रमण वा खतरा भयो भने, उसको सुरक्षा र रक्षाका लागि संगै उभिन्छन् । जस्तो कि राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि आक्रमण हुदा अर्का राष्ट्रपतिका उम्मेदवार र बर्तमान राष्ट्रपति जो बाईडेनले मौनता साँधेनन । हर्ष बढाई गरेनन । न त खुच्चिङ भने । बरु उनले तत्काल ट्रम्पमाथि आक्रमणको निन्दा गरे । टेलिफोनमार्फत ट्रम्पलाई ढाडस दिए, र भरोसा दिलाए, तपाई एक्लो हुनुहुन्न । म तपाईको साथमा छु । यही हो लोकतन्त्रको सुन्दरता । जहाँ प्रतिपक्षी र प्रतिस्पर्धीको रक्षा र सुरक्षा सत्तापक्षले गर्छ ।
अव बिलम्ब नगरी मूल प्रसंगमा लाग्छु । नेपाली समुदायले २२ सेप्टेम्बर साँझ ५ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणासंग तय गरेको बृहत कार्यक्रम बिथोलियो । बिथोल्ने अरु कोही नभएर नेपालीहरु नै थिए । कार्यक्रम बिथोल्नुका पछाडि राष्ट्रियताको मुद्दा थिएन । न त देशको अस्तित्व वा अस्मिताको विषय थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजिएको बिरोधमा प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री राणालाई कालो झण्डा देखाउने हल्ला फैलाईयो ।
प्रवासमा नेपालीका पीडा अनगिन्ति छन् । अमेरिकामा पनि नेपाली समुदायका तमाम समस्या छन् । ती सबैको समस्या समाधान गर्न पहल गर्न सक्ने र त्यसका लागि जिम्मेवार पहिलो व्यक्ति प्रधानमन्त्री हुन् । र, दोस्रो परराष्ट्र मन्त्री ।
संयोगले दुबै जना युएनको ७९ औं महासभामा भाग लिन अमेरिका पुगेका बेला उहाँहरुसंग आफ्ना कुरा राख्ने अवसर नेपाली समुदायले पाउदै थियो । र, उहाँहरुको सहमतीमा बृहत कार्यक्रम त्यसैका लागि आयोजना गरिएको थियो । तर प्रधानमन्त्रीलाई जुत्ता प्रहार गरिएको र परराष्ट्र मन्त्रीलाई कालो झण्डा देखाईएको अफवाह मात्र फैलाईएन । दुबै जनालाई कार्यक्रमस्थलमा कालो झण्डा देखाउने हल्ला फैलाईयो । र, त्यसको तयारी भएको पनि अमेरिकी सुरक्षा एजेन्सीसम्म पु¥याईयो । जसका कारण प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्रीले नेपाली समुदायसंग बृहत अन्तरक्रियाको कार्यक्रम अन्तिम समयमा स्थगित गर्न आयोजक पक्ष बाध्य भयो ।
महावाणिज्यदूतावासले बिज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री राणा युएनका साईड ईभेण्टमा व्यस्त भएकोले कार्यक्रम स्थगन गरिएको भनिएपनि त्यसको अन्तर्य के थियो, जगजाहेर छ ।
जुन कार्यक्रममा सहभागी हुन अमेरिकाका बिभिन्न राज्यबाट नेपाली समुदायका अगुवाहरु न्यूयोर्क आईपुगेका थिए, कार्यक्रम स्थगित हुदा उनीहरु निराश भए ।
प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री राणासंग तय गरिएको संवाद कार्यक्रम स्थगित हुदा कसलाई लाभ भयो ? कसलाई हानी भयो ? र, त्यसले के सन्देश दियो ? कार्यक्रम स्थगित हुनुमा हर्ष बढाई गर्ने कि दुःख मनाउने ?
नेपाल र नेपालीका समस्या सम्बोधनका लागि कालो झण्डा देखाउने कि संवाद गर्ने ? त्यसका लागि कुन बाटो रोज्ने ? बिबेकसम्मत ढंगले सोच्नु पर्ने थियो । केही मान्छे र पक्षको बिबेक र संयमता गुमाउदा एउटा महत्वपूर्ण अवसर नेपाली समुदायले गुमाए । प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको हार भयो वा प्रवासमा नेपाली समुदायको शीर निहुरियो ? यो प्रकरणसंग जोडिएका सबै पक्षले ढिलोचाँडो आत्मसमीक्षा पक्कै गर्ने छन ।
बिगतमा युएनको महासभामा सहभागी हुन आउदा मन्त्री र प्रधानमन्त्रीलाई घुम्न, डिनर र लञ्च भ्याई नभ्याई हुन्थ्यो । मुख्य कार्यक्रममा भन्दा पनि महासभा उनीहरुका लागि सयल र शयरको अवसर जस्तो प्रतित हुन्थ्यो । देशको मुद्दामा भन्दा पनि आत्मकेन्द्रीत स्वार्थमा प्रधानमन्त्री र मन्त्रीले अमेरिकामा समय व्यतित गर्थे । तर यस पटक प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री राणाले मूल कार्यक्रममा ध्यान दिएको पाईएको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । भलै, उहाँहरुको त्यो व्यस्तताले मुलुकलाई कति लाभ दिने हो, त्यो भविश्यले बताउला ।
देशलाई समृद्ध कसरी बनाउने ? कसरी जलवायु परिवर्तनको समस्यालाई न्यूनिकरण गर्ने ? लगानी बृद्धि, शान्ति र सुरक्षा, डिजिटल असमानता, अन्तरपुस्ता र समावेशी विकास र लैंगिक समानतामा नेपालको तर्फबाट प्रतिबद्धता भए कि भएन ? गरीवी निवारण र देश विकासका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन युएनको यो महाकुम्भलाई सदुपयोग गरियो कि गरिएन ? त्यसका लागि प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराउनु पथ्र्यो । चासो र चिन्ता गर्नुपर्ने विषय एउटा थियो । तर अमेरिकामा रहेका नेपालीहरु अल्झिए अर्कै मुद्दामा । यो दुःखद र दुर्भाग्य कुुरा हो ।
कुनै पार्टीबाट निर्बाचित भएपनि प्रधानमन्त्री सबैका अभिभावक हुन् । परराष्ट्र मन्त्री र सरकारका अन्य मन्त्री पनि साझा व्यक्ति हुन् । देशभित्र र प्रवासमा रहेका हरेक नागरिकका अभिभावक हुन्, प्रधानमन्त्री । उनलाई कुनै पार्टीको चश्माबाट हेर्नु गलत हो ।
आफ्ना अभिभावक र सरकार प्रमुखसंग गुनासा र असहमती राख्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो । कार्यक्रममा प्रधानमन्त्री ओलीसंग आफ्ना असहमती शालिनढंगले राख्न पाउने दुर्लभ अवसर बिरोध गर्नेहरुसंगै बिभिन्न राज्यबाट आएका नेपालीहरुले गुमाए ।
यदि बृहत कार्यक्रम बिथोल्न अनावश्यक हल्ला फैलाउनेहरुको उद्देश्य केही मान्छेलाई असफल बनाउनु थियो भने त्यसलाई उनीहरुको सबैभन्दा ठूलो भ्रम बाहेक केही मान्न सकिदैन । आयोजक र नेपाली समुदायका अगुवाहरुले प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई होटलमै गएर भेटिसके । भेटिरहेकै छन् । ज्ञापन पत्र बुझाएका समाचारहरु पनि सार्वजनिक भईरहेकै छन् । आफ्नो देशको प्रधानमन्त्री र परराष्ट्रलाई प्रवासमा भेट्न र आफ्ना गुनासा र समस्या राख्ने आम नेपाली समुदायले जुन अवसर पाईरहेका थिए, त्यो अवसरबाट उनीहरुलाई बञ्चित गर्न सफल हुनेहरुलाई अलिकति पनि लज्जाबोध भयो भएन कि ?
कालोझण्डाको डरले प्रधानमन्त्री र परराष्ट्र मन्त्री यदि कार्यक्रममा आउन डराएका हुन् भने त्यो डरबाट लोकतन्त्रको रक्षा कसरी हुन सक्ला ?
अमेरिकाको सुख, सुबिधा, स्वतन्त्रता र अधिकार प्रयोग गर्दै आएका नेपालीहरुले लोकतन्त्र र अधिकारको परिभाषा बुझ्दैनन भन्नु अन्यथा हुन्छ । उनीहरुले अमेरिकाको आबधिक निर्बाचनमा भाग लिएका छन् । निर्बाचनका क्रममा उम्मेदवारहरुबीच हुने प्रतिस्पर्धा हेरेका छन् । र, राष्ट्र र राष्ट्रियताको जव कुरा आउछ, तव ‘देश पहिले’ भन्ने अमेरिकीहरुको सामूहिक भावना पक्कै बुझेका छन् । उनीहरुले प्रवासमा नेपालीहरु नेपाल पहिले भन्न के बिर्सिएका हुन त ?
यो कार्यक्रम बिथोलेर उनीहरु बहादुर कहलिए कि कहलिएनन ? यो उनीहरुले आत्म समीक्षा गरुन । बृहत कार्यक्रम बिथोल्नुलाई लोकतन्त्र र नागरिक अधिकारको परिभाषामा किमार्थ समेट्न भने सकिदैन । आफ्नो देशको प्रधानमन्त्री र परराष्ट्र मन्त्रीमाथि आफ्ना कुरा निर्धक्कसंग राख्न पाउने नागरिकको अधिकार यो घट्नाले कुण्ठित गरेको छ । फेरि यस्तो कार्य कही कतै, कसैबाट नहोस । चेतना भया ।
न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने सिलसिलमा अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा मोहम्मद युनुसबिच भेटवार्ता भएको छ ।
त्यस अवसरमा उहाँहरुबीच आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी कार्बन उत्सर्जनका कारण नेपालका हिमालहरू पग्लिएको बताए।
समृद्री सतह वृद्धिका कारणबारे चर्चा गर्दै उनले एसियाका दुई तिहाइ हिमालहरू पग्लिएसँगै कम्तीमा १० वटा नदी प्रणाली सुख्खा हुन पुगेकाले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना अपरिहार्य रहेको बताए । प्रधानमन्त्री ओलीले हिमालयहरू प्राकृतिक ‘रिचार्ज सिस्टम’ भएकाले यिनलाई पग्लिन र समुद्रको तापक्रम बढ्न नदिन विश्वव्यापी साझा प्रयास हुनुपर्नेमा जोड दिए ।
“हानिकारक कण र प्रदूषण प्रवाह नियन्त्रणमा हातेमालो गर्दै जलवायु न्यायको नीति कार्यान्वयन गर्न लागौँ । उत्सर्जनकर्ता मुलुकले प्रभावित मुलुकलाई उचित क्षतिपूर्ति दिनुपर्ने कुरामा हामी सबैको साझा मत हुनुपर्छ”, उनले भने,“ आगामी वर्ष यस सवालमा उल्लेखित चुनौती सामना गर्ने विषयमा हिमाली र टापुजन्य मुलुकको बेग्लै बैठक राख्न म राष्ट्रसङ्घलाई आग्रह गर्दछु ।”
यसैबीच प्रधानमन्त्री ओलीले आजै राष्ट्रसङ्घको जलवायु परिवर्तनबाट असुरक्षित फोरमको बैठकलाई सम्बोधन गरे । उक्त बैठकमा जलवायु न्यायको आवाज उठाउँदै उनले विकसित मुलुकले पेरिस सम्झौताबमोजिम जलवायु वित्त कोषमा अतिरिक्त बजेट विनियोजन गर्नुपर्नेमा जोडदार माग गरे । प्रधानमन्त्री ओलीले नेपालमा हुने सगरमाथा संवादमा सहभागी हुन फोरमका सदस्य राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई निमन्त्रणा पनि दिए ।
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ का दुई बस्तीमा जङगली हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछि समस्या भएको छ ।
एक साता अघिदेखि हात्तीको बथान गर्जमुनी र खजुवा बस्तीका किसानको खेतवारीमा छिर्ने गरेको र हालसम्म तीन विघामा लगाइएको धानबाली खाएर सखाप पारेको स्थानीय किसान प्रतापसिंह रतोकीले बताए । साँझ नपर्दै नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट १५ देखि २० को सङ्ख्यामा हात्तीको बथान छिर्ने र खुट्टाले कुल्चेर तथा खाएर धानबाली सखाप पारेको उनले बताए ।
गएराति मात्रै हात्तीको बथानले खजुवाका रतोकीसहित, हेमा धामी, कैलसिंह साउद, जनकबहादुर धामी, कन्जडो धामी, कालो धानुक, धनबहादुर साउद र ललिता बिष्ट बोहराको गरी एक विघा जग्गामा लगाइएको धानबालीमा नोक्सानी पुर्याएको वडा सदस्य जीवन पाण्डेयले जानकारी दिए । “स्थानीय बासिन्दा, प्रहरी, निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाको टोलीको सहयोगमा हात्तीलाई धान खेतबाटै निकुञ्जतर्फ फर्काउन सक्यौँ” उनले भने, “खेतबारीबाट हात्ती फिर्ता हुँदा नजिकै रहेका घरमा क्षति पुर्याउन सकेन । हात्तीको डरले खाद्यान्नदेखि महत्वपूर्ण कागजपत्र स्थानीयले आफन्तको घरमा सुरक्षाका लागि सारेका छौँ ।”
वडा सदस्य पाण्डेयकानुसार एक साताको अवधिमा गर्जमुनीमा दुईपटक र खजुवामा दुईपटक गरी हात्तीको बथान चारपटक किसानको खेतमा छिरेको छ ।
हात्तीले पाक्न लागेको धानबाली खाएर नोक्सान गर्न थालेपछि स्थानीय रातभर पालो मिलाएर जाग्राम बस्न थालेका छन् । हात्तीलाई खेतवारीमा छिर्नबाट रोक्नका लागि टिन ठटाउने, हो हल्ला गर्ने, जानकारी दिनका लागि साईरन बजाउने, आगो बाल्ने, पटाका पडकाउनेलगायत कार्य गर्न थालिएको वडाअध्यक्ष चक्रबहादुर खड्काले बताए । “अप्रिय घटना नहोस् भनेर स्थानीयलाई सचेत पार्ने कार्यमा लागेका छौँ, हात्तीले धानबालीमा व्यापक नोक्सान गर्न थालेपछि निकुञ्ज कार्यालय र सुरक्षा निकायसँग पनि सहयोगका लागि अपिल गरेका छौँ”, उनले भने ।
हात्तीको बथान वर्षातका बेला चुरे क्षेत्रका वन क्षेत्रमा बस्ने र वर्षा घटदै गएपछि चुरे फेदीका बस्ती हुँदै समथर भू–भागमा पुगेर किसानको बालीनलीमा नोक्सानी पुर्याउने गर्दछ । प्रत्येक वर्ष हात्तीले मानवीय र भौतिक क्षति गर्दै आएको छ । तीन वर्षको अवधिमा हात्तीको आक्रमणबाट नगरपालिका क्षेत्रका चार जनाको ज्यान गइसकेको छ ।
न्यूयोर्क, ७ असोज
परराष्ट्र मन्त्री डा. आरजु राणाले क्यालिफोर्नियामा कन्सुलेट अफिस स्थापनाको प्रकृया अघि बढाईएको बताएकी छन् ।
सोमवार न्यूयोर्कमा नेपाली समुदायका अगुवाहरुसंगको भेटमा नेपालीहरुको बाक्लो उपस्थिति रहेका क्यालिफोर्नियामा कन्सुलेट अफिस स्थापनाको प्रकृया अघि बढाईएको परराष्ट्र मन्त्री डा. आरजु राणाले जानकारी दिएकी हुन् ।
त्यस्तै परराष्ट्र मन्त्री डा. राणाले टेक्ससमा कन्सुलेट अफिस स्थापना गर्ने प्रतिबद्धता गरेकी छन् ।
परराष्ट्र मन्त्री डा. राणासंगको भेटमा नेपाली समुदायहरुका तर्फबाट टेक्सस र क्यालिफोर्नियामा कन्सुलेट अफिस स्थापना गर्न आग्रह गरिएको नेपाली जनसम्पर्क समितिका सभापति आनन्द बिष्टले बताए ।
परराष्ट्र मन्त्री डा.राणाले नेपाली समुदायको कन्सुलेट स्थापनाको माग प्रति सकारात्मक रहेको बताईन ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति बिष्टको नेतृत्वमा गएका क्यालिफोर्निया र टेक्ससका नेपाली समुदायका अगुवाहरुले परराष्ट्र मन्त्री डा.राणासंग टेक्सस र क्यालिफोर्नियामा कन्सुलेट अफिस स्थापनाका लागि आग्रह गरेका थिए ।
क्यालिफोर्निया जनसम्पर्क समितिका केन्द्रीय सदस्य चन्द्र धिताल, समितिका महासचिव मुनेन्द्र नेम्वाङ, समितिका केन्द्रीय सल्लाहकार, उत्तम कार्की, समितिको क्यालिफोर्निया च्याप्टरका सभापति नारायण खनाल, नेपाली समुदायका अगुवा प्रतेश कार्की, मृदुला कोईराला, श्यामकाजी गुरुङ, सुरेश हमाल, श्रीराम थापा, टेक्सस च्याप्टरका सभापति ज्ञानेन्द्र बहादुर कार्की, महासचिव दिनेश शर्मा, बादल भुजेल, लगायतले परराष्ट्र मन्त्री डा. राणासंग कन्सुलेट अफिस स्थापनाका लागि आग्रह गरेका हुन् ।
डा. प्रकाश शरण महत परराष्ट्र मन्त्री क्यालिफोर्नियामा कन्सुलेट अफिस स्थापनाको पहल शुरु गरिएको थियो ।
नेपाली जन सम्पर्क समितिका सभापति बिष्टले परराष्ट्र मन्त्री डा. राणाले क्यालिफोर्नियासंगै टेक्ससमा कन्सुलेट अफिस स्थापना गर्ने प्रकृया अघि बढाउने प्रतिबद्धता गर्नुभएकोमा नेपाली समुदायका तर्फबाट धन्यवाद ज्ञापन गरे ।
प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने भएकी छन् ।
नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघ (यूएन) को ७९ औं महासभाको समिट अफ दी फ्युचरमा आज सहभागी भएका प्रधानमन्त्री ओलीसंगै परराष्ट्र मन्त्री डा. राणाले लगानी वृद्धि शान्ति र सुरक्षा, डिजिटल असमानता, अन्तरपुस्ता र समावेशी विकास र लैंगिक समानतामा प्रतिबद्धता र सहयोगका लागि आग्रह गर्ने बताईएको छ ।
परराष्ट्र मन्त्री राणाले महासभाका बिभिन्न साईड ईभेण्टमा समेत नेपालका तर्फबाट सम्बोधन गर्ने बताईएको छ ।
परराष्ट्र मन्त्री राणाले बुरुण्डी र फिनल्याण्डका समकक्षीसंग द्धिपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका आएका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणाले आज अमेरिकामा रहेका नेपालीहरुसंग भेट गर्ने भएकी छन् ।
नेपाली महावाणिज्यदुतावास न्यूयोर्क, नेपाली जनसम्पर्क समिति अमेरिका, प्रवासी नेपाली मञ्च, नेपाली आदिवासी महासंघ, मधेशी एशोसियन ईन अमेरिका, गैर आवासीय नेपाली संघ न्यूयोर्क च्याप्टर लगायत नेपाली समुदायले आज साँझ ५ः ३० बजे गुलशन टेरिसमा आयोजना गर्ने बृहत कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणाले नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली महावाणिज्यदुतावास न्यूयोर्कका कार्यबाहक महावाणिज्यदूत चक्र सुवेदीले बताए ।
कार्यक्रममा आयोजक संस्थाका प्रमुखहरुले अमेरिकामा नेपाली समुदायले भोग्दै आएका समस्याहरु समाधानका लागि प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री डा. राणासंग आग्रह गर्ने बताईएको छ ।
कार्यक्रममा सहभागी हुन अमेरिकामा रहेका बिभिन्न राज्य नेपाली समुदायका अगुवाहरु न्यूयोर्क आईपुगेका नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले बताए ।
उनले नेपाली समुदायका तर्फबाट प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री डा.राणालाई स्वागत तथा सम्मान गर्नुका साथै नेपाली समुदायका समस्याहरुका बारेमा अवगत गराउने बताए ।