गड्डाचौकीमा पर्यटकलाई स्वागत

कञ्चनपुर — फ्रान्सेली नागरिक सब्रिना जेलाली भारतका विभिन्न ठाउँमा भ्रमण गरेर बिहीबार गड्डाचौकी नाकाबाट नेपाल प्रवेश गरेकी थिइन् । महेन्द्रनगरमै बसेकी उनलाई शुक्रबा बिहान गड्डाचौकी नाकामै ढाका टोपी र खादा लगाएर स्वागत तथा सम्मान गरियो । यो सम्मानले उनी निकै खुशी र उत्साहित भइन् ।
शुक्रबार विश्व पर्यटन दिवसको अवसरमा नाकामा आयोजित कार्यक्रममा उनलाई स्वागत र सम्मान गरिएको हो । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले डिजेलालाीलाई स्वागत गर्दै ढाका टोपी लगाइदिएका हुन् ।
‘यो स्वागतले मलाई निकै खुशी लागेको छ, सबैलाई स्यालुट गर्छु,’ डिजेलालीले भनिन्, ‘नेपाल साँच्चिकै राम्रो छ, यहाँका संस्कृति अझै राम्रो छ ।’ उनले प्राकृतिक रुपमा र सांस्कृतिक रुपमा नेपाल धनी भएको बताइन् । उनी शुक्रबार नै यहि नाकाबाट भारत फर्किनेछिन् ।
पर्यटन दिवसका अवसरमा हरेक वर्ष गड्डाचौकी नाकामा पर्यटकलाई टोपी र खादा ओडाएर सम्मान गरिदै आएको छ । यसका साथै बाजा र छलिया नृत्यसंगै गड्डाचाकी क्षेत्रमा घुमाइने गरिन्छ । यसपटक पनि गत विगतकै निरन्तरता दिदै पर्यटकलाई स्वागत गरिएको हो ।
डिजेलाली शुक्लाफाँटा राष्ट्रिय निकञ्जको पिपरैयास्थित हात्तीसारका हात्तीमासफारी समेत गराइएको छ । महाकाली नदीमा निर्मित झोलुंगे पुल क्षेत्रबाट हात्तीसारसम्म उनलाई सफारी गराइएको हो ।
कोरोना संक्रमण सुरु भएपछि विदेशी नागरिकलाई बन्द गरिएको यो नाका संक्रमण कम भएसंग नेपाल प्रवेश खुला भयो । तर भारतले तेस्रो मुलुकका नागरिकलाई प्रवेश खुला गरेन । दुई महिनाअघि मात्रै विदेशी नागरिकलाई पनि प्रवेश खुला गरेको हो । त्यसपछि भारतमा घुम्न आएका पर्यटकहरु पनि नेपाल भित्रिन थालेका हुन् ।
गड्डाचौकी स्थित अध्यागमन कार्यालयका अनुसार पछिल्लो २ महिनाको अवधीमा १ सय ३८ पर्यटक भित्रिएका छन् भने ५० पर्यटक यो नाकाबाट बाहिरिएका छन् । जनवरीदेखि हालसम्म यो नाकाबाट ६ सय ३७ जना भित्रिएका छन् । गत वर्ष ९ सय ८३ जना भित्रिएका थिए । त्यसभन्दा अघिल्लो वर्ष ५ सय ४२ जना भित्रिएका थिए ।