कोशीको टापुमा फसेका ३४ जनाको अझै भएन उद्धार

द एभरेष्ट पोष्ट
१२ असोज २०८१ १५:३३
कोशीको टापुमा फसेका ३४ जनाको अझै भएन उद्धार

विराटनगर । अविरल वर्षाको कारण सप्तकोशीमा पानीको बहाव बढेको बढ्यै छ । नदीको जलसतह बढेसँगै वराहक्षेत्र ६ र ९ नम्बर वडामा पर्ने कोशी टप्पु क्षेत्रमा (चिलिया टापु) फसेका ३४ जना सर्वसाधारणको उद्धार हुन सकेन । वराहक्षेत्र ६ मा २२ जना र ९ मा १२ जना फसेका छन् ।

वराहक्षेत्र ६ ठाकुरीवारीस्थित कोशीको चिलिया टापुमा भैँसी पालन गरी बस्ने गरेका उनीहरू त्यही अलपत्र परेका हुन् । उनीहरूको उद्धारको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट १० जनाको टोली र सशस्त्र प्रहरी बल चतराबाट ७ जनाको टोली खटेको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित तीनवटै सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीसहितको टोलीले दिउँसो नै घटनास्थलमा पुगेर उद्धारको प्रयास गरेको थियो । तर, उनीहरूलाई डुङ्गा र बोटबाट त्यहाँ पुगेर उद्धार गर्न नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि असफल बनेका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीकाअनुसार त्यहाँ ३४ जना बसेका छन् । उनीहरू बसेको स्थानमा पनि पानीको सतह बढिरहेको छ । ‘अहिलेसम्म उहाँहरू सुरक्षित नै हुनुहुन्छ । तर जोखिममा हुनुहुन्छ,’ तिवारीले भने । दिनभर उनीहरूको उद्धारको लागि केन्द्र सरकारसँग समन्वय भइरहेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको थियो । यद्यपि मौसमको खराबी देखाउँदै हेलिकप्टर त्यस क्षेत्रमा आउनै सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस